|

काठमाडौं : एएफसी महिला एसियन कप अष्ट्रेलिया २०२६ छनोटका लागि नेपाली टिमको प्रारम्भिक टोली घोषणा भएको छ।

अखिल नेपाल फुटबल संघ एन्फाले सूचना जारी गरेर यही वैशाख २२ गतेबाट बन्द प्रशिक्षण सुरु हुने जानकारी दिएको हो।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बन्द प्रशिक्षणका लागि ४८ खेलाडीको प्रारम्भिक सूची सार्वजनिक गरेका छन्। एन्फाले मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको भए पनि अहिले नेपाली टिमको जिम्मेवारी राजेन्द्रले सम्हालिरहेका छन्।

एसियन कप छनोटको तयारी स्वरूप नेपालले थाइल्याण्डसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्ने छ। पहिलो खेल आगामी जेठ १६ गते हुनेछ भने दोस्रो खेल जेठकै १९ गते हुनेछ।

पहिलो खेल अभ्यासका रुपमा बन्द रंगशालामा हुनेछ। दोस्रो खेल भने फिफा विन्डोमा आधिकारिक मैत्रीपूर्ण हुने एन्फाले जानकारी दिएको हो।

नेपाल एसियन कप छनोट समूह एफमा छ, जहाँ नेपालको प्रतिस्पर्धा लाओस, श्रीलङ्का र उज्बेकिस्तानसँग हुनेछ। प्रारम्भिक टोलीका गोलकिपरहरुमा अञ्जिला तुम्बाप्पो सुब्बा, अञ्जना राना मगर, कोपिला खड्का, लिला जोशी, सबित्री किशन र उषा नाथ छन्।

त्यसैगरी, रक्षा पंक्तिको छनोटका लागि अमृता जैसी, बिमला विके, गीता राना, मनमाया दमाइ, निशा थोकर, पूजा राना, प्रतिक्षा चौधरी, सबिना चौधरी, सजनी थोकर, समीक्षा घिमिरे, सेमी हाङमा लिम्बु र यशोधा शाहीलाई बोलाइएको छ।

मिडफिल्डरमा अनिता बस्नेत, अञ्जली चन्द, बिमला चौधरी, बिर्सना चौधरी, हेमा चौधरी, हेमा रावत, कुसुम खतिवडा, प्रीति राई, रेनुका नगरकोटे, सबिता राना मगर, सहारा लिम्बु, सम्झना लावती, सरस्वती हमाल, सरु लिम्बु, सेनु परियार, सुखरिया सुक्लुकु, सुक्रिया मियाँ, सुषमा तामाङ र तुलसा बोहरा छन्।

नेपाली टोलीको फरवार्डमा अनिता केसी, अनिता लम्जेल, चन्द्रा भण्डारी, जेनिफर मगर, ममता पुन, मीना देउवा, पूर्णिमा राई, रश्मि कुमारी घिसिङ, रेखा पौडेल, साबित्रा भण्डारी र समीक्षा मगरमध्येबाट छनोट गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.