काठमाडौँ : शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको बागडोर रघुजी पन्तले सम्हालेका छन्। हिजो(बुधबार) प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनी शिक्षामन्त्री भएका हुन्। नेकपा एमालेका सांसद पन्तले आज(बिहीबार) पद तथा गोपनीयताको शपथ लिएका छन्।
तर उनी मन्त्री भएर शिक्षा मन्त्रालय छिर्नै लाग्दा खास सुखद समय उनका लागि देखिएको छैन। चुनौती नै चुनौतीका चाङमा मन्त्रालयमा उनको प्रवेश हुँदै छ। देशभरका शिक्षक कर्मचारीहरूले २३ दिनदेखि ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ जारी गर्नुपर्ने माग राख्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन्।
उनीहरूले चैत २० गतेबाट आन्दोलन शुरु गरेका हुन्। आजदेखि शिक्षकहरूले ‘हामी सरकारलाई पसिनामात्रै होइन, रगत पनि दिन्छौँ’ भन्दै रक्तदान कार्यक्रम नै आयोजना गरी आन्दोलन गरे। यही आन्दोलनका कारण शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिन बाध्य भइन्।
लामो समयसम्म आन्दोलन चल्दा प्रधानमन्त्री ओलीले नै सहयोग नगर्दा भट्टराईले राजीनामा दिनुपरेको बताइन्छ। उनी पनि एमालैकै सांसद हुन्। उनको राजीनामा पछि पुनः एमालेकै सांसद शिक्षामन्त्री भएका छन्। अब उनले कसरी शिक्षकहरूको आन्दोलनलाई व्यवस्थापन गर्दै जान्छन् भन्ने आमचासो छ।
शिक्षा विधेयक छिटो प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट टुंग्याएर संसदमा पेस गरि जारी गर्नुपर्ने चुनौती छ। वर्षौंदेखि सिंहदरबारभित्रै घुमीफिरी अड्किएको उक्त विधेयक ०८० साल असोज २५ गते संसद्बाट पारित भई दफावार छलफलका लागि प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पठाइयो।
तर दफावार छलफलका लागि प्रतिनिधिसभाको शिक्षा समितिमा पठाइएको दुई वर्ष हुनै लाग्दा पनि समितिले टुंगोमा पुर्याउन सकेको छैन। विधयेक नआईकन घर नफर्किने शिक्षकहरूको अडान छ।
कक्षा १२ परीक्षा स्थगितदेखि पठनपाठन रोकिँदै
शिक्षकहरूको आन्दोलनपछि आजदेखि हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित भयो। यसअघि राष्ट्रिय परीक्षा बोर्डले शिक्षकहरूले कक्षा १२ को परीक्षा बहिष्कार गरेपछि निजामतीको सहभागितामा भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो। तर निजामती कर्मचारीहरूले शिक्षक आन्दोलनलाई समर्थन गरिरहेको भन्दै परीक्षामा सहभागी नहुने बताएपछि सरकार पछि हट्यो।
अन्ततः बोर्डले परीक्षा स्थगित गरी वैशाख २१ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय गर्याे। अर्कातर्फ सामुदायिक विद्यालयमा भर्नादेखि पठनपाठन रोकिएको छ। धमाधम निजी विद्यालयमा पठनपाठन भइरहँदा सामुदायिक विद्यालयमा पठनपाठन रोकिएको छ। त्यसो त अभिभावक, लाखौँ विद्यार्थीहरू चिन्तित छन्। सरकारको भने चर्को आलोचना भइरहेको छ।
आन्दोलनको स्वरूप परिवर्तन गरी पठनपाठन थाल्न चौतर्फी माग उठेको तर नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी भने शिक्षा विधेयक जारी नहुन्जेल पठनपाठन रोकिने र आन्दोलन नरोक्ने बताउँदै आएका छन्। उनले भन्दै आएका छन्, ‘यो हाम्रो निर्णायक आन्दोलन हो, ऐन नलगी फर्किदैनौँ।’ यही समस्याको समाधान खोज्नुपर्ने र समाधान गर्नुपर्ने पनि नवनियुक्त शिक्षामन्त्री पन्तलाई चुनौती छ।
२६ दिनदेखि त्रिवि उपकुलपतिविहीन
२६ दिनदेखि त्रिभुवन विश्वविद्यालय(त्रिवि) उपकुलपतिविहीन छ। उपकुलपति प्राडा केशरजंग बरालले १५ चैतमा प्रधानमन्त्री कार्यालयमै पुगेर राजीनामा पत्र बुझाएका थिए। त्यसयता त्रिवि उपकुलपतिविहीन छ। हालसम्म नयाँ उपकुलपति नियुक्त हुन सकेको छैन। चारवर्षे कार्यकालका लागि नियुक्त भएका उपकुलपति बरालले १३ महिनामै राजीनामा दिएका हुन्।
उपकुलपति छनोट तथा सिफारिस समितिले बुझाएको तीनजनाको नाममध्येबाट दोस्रो नम्बरमा रहेका बराललाई तत्कालीन प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले २०८० फागुन १० गते उपकुलपतिमा नियुक्त गरेका थिए। उनले सरकारबाटै असहयोग भएपछि राजीनामा दिएको बताएका छन्। त्यसो त त्रिविमा उपकुलपति नियुक्ति प्रक्रियापनि नवनियुक्त शिक्षामन्त्री पन्तले नै गर्नुपर्ने छ।
को हुन् नवनियुक्त शिक्षामन्त्री पन्त ?
उनी प्रतिनिधिसभा निर्वाचन, २०७९ मा खस आर्य समुदायबाट समानुपातिक प्रतिनिधिको रूपमा निर्वाचित भएका हुन। अहिले उनी प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य पनि छन्। पन्त पत्रकारिताको पृष्ठभूमिबाट सक्रिय राजनीतिमा आएका व्यक्ति हुन्।
उनको शैक्षिक योग्यताको हकमा भने औपचारिक शिक्षा कमजोर देखिन्छ। उनले एसएलसीमात्रै उत्तीर्ण गरेको बताइन्छ तर मन्त्रालयको जिम्मेवारी लिनेमा भने अनुभवी छन्। उनी २० वर्षअघि २०६१ सालमै श्रममन्त्री बनेका थिए। पछिल्लो समय उनको केही भाषणले चर्चितसँगै आलोचित पनि भएका छन्।
मन्त्रीको पदभार सम्हालेसँगै उनले आज शिक्षकको आन्दोलनबारे आफू जानकार रहेको बताएका छन्। उनले समस्या समाधानका लागि मन्त्रालयले गरिरहेको प्रयासलाई अघि बढाउने बताएका छन्। वार्ताका माध्यमबाटै समस्या समस्या समाधान गर्ने उनको कथन छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।