काठमाडौँ : समयमा नै खरिद नगर्दा कण्डम‚ पिल्सलगायत परिवार नियोजनका साधनहरुको देशभर अभाव भएको छ।
वार्षिक झण्डै ३ करोडजति कण्डम खपत हुने नेपालमा यतिखेर भने अभाव उत्पन्न भएको हो। कण्डममात्र नभएर अहिले देशभर नै परिवार नियोजनका अन्य साधनहरु पिल्स वा खाने चक्की, सँगिनी, तीनमहिने सुई भनेर प्रयोग गरिने (डिपो) कपर-टी, नरप्लान्टलगायत साधनहरुको चरम अभाव भएको छ।
यो समस्या सरकारले समयमा नै परिवार नियोजनको साधन खरिद प्रक्रिया अगाडि नबढाउँदा उत्पन्न भएको होl
यसले गर्दा यतिखेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागको केन्द्रीय भण्डार कक्षमा कण्डमलगायतका परिवार नियोजनका साधनहरुको स्टक छैन।
यसले गर्दा देशभरबाट माग भए पनि विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले परिवार नियोजनका साधनहरुको आपूर्ति गर्न सकेको छैन।
परिवार कल्याण महाशाखाकी वरिष्ठ सामुदायिक नर्सिङ अधिकृत अमृता पहाडीले भनिन्‚ ‘खरिद प्रक्रिया ढिला हुँदा मागअनुसारको परिवार नियोजनका साधनको आपूर्ति गर्न सकिएको छैन। बल्ल खरिद प्रक्रिया अघि बढेको छ‚ अब एक डेढ महिनामा मागअनुसार परिवार नियोजनका साधनहरु आपूर्ति गर्न सकिएला।’
एउटा कारण- यूएसएड बन्द भएपछि दाताहरुले नदिनु
समयमा नै सरकारले खरिद प्रक्रिया अगाडि नबढाइरहेको समयमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी अन्ताराष्ट्रिय सहयोग नियोग (यूएसएड) का कार्यक्रम बन्द गरिदिएपछि विदेशी दाता एजेन्सीहरुले यसअघि अनुदानस्वरुप दिने वाचा गरेअनुसार परिवार नियोजनका साधन नदिएकाले पनि बजारमा यसको अभाव भएको परिवार कल्याण महाशाखाकी नर्सिङ अधिकृत पहाडीले बताइन्।
‘यूएसएड बन्द भएपछि आफूहरुको आर्थिक स्रोत नभएको भन्दै नेपाल सीआरएस कम्पनीले यसअघि दिने भनेको ९ लाख भायल डिपो (संगिनी सुई) उपलब्ध गराएन। यसले गर्दा पनि अहिले हामीले मागअनुसार डिपो दिन सकिएन। वार्षिक २ लाख जति डिपोको माग छ‚ यसले गर्दा साढे २ लाखजति आवश्यक पर्छ तर अहिले यो साधन दिने स्टक हामीसँग छैन‚’ उनले भनिन्। डिपो ३/३ महिनामा महिलाले लगाउने परिवार नियोजनको अस्थाई साधन हो।
यस्तै वार्षिक झण्डै ३ करोड थान कण्डम नेपालमा खपत हुने गर्छ। जसकारण सरकारले वार्षिक १४ करोड रुपैयाँ बराबरको कण्डम खरिद गर्नुपर्ने हुन्छ। यसमा जसमा १३ लाख जति संयुक्त राष्ट्र जनसंख्या कोष (यूएनएफ)ले दिने गर्छ।
केही अन्य केही दातृ निकायले पनि सहयोग गर्ने गरे पनि धेरै मात्रामा सरकारले नै खरिद गर्नु पर्छ। गत वर्ष सरकारले मागभन्दा थोरै जम्मा ८ करोड थानमात्र कण्डम खरिद गरेको थियो। यसअघि आवश्यक हुनेभन्दा पनि कम खरिद गरिएको थियो यसले गर्दा यसपटक छिटो खरिद प्रक्रिया अगाडि बढाउनुपर्ने थियो‚ झन् अहिले खरिद प्रक्रिया ढिला भयो‚’ पहाडीले भनिन्।
देशभर वार्षिक २ लाख ७७ हजार पिल्स माग हुन्छ भने वार्षिक १४ हजार कपर-टी आवश्यक पर्छ। कपर-टी एकपटक लगाएपछि १२ वर्षसम्म काम गर्छ तर अहिले सरकारसँग यो पनि छैन।
वार्षिक ४० करोडको परिवार नियोजनका अस्थाई साधन किन्छ सरकार
सरकारले वार्षिक करिब ४० करोड रुपैयाँ बराबरको परिवार नियोजनका अस्थायी साधन खरिद गर्ने गरेको छ। चालू आवमा यसका लागि सरकारले ३९ करोड रुपैयाँ छुट्याएको थियो।
आगामी वर्षका लागि ४० करोड रुपैयाँ बराबरको अस्ठाई साधन आवश्यकता पर्ने अनुमानअनुसार योजना बताएको नर्सिङ अधिकृत पहाडी बताउँछिन्।
उनले भनिन्‚ ‘चालू आवमा ३९ करोड रुपैयाँ परिवार नियोजन अस्थायी साधन खरिद गर्न छुट्याइको थियो। मागअनुसार आगामी आवका लागि ४० करोड जति आवश्यकपर्ने देखिएको यतिमध्ये कति बराबरको दाताहरुले दिनु होला कति सरकारले नै खरिद गर्नुपर्ने हुन्छ।’
जन्मान्तरमात्र होइन, अनिच्छित गर्भ रोक्न परिवार नियोजनका साधन प्रयोग गर्ने गरिन्छ भने कण्डमजस्तो परिवार नियोजनको साधनले यौन सम्पर्कको माध्यमबाट सर्ने विभिन्न प्रकारका संक्रमणहरु समेत रोक्ने गर्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।