|

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल)मा मुम्बई इन्डियन्सले छैटौं जित हात पारेको छ।

मुम्बईको वानखेडे रंगशालामा भएको खेलमा घरेलु टिमले लखनउ सुपर जायन्ट्सलाई ५४ रनले पराजित गरेको हो।

टस जितेर लखनउले पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १५ रन बनाएको थियो।

मुम्बइका ओपनर रोहित शर्मा १२ रनमै आउट भए। तर, रियान रिकेल्टनले ३२ बलमै ५८ रन जोडेर बाहिरिए। उनी आउट हुँदा मुम्बईले घरेलु मैदानमा ८८ रन बनाइसकेको थियो।

त्यसैगरी, विल ज्याक्सले २९ रन बनाउँदा २८ बलमै सूर्यकुमार यादवले ५४ रनको योगदान गरे । उनलाई अभेष खानले आउट गराउँदा मुम्बईको खातामा १ सय ८० रन पुगिसकेको थियो। त्यसपछि नमान धीरले २५ र कोब्रिन बोसले २० रनको योगदान गरे। लखनउका लागि मयंक यादव र अभेषले समान २-२ विकेट लिए।

२ सय १५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको लखनउले राम्रो सुरुआत गर्न सकेन। उसले २० ओभरमा सबै विकेट गुमाएर १ सय ६१ रन मात्रै बनाउन सक्यो।

एडन मारकरम ९ रनमा आउट भए। निकोलस पुरनले १५ बलमा ३ छक्काका साथ २७ रन जोडे पनि रिषभ पन्तले ४ रन बनाएर कर्ण शर्माको हातमा क्याच थमाएका थिए।

खेलमा मिचेल मार्स र आयुष बडोनीले मिलेर लखनउको इनिङ बिल्ड गरे। उनीहरुले ५६ रनको साझेदारी गरेका थिए। मिचेल ३४ रन बनाएर आउट भए भने बडोनीले ३५ रन जोडे।

त्यसैगरी, डेविड मिलरले पनि २४ रनको योगदान गर्न सके। बलिङमा जसप्रित बुमराहले ४ ओभरमा २२ रन मात्रै खर्च गरेर ४ विकेट लिए।

ट्रेन्ट बोल्टले शीर्ष र मध्यक्रम गरी ३ विकेट लिएपछि मुम्बईले खेलभरि दबाब बनाएको थियो। हारसँगै लखनउको १० अंक कायम छ। मुम्बई भने १२ अंकसाथ टेबलको दोस्रो स्थानमा उक्लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.