काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले काठमाडौं भ्यू टावर निर्माणमा अनाधिकृत रुपमा नक्सापास गरि नीतिगत भ्रष्टाचार भएको बताएका छन्। आज उनले सामाजिक सञ्जालबाट लामो उक्त टावरबारे स्टाटस लेख्दै यस्तो बताएका हुन्।
बालेनले तत्कालीन काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले दुई/दुई पटक आवश्यक प्रकृया पुगेन भनेर फिर्ता गराएको नक्सा फाइल प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ हाजिर भएको दोस्रो दिनमै पास भएको जानकारी दिएका छन्।
उनले भनेका छन्,‘तत्कालीन प्रमुख प्रशासकीय अधिकृतले प्रक्रिया पुगेन नक्सा पास गर्न सकिँदैन भनि २/२ पटक फिर्ता पठाएको नक्सा फाइल सरोज गुरागाईँ हाजिर भएको दोस्रो दिन मै आधिकारिक प्रणाली प्रयोग नगरी, सम्बन्धित विभागीय प्रमुखलाई समेत थाहा नदिई नक्सा पास गरिदिनु पर्ने के थियो कारण ?’
त्यसो त उनले महानगरलाई आर्थिक क्षति पुर्याइ केही सीमित व्यक्तिहरूको नाफाका लागि नीतिगत भ्रष्टाचार भएको बताएका छन्। उक्त विभिन्न प्रमाणहरू महानगरमा सुरक्षित रहेको र चाहिएमा सूचना हक प्रयोग गरि लिन सकिने उनले बताए।
‘चाहिएमा सूचनाको हक छ हरेक नागरिकलाई, प्रक्रिया पुर्याएर लिन सक्नुहुन्छ, अनि अर्को कुरा हिल्टनको नक्सापास पनि उहाँ(सरोज गुरागाईँ)ले नै उही दिन/ गर्नु भएको हो, यसमा पनि सचिवालयले अध्ययन गर्दै छ,’उनले भनेका छन्। उनले महानगरपालिकामा गल्ती गर्ने कसैलाई पनि छुट नभएको बताएका छन्।
सरकारले प्रमुख प्रशासकीय अधिकृतमा सरोज गुरागाईँलाई नियुक्त गर्ने निर्णय गरेसँगै गत असोज ७ गते महानगरका प्रमुख प्रशासकीय अधिकृतमा पदबहाली गरेका थिए।
तर, उनलाई पुरानो बसपार्कस्थित काठमाडौं टावरको प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृत गरेको आरोप लाग्यो। त्यसपछि महानगरपालिकाले उनीमाथि गत पुसमा छानबिन गर्न समिति गठन गरेपछि उनी लामाे समयसम्म निलम्बनमा परेका थिए। उनै गुरागाईँ लाई २० चैतमा महानगरपालिकाका वडा अध्यक्ष र कर्मचारीहरूले कार्यालयको ताला फोडेर कार्यालयमा छिराएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।