हेटौंडा : हेटौंडा उपमहानगरपालिका–११ स्थित थानाभर्याङमा सुविधासम्पन्न कृषि थोक बजार सञ्चालनको तयारी भएको छ। बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालयले उक्त भवन कसरी सञ्चालन गर्ने भन्नेबारे कार्यविधि निर्माण गरेको हो।
निर्देशनालयले कार्यविधि निर्माण गरेर हेटौंडा उपमहानगरलाई पठाएको थियो। उक्त कार्यविधिको विषयमा उपमेयर राजेश बानियाँको संयोजकत्वमा बनेको कानुन मस्यौदा समितिले छलफल गरेर कार्यविधिअनुसार सञ्चालन गर्न सहमति जनाएको हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए।
प्रवक्ता न्यौपानेले प्रदेश सरकारले कृषि थोक बजार उपमहानगरलाई हस्तारण गर्न ढिला हुँदा किसानले पाउने सुविधामा समेत समस्या भएको बताए। निर्देशनालयका सूचना अधिकारी प्रमोदप्रसाद दाहालले उपमहानगरपालिकाबाट कार्यविधि अनुसार सञ्चालन गर्न सकिने भनेर पत्र आएको बताए। दाहालले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव विनोद भट्टराईको सरुवा भएकाले हस्तान्तरण रोकिएको जानकारी दिए।
बागमती प्रदेश सरकारको कृषि मन्त्रालयसँगको सम्झौता अनुसार ९ जेठ २०७८ काम सुरु गरेको अनक/माउन्टेन जेभी काठमाडौंले ३० करोड ८७ लाख ६२ हजार रुपैयाँमा भवन निर्माण गरेको थोकबजारमा होलसेल मार्केट, रिटेलस मार्केट, किसानको टहरा बनेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।