काठमाडौँ : ठूलो जनधनको क्षति हुनेगरी गत १५ चैतमा भएको हिंसात्मक राजावादी आन्दोलनपछि पक्राउ परेका प्रमुख नेताहरूमध्ये अहिले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमात्र प्रहरी हिरासतमा छन्। उनीसँगै १५ गते राति पक्राउ परेका राप्रपा महामन्त्री धवलशमशेर राणा हप्ता दिनअघि (वैशाख ७ गते) नै छुटिसकेका छन्।
त्यही हिंसात्मक आन्दोलनपछि नजरबन्दमा राखिएका ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ संयोजक नवराज सुवेदी पनि मुक्त भइसकेका छन्। संयुक्त समितिका प्रवक्ता स्वागत नेपाल त दुई दिनमै छुटेका थिए।
तर संयुक्त जनआन्दोलन समितिका सदस्य सचिवसमेत रहेका राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्र महिना दिनदेखि प्रहरी हिरासतमै छन्। आइतवार प्रहरीले अदालत लैजाँदै गर्दा उनी छुट्ने आशामा थिए।
मिश्रले न्यायाधीशसमक्ष पनि आफूलाई बोलेकै भरमा लामो समय हिरासतमा राखिएको भन्दै अब भने आफूलाई छाड्नुपर्ने बताएका थिए। राजनीतिक र कानूनी तर्कसँगै उनले जीवन, मरण र आमालगायतको भावनात्मक विषयसमेत जोडेका थिए।
आफूलाई छाडिनेमा अदालतकै केही दिनअघिको आदेशले मिश्रलाई बढी आशावादी बनाएको थियो। काठमाडौँ जिल्ला अदालतले १० गतेमात्र हाजिरीजमानीमा वा तारेखमा छाड्न सक्ने आशयको आदेशको दिएको थियो।
आदेशमा भनिएको छ, ‘स्वास्थ्य समस्याको गम्भीरतालाई विचार गरी प्रतिवेदनअनुसारको कसुरमा संलग्नता पुष्टि गर्ने कुनै थप प्रमाण संकलन गर्ने कार्य बाँकी नरहेको अवस्थामा मुलुकी अपराध संहिता, २०७४ को दफा १५ अनुसार प्रतिवादीहरूलाई हाजिरीजमानीमा छाड्न वा तारेखमा राख्न सक्ने सम्बन्धमा अनुसन्धान अधिकारी र जिल्ला सरकारी वकिल कार्यालयलाई जानकारी गराउनू।’
तर मिश्र अझै एक हप्ता नछुट्ने पक्का छ। आइतवार अदालतले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
मन बलियो बनाउँदै मिश्र
सँगै पक्राउ तथा नजरबन्दमा परेका पार्टनरहरू छुट्दै जाँदा मिश्रमाथि भने उल्टै हिरासतमा रहनुपर्ने अवधि लम्बियो। यसलाई उनीसहित राजावादीहरूले राजनीतिक प्रतिशोधका रुपमा अर्थ्याउँदै आएका छन्।
मिश्रनिकट राप्रपा नेता शरदराज पाठक संविधानप्रदत्त अधिकार उपयोग गरेकै आधारमा मिश्रमाथि प्रतिशोध साँधिएको टिप्पणी गर्छन्। राजासहितको प्रजातन्त्र पुनर्स्थापनार्थ सबैभन्दा सशक्त, वैचारिक र तार्किक बहसमा अब्बल रहेकैले मिश्र दलहरूको निशानामा परेको उनी ठान्छन्।
‘एजेन्डा जुनसुकै भए पनि रवीन्द्रजीले अभ्यास गरेको राजनीति संविधानले निर्दिष्ट गरेको शान्तिपूर्ण रुपमा अभिमत राख्न पाउने संविधानप्रदत्त अधिकारको उपयोग नै हो। तर फरक मतलाई निस्तेज गर्न सरकार र दलहरू उद्धत छन् भन्ने पराकाष्टा हो यो’, उनी भन्छन्, ‘राजासहितको प्रजातन्त्र पुनर्स्थापनाका लागि सबैभन्दा सशक्त, वैचारिक‚ तार्किक बहस गरिरहेकाले उहाँलाई मुख्य टार्गेट गरिएको छ।’
तर राज्यले प्रतिशोधपूर्ण व्यवहार गरे पनि न्यायलयप्रतिको अटल विश्वासका कारण मिश्रको आत्मबल उच्च नै रहेको नेता पाठक बताउँछन्।
‘उहाँँ यसै पनि आत्मबल उच्च भएको व्यक्ति हो। इमानको जगमा राजनीति गरेको, सत्यको पथमा हिँडेको मान्छे हुनाले आत्मबल कमजोर भएको देखिनुभएको छैन’, उनी भन्छन्, ‘उच्च आत्मबलका साथ न्यायालयप्रति अटल विश्वास राख्दै आफूलाई संयमित राखिराख्नु भएको छ। आत्तिएको वा उदासिन हुनुभएको छैन।आत्तिएको वा उदासिन हुनुभएको छैन।’
दलबाटै रिहाइका लागि दबाब नपुगेको गुनासो
गणतन्त्रवादी दलहरूले आफूमाथि प्रतिशोध साँध्दा रिहाइका लागि दबाब नपुगेको महसुस मिश्रले गरेका छन्। मिश्रनिकट नेता पाठक भन्छन्, ‘पार्टीले केही कार्यक्रम गरेको र संसदमा पनि आवाज उठाएको छ तर अझ बढी जे जति गर्नुपर्ने थियाे, त्यो हुन नसकेको चाहिँ सत्य हो ।’ उनले यसबारे अब पार्टीमा कुरा गर्ने बताए।
हुन पनि मिश्रको रिहाइका लागि राप्रपा निरन्तर लागिपरेको देखिँदैन। जसलाई राप्रपाको आन्तरिक विवादसँग जोडेर हेर्ने गरिएको छ। मिश्र र राणा पक्राउ परेको ३ दिनपछि १८ चैतमा बसेको संसद् बैठकमा त अध्यक्ष राजेन्द्र लिङ्देनले रिहाइको मागसमेत गरेका थिएनन्। मिश्र र राणा दुवै राप्रपाको इतर समूहका हुन्।
नेताहरू पक्राउपछि राप्रपाका मुख्य दुई वटा कार्यक्रम भए। २६ चैतमा भएको कार्यक्रममा त बन्दीको रिहाइभन्दा राप्रपाले आफ्नो राजसंस्था पुनर्स्थापना र संघीयता खारेजीको एजेन्डालाई प्रमुख बनाएको थियो। वैशाख ७ मा भने बन्दीको रिहाइको मागसहित राप्रपाले निषेधित क्षेत्र तोड्ने प्रयास गरेको थियो।
बरु पार्टी फरक भए पनि साेमवार कमल थापा नेतृत्वकाे राप्रपा नेपालले मिश्रसहितका बन्दीकाे रिहाइका लागि दबाबमूलक कार्यक्रम गर्याे। उक्त कार्यक्रममा भने थापाले औपचारिक निम्ताेसँगै टेलिफाेनसमेत गरेर बाेलाएपछि राप्रपा अध्यक्ष लिङ्देन सहभागी भए।
शान्ति बाटिकामा आयोजित सभामा उपचारका लागि छुटेका राप्रपा महामन्त्री धवलशमशेर राणा, अर्की महामन्त्री कुन्ती शाही पनि पुगेका थिए।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठ मिश्रसहित आस्थाका बन्दीकाे रिहाइका लागि अब सशक्त भएर लाग्ने बताउँछन्। ‘हामीले हाम्रा पार्टीका नेता रवीन्द्र मिश्रको विषय सशक्त ढंगले नै उठाइरहेका छौँ। कहिले मसाल जुलुस बाल्ने, कहिले संगठन सडकमा ल्याउनेदेखि लिएर सभाहरू पनि गरिसक्यौं’, उनले भने, ‘यस्ता दबाबका कार्यक्रमलाई हामी अझ बढाउँछौं। संसदमा पनि थप सशक्त भएर कुरा उठाउँछौँ।’
महिना दिनसम्ममा राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले भने कुनै कदम चालेको छैन। समितिका सदस्य डा. जगमान गुरुङ आन्दोलन गरेर केही नहुने बताउँछन्।
उनी भन्छन्, ‘आन्दोलन गरेर उहाँ छुटिहाल्ने होइन। आन्दोलन पनि गर्नुपर्छ तर कानूनी उपचारबाट छुट्ने हो। यो प्रक्रिया अघि बढिराखेकै छ।’
थापा नेतृत्वकाे राप्रपा नेपालकाे साेमवारकाे कार्यक्रममा भने संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी पुगेका थिए। पञ्चायतकालीन नेता केशरबहादुर विष्ट पनि सहभागी भए।
अर्का राजावादी समूहको नेतृत्व गर्दै आएका दुर्गा प्रसाईं भने स्वयं प्रहरी हिरासतमा छन्। यस्तो अवस्थमा मिश्रको रिहाइ लागि दबाबका कार्यक्रम गर्ने वा त्यस्ता कार्यक्रममा सहभागी हुने अवस्था छैन। एजेन्डा मिले पनि उनलाई राजावादी दलहरूले त्यत्ति सकारात्मक ढंगले हेरेकाे देखिँदैन।
प्रहरीबाट दुर्व्यवहार
प्रहरीले मिश्रमाथि कुरुप व्यवहार गर्ने गरेको देखिएको छ। आइतवार म्याद थपका लागि जिल्ला अदालत काठमाडौँ लैजाने क्रममा उनलाई दुवै हातमा हत्कडी लगाइएको थियो।
थुनुवाको पोशाकमा गाडीबाट ओर्लेर हत्कडीसहित हात उठाएर मिश्रले हत्कडीसहितको हात उठाएर ‘नमस्कार’ गर्न खोज्दा प्रहरीले उनको हातमै समातेर रोक्यो। भिडियोमा प्रहरीले मिश्रलाई धकेलेको पनि देखिएको छ।
त्यसअघि पनि मिश्रलाई अदालत ल्याउँदा हत्कडी लगाउने गरिएको थियो तर गाडीबाट ओराल्ने बेलामा हत्कडी खोल्ने गरिन्थ्यो। आइतवार भने गाडीबाट ओर्लिँदा पनि हत्कडी फुकालिएको थिएन।
प्रहरीको व्यवहार निन्दनीय रहेको मिश्रनिकट नेता पाठक बताउँछन्। ‘उहाँ (मिश्र)लाई हत्कडी लगाउनुपर्ने न आपराधिक पृष्ठभूमि छ, न अपराध गरेको छ। न्यायको मन्दिरमा लाँदासमेत हत्कडी लगाउने, धकेल्ने जुन व्यवहार गरिएको छ, त्यो दलहरूले साँधेको प्रतिशोध हो। यो निन्दनीय छ’, उनी भन्छन्, ‘संविधान, कानून र विधि बिर्सेर शक्तिको उन्मादमा अन्धो भएर दलहरूको निर्देशनमा गरिएको कृत्य हो।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।