काठमाडौँ : नेपाल हक्की सङ्घको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता वैशाख १७ गते शुरु हुने भएको छ।
यही वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा आयोजक सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन्।
खेलहरू ललितपुरको च्यासल फुटबल मैदानमा हुनेछ। पुरुषतर्फ ८ तथा महिलातर्फ ४ समूहले प्रतिस्पर्धा गर्नेछन्।
पुरुषतर्फ मधेश, कर्णाली, गण्डकी, कोशी र बागमती प्रदेश, नेपाल पुलिस क्लब, नेपाल आर्मी र एपिएफ क्लब सहभागी हुनेछन्। एपिएफ हक्कीमा नयाँ समूह रहेको आयोजकले जनाएको छ।
पुरुषतर्फ सहभागीलाई २ समूहमा विभाजन गरिएको छ। प्रतियोगिता लिग कम नकआउट आधारमा हुने महासचिव श्रेष्ठले जानकारी दिइन्।
महिलातर्फ गण्डकी, मधेश र बागमती प्रदेश तथा नेपाल आर्मीले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन्। राउन्ड रोविन लिगपछि शीर्ष २ स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।
पुरुष तथा महिला दुवै प्रतियोगितामा शीर्ष ३ स्थान हात पार्ने समूहले क्रमशः ७५ हजार रुपैयाँ, ५० हजार रुपैयाँ र २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने महासचिव श्रेष्ठले जानकारी दिइन्। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई २ हजार रुपैयाँबाट पुरस्कृत गरिनेछ।
राष्ट्रिय पुरुष हक्की प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख रुपैयाँ र महिलाका लागि २५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।