काठमाडौँ : उद्यमी तथा साहित्यकार बसन्त चौधरीका दुई काव्यकृति आज सार्वजनिक गरिएको छ।
ललितपुरको पुल्चोकस्थित द प्लाजामा उर्दु एकेडेमी नेपालले आयोजना गरेको ‘शाम–ए–बसन्त’मा उनका उर्दु र हिन्दी गजलकृति ‘ठहरे हुए लम्हे’ र ‘वक्त रुकता नहीं’ लोकार्पण गरियो। उर्दु र हिन्दी गजलसंग्रह ‘ठहरे हुए लम्हे’ बसन्त सागरका नामबाट प्रकाशित छन्।
उर्दु एकेडेमी नेपालका अध्यक्ष इम्तियाज वाफाको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकार धीरेन्द्र प्रेमर्षिले कवि बसन्तको सिर्जनशीलताको चर्चा गरे। उनले बसन्तको लेखनको अभिष्ट हृदयको गहिराइ भएको उल्लेख गरे।
गजलकार तथा कवि बसन्त चौधरीले सार्वजनिक कृतिबाट केही गजलवाचन गरे। आफूले प्रेमका कविता र गजलबीच जिउने प्रयास गरेको उनले सुनाए।
अध्यक्ष इम्तियाज वाफाले गजलकार बसन्तको सोच उनका कवितामा प्रतिविम्बित भएको बताए।
कार्यक्रममा प्रकाश सायमीले ‘ठहरे हुए लम्हे’माथि र डा धनेश द्विवेदीले ‘वक्त रुकता नहीं’माथि समीक्षात्मक मन्तव्य राखेका थिए । डा सनतकुमार वस्ती, सकिना खान, अन्जुम, डा द्विवेदी, सायमी र डा श्वेता दीप्तिले विमोचित कृतिबाट गजलहरू वाचन गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।