|

काठमाडौँ : आगामी आव ०८२/८३ को वार्षिक बजेट निजी क्षेत्रको विश्वास जित्ने खालको हुनुपर्ने जानकारहरूले बताएका छन्। 

बिहीवार विपी चिन्तन प्रतिष्ठान र संसदीय अध्ययन तथा विकास संस्थापनको सहकार्यमा काठमाडौँमा आयोजित आगामी बजेटका प्राथमिकताहरू विषयक अन्तरसंवादमा जानकारहरुले यस्तो सुझाव दिएका हुन्। 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष जगदीशचन्द्र पोखरेलले अहिलेको स्थितिमा सरकारले निजी क्षेत्रको विश्वास जित्न नसकेको बताए। उनले बैङ्कमा पैसा थुप्रिएर बस्दा समेत कसैले पनि लगानी गर्न रुचि नदेखाएको बताए। 

उनले निजी क्षेत्रले गम्भीर रूपमा लगानी गर्न नचाहेको भन्दै त्यसको भित्री कारण खोज्नसमेत सरकारलाई सुझाव दिए। पूर्वउपाध्यक्ष पोखरेलले निजी क्षेत्रलाई विश्वास दिलाउने विषयमा सरकार गम्भीर हुनुपर्ने समेत जिकिर गरे।  

“अहिलेको स्थितिमा सरकारले प्राइभेट सेक्टरको विश्वास जित्न सकेको छैन। त्यसको उदाहरण भनेको बैङ्कमा पैसा जम्मा भएर बस्ने, लगानी कसैले नगर्ने‚’ उनले भने, ‘यसको अर्थ के हो भन्दा निजी क्षेत्र सिरियसली इन्भेष्ट गर्न तयार छैन। त्यो विश्वास कसरी बनाउने? सरकारले निजी क्षेत्रसँग सबैभन्दा पहिले विश्वासलाई कसरी बढाउने हो भन्नेमा एकदम सिरियसली हेर्नुपर्नेछ।”   

योजना आयोगका पूर्वउपाध्यक्ष तथा नेपाली कांग्रेसका नेता डा गोविन्द पोखरेलले आगामी बजेटले क्षमता विकासमा जोड दिनुपर्ने बताए। 

उनले अहिले नेपालले ४ रुपैयाँ ७७ पैसा खर्च गरेर १ रुपैयाँ सम्पत्ति कमाएको भन्दै नेपालले महँगो विकास धान्न नसक्ने जिकिर गरे। उनले क्षमता विकास गर्ने क्षेत्रमा लगानी बढाएको खण्डमा त्यसले राम्रो प्रतिफल दिने विश्वास व्यक्त गरे।  

नेकपा एमालेका लेखा समिति सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा पुष्पराज कँडेलले सरकारी र निजी क्षेत्र दुवै कमजोर भएको बताए। उनले जुन किसिमको स्रोत, साधन र क्षमता हुनुपर्ने हो, त्यो सरकारी र निजी दुवै क्षेत्रमा नभएको जिकिर गरे। 

उनले स्रोत र साधनको अभावले हजारौँ परियोजनाहरू ठेक्का लागेर पनि कार्यान्वयनमा नगएको बताए। पूर्वउपाध्यक्ष कँडेलले मुलुकको आम्दानीको स्तर अत्यन्त न्यून र सीमितताभित्र रहेको बताउँदै त्यस विषयमा ध्यान दिनुपर्नेमा जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.