पर्वत : सञ्चालनमा आएको करिब ३५ वर्षपछि प्रदेश अस्पताल पर्वतलाई स्तरोन्नति गर्दै ५० शय्या सञ्चालनको अनुमति प्रदान गर्न लागिएको छ।
वि.सं. २०४६ सालबाट सञ्चालनमा आएको अस्पतालले हालसम्म १५ शय्या सञ्चालनको अनुमतिमा रहेर सेवा प्रवाह गर्दै आइरहेको थियो। सरकारबाट १५ शय्याको अनुमति पाएको भए पनि अस्पताल व्यवस्थापन समितिको निर्णयबाट अस्पतालले भने अहिले पनि ६४ शय्याको सेवा प्रदान गरिरहेको छ। अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीका अनुसार सरकारले दिएको १५ शय्याको अनुमतिका लागि दिइएका जनशक्तिमा अस्पतालको आन्तरिक स्रोतबाट केही जनशक्ति थप गरेर ६४ शय्या अस्पतालको सेवा दिन सकिएको बताए।
अब ५० शय्या क्षमताको अस्पतालको रूपमा स्तरोन्नति हुने भएपछि भने अस्पतालमा थप विशेषज्ञ जनशक्तिसहितका सेवा सुविधाहरू थप हुने उनले बताए। सरकारबाट प्राप्त भएका र अस्पताल आफैले व्यवस्थापन गरेका गरी कुल एक सय १० जना जनशक्तिबाट सञ्चालनमा रहेको अस्पतालमा अब भने कम्तीमा पनि १४÷१५ जना विशेषज्ञ चिकित्सकहरू रहने अध्यक्ष गिरीको भनाइ छ। केही वर्ष अगाडिसम्म दैनिक करिब ४०÷४५ जना बिरामीहरूलाई सेवा प्रदान गर्ने गरेको अस्पतालले अहिले भने दैनिक करिब तीन सय भन्दा बढी बिरामीहरूलाई सेवा दिन सकिएको उनको भनाइ छ।
‘पुरानो संरचनामा रहेको अस्पताललाई भौतिक रूपमा पनि सम्पन्न गराएका छौँ। अहिले भएका उपकरण आधुनिक छन् भने जनशक्ति पनि दक्ष नै व्यवस्थापन गर्न सकिएको अस्पतालमा सेवाग्राहीहरूको निकै विश्वास बढेको छ’, उनले भने, ‘१५ शय्याको अनुमतिमा हामीले राज्यबाट पाउँदै आएका सुविधाको स्थानमा अब ५० शय्याको भएको अवस्थामा पाउने सुविधाहरू पाउने भएपछि यहाँको सेवा अझ कति गुणस्तरीय बन्ला भन्ने सहज अनुमान छ।’
गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकका अनुसार गण्डकी प्रदेश सरकारले आफ्ना अस्पतालहरूको स्तर वृद्धिको काम गरिरहेको छ। सोही अनुसार १५ शय्या अनुमतिमा सञ्चालन गर्ने निर्णय भएको हो। अस्पताललाई अब ५० शय्या सञ्चालनको अनुमति दिएर सञ्चालन गर्ने गरी मन्त्री स्तरको निर्णय भएर संसदमा गएकोमा संसद्ले पनि सैद्धान्तिक सहमति दिइसकेको उनले बताए।
५० शय्या क्षमताको अस्पतालको रूपमा स्तरोन्नति भएको प्रदेश अस्पताल पर्वतको ओ.एन.एम गर्ने काम बाँकी रहेको मन्त्री पाठकको भनाइ छ। प्रदेश मातहतका अधिकांश अस्पतालहरू ५० शय्यामा स्तरोन्नति हुँदा बागलुङको धौलागिरि प्रादेशिक अस्पताल र (बर्दघाट सुस्ता पूर्व) मध्यविन्दु प्रादेशिक अस्पताल भने एक सय शय्या क्षमतामा स्तरोन्नतिका लागि निर्णय भएको छ। अब यी अस्पतालहरूमा प्राविधिक शिक्षा अध्यापनको लागि समेत बाटो खुलेको छ।
प्रदेश मातहतका अस्पतालहरूमा हालसम्म तीन सय ९५ शय्या अनुमति प्राप्त गरेर सञ्चालन रहेको भए पनि अस्पतालहरूको व्यवस्थापनमा आठ सय दुई शय्या सञ्चालन गरिरहेको मन्त्री पाठक बताउँछन्। अस्पतालहरूको स्तरोन्नति भएसँगै सञ्चालनका लागि अनुमति पाएका शय्या सङ्ख्या सात सय पुग्नेछन्। स्तरोन्नति भएपश्चात् केही कुराहरूलाई व्यवस्थित गरेर लैजान सकेमा अस्पतालहरूको आम्दानी अहिलेको तुलनामा तीन गुणा बढेर जाने उनको अनुमान छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।