|

काठमाडौँ : कायममुकायम गभर्नर निलम ढुङ्गानाले अर्थतन्त्रका सूचकहरुमा क्रमिक सुधार हुँदै गएको दावी गरेकी छिन्।

नेपाल राष्ट्र बैंकको ७०औँ वार्षिकोत्सवका अवसरमा आइतवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुद्रास्फीतिमा सुधार आएको, कुल विदेशी संचितिसमेत पर्याप्त रहेको, निजी क्षेत्रको कर्जा विस्तार प्रभावकारी बन्दै गएको बताएकी हुन्।

बैंक तथा वित्तीय संस्थाहरुमा गैरसम्पत्ति बढ्दै गए पनि बैंकहरुको कर्जा प्रवाह बढेको बताउँदै उनले लगानीलाई वातावरणमैत्री बनाउन नियामकीय सहुलियत दिइएको बताइन्। 

उनले भुक्तानी प्रणालीको सुरक्षाका राष्ट्र बैंकले काम गरेको, वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमहरु प्रभावकारी रुपमा अघि बढाइएको बताइन्।

उनले भनिन्‚ ‘अन्तरदेशीय भुक्तानी प्रणालीलाई समेत राष्ट्र बैंकले अघि बढाएको छ। भुक्तानी प्रणाली सुरक्षित गर्न नियामक निकायले बनाउनुपर्ने नीतिगत व्यवस्था गरिएको छ।’

डेपुटी गभर्नर बमबहादुर मिश्रले केही आन्तरिक, वाह्य कारणले अर्थतन्त्रमा केही समस्या देखिए पनि पछिल्लो समय राष्ट्र बैंकले लिएका नीतिहरुको सफल कार्यान्वयनका कारण अर्थतन्त्र चलायमान हुँदै गएको बताए। 

उनले मुद्रास्फीति दर नियन्त्रणमा रहेको, विदेशी सञ्चिति बचतमै रहेको र अन्य अर्थतन्त्रका सूचांकहरु पनि सकारात्मक हुँदै गएको बताए।

उनले समस्या, चुनौती समाधान गर्न सकिने बताए। राष्ट्र बैंकको कार्य क्षेत्रमा पर्ने ती समस्यालाई पहिचान गर्दै हल गरिने उनको भनाइ छ। राष्ट्र बैंकले वित्तीय साक्षरतालाई जोड दिएको बताउँदै मिश्रले राष्ट्र बैंकको पहल प्रभावकारी बन्दै गएको समेत बताए। 

राष्ट्र बैंकले वार्षिक उत्सवको अवसरमा अर्थविद् तथा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षत्रीलाई सम्मानसमेत गरेको छ। कार्यक्रममा पूर्वगभर्नर क्षत्रीले सस्तो लोकप्रियताका लागि कतिपय वित्त नीतिहरु शासकहरुले लिने भएकाले त्यसलाई मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले नियन्त्रण गर्न जरुरी रहेको बताए। उनले कर्जा तिर्नुपर्दैन भनेर प्रचार हुने गरेको भन्दै त्यसलाई राष्ट्र बैंकले चिर्न जरुरी रहेको बताए।

बदलिँदो परिस्थितिमा ऐन कानूनसम्मत समयमै राष्ट्र बैंकले आफ्नो कार्यसम्पादन डिजिटल प्रणालीलाई अवलम्बन गर्न सक्नुपर्ने र सम्पत्ति शुद्धिकरणको मामिलामा खैरो सूचीमा परेकाले कार्ययोजना बनाएर बाहिर निस्कन राष्ट्र बैंकले पहल गर्नुपर्ने उनको भनाई छ। 

सुनको बढी कारोबार गर्ने देश भारत रहेकाले नेपाल हुँदै भारत तस्कारी हुने खतरा रहेकाले राष्ट्र बैंक चनाखो हुनुपर्ने सुझाव उनले दिए। व्यावहारिक नीतिमार्फत लगानी बढाएर देशमा रोजगारी सिर्जना गर्नुपर्ने क्षत्रीले बताए। 

कार्यक्रममा नयाँ गभर्नर नियुक्ति पेचिलो बनेको र स्वायत्ततामाथि आँच आउने काम भएको भन्दै राष्ट्र बैंकका कर्मचारी युनियनका प्रतिनिधिहरुले छिटो गभर्नर नियुक्त गर्न सरकारसँग माग गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.