आर्थिक असुरक्षाले फेरिए प्राथमिकता

|

एजेन्सी : दुई वर्ष पहिले जर्मनीमा काम गर्ने मानिसहरूका लागि जलवायु परिवर्तन एक प्रमुख मुद्दा थियो तर हालैका सर्वेक्षणहरूले यो अवस्थामा परिवर्तन भएको देखाएको छ। 

जलवायु संकटबारे जर्मन कर्मचारीहरूको चिन्ता पहिलेको तुलनामा अहिले उल्लेखनीय रुपमा घटेको छ। विटेनबर्ग सेन्टर फर ग्लोबल एथिक्सले हालै गरेको सर्वेक्षणले १० प्रतिशत कर्मचारीले मात्र जलवायु संरक्षणलाई सबैभन्दा महत्वपूर्ण मुद्दा मानेको देखाएको अन्तरराष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्।

सन् २०२२ को तुलनामा सन् २०२५ फेब्रुअरीमा गरिएको सर्वेक्षणका क्रममा कर्मचारीहरूको मनोवृत्तिमा स्पष्ट परिवर्तन देखियो। दुई वर्षअघि २० प्रतिशत कर्मचारीले जलवायु संरक्षणलाई सबैभन्दा ठूलो प्राथमिकताका रूपमा व्याख्या गरेका थिए भने अहिले झण्डै आधामा झरेको छ। 

अर्कोतर्फ, सामाजिक असमानता (१७ प्रतिशत), रोजगारी सुरक्षा (१५ प्रतिशत) र भू-राजनीतिक द्वन्द्व समाधान (१४ प्रतिशत) जस्ता सरोकार अहिले कर्मचारीहरूका लागि धेरै महत्वपूर्ण बनेको छ। 

“मानिसहरूले अहिले आर्थिक स्थायित्वमा बढी ध्यान दिइरहेका छन् र वातावरणीय दिगोपनको प्रश्नहरू पछाडि छाडिरहेका छन्‚” ग्लोबल एथिक्सका प्रमुख मार्टिन फोन ब्रुकले भने।

उनका अनुसार जलवायु संकटलाई पूर्ण रूपमा बेवास्ता गरिएको त छैन तर सरकार र कम्पनीहरूले आर्थिक अवसरहरूलाई वातावरणीय लक्ष्यसँगै अगाडि बढाउन् भन्ने चाहन्छन् कर्मचारीहरु। 

जलवायु संरक्षणमा विभाजित मत

प्रतिवेदन अनुसार, करिब आधा कर्मचारी अझै पनि जलवायु मैत्री औद्योगिक रुपान्तरणलाई तीव्रता दिन चाहन्छन्। ३० प्रतिशत कर्मचारीहरू भने रुपान्तरणको विद्यमान गति पर्याप्त छ भन्ने ठान्छन् तर २० प्रतिशत मानिसलाई परिवर्तनको गति सुस्त बनाउनुपर्छ भन्ने लागेको छ। 

तथ्याङ्कहरूले जलवायु परिवर्तनप्रतिको उत्साह निश्चित रुपमा घटेको देखाउँछ, यद्यपि पूर्णरुपमा समर्थन नभएको भने होइन। जलवायु संरक्षणका लागि व्यक्तिगत तहमा सम्झौता गर्ने इच्छा सीमित भएको पनि प्रतिवेदनले प्रकाश पारेको छ। 

जलवायुको सन्दर्भमा देखिएको परिवर्तन कोभिड–१९ महामारी, ऊर्जा सङ्कट र पछिल्लो समयको भू-राजनीतिक तनावपछि सिर्जना भएको आर्थिक अनिश्चितताको परिणाम भएको विज्ञहरूको ठम्याई छ।

कर्मचारीहरूको ध्यान अहिले सामाजिक समानता, रोजगारी सुरक्षा र आर्थिक प्रतिस्पर्धाजस्ता ठोस र तत्कालका सरोकारहरूमा सरेको देखिन्छ।

डेर श्पिगल पत्रिकाको एक रिपोर्टअनुसार २०२२ मा ४२ प्रतिशत कर्मचारीहरूले जलवायुअनुकूल परिवर्तन आफ्नो रोजगारीका लागि सकारात्मक हुने विश्वास व्यक्त गरेका थिए तर २०२५ मा यो आत्मविश्वास ३७ प्रतिशतमा झरेको छ। योसँगै परिवर्तनको नकारात्मक असरबाट डराउनेको संख्या १४ प्रतिशतबाट १८ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ।

जर्मनीका कर्मचारीहरूले अहिले पनि जलवायु संकटलाई महत्व दिन्छन् तर आर्थिक सुरक्षा र सामाजिक न्यायका प्रश्नहरू उनीहरूका लागि त्योभन्दा पनि महत्वपूर्ण बनेको छ।

जलवायु परिवर्तनका लागि तीव्र गतिमा काम गर्दै जाँदा कामदारहरूको जीविकोपार्जन र सामाजिक स्थायित्व सुनिश्चित गर्न नीति निर्माताहरूले ध्यान दिन जरुरी भएको विज्ञहरू बताउँछन्।

मार्टिन फोन ब्रुकका अनुसार, मानिसहरू जलवायु तटस्थतालाई अवरोधका रुपमा नभई अवसरको रूपमा हेर्छन् तर उनीहरू सरकारले अपेक्षामात्र नबढाइ राम्रो प्रोत्साहन प्रदान गरोस् भन्ने चाहन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.