|

काठमाडौ ः १४ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीले आक्रामक शतक बनाएपछि इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई आठ विकेटले हराएको छ। 

गएराति जयपुरमा सम्पन्न खेलमा वैभवले विस्फोटक ब्याटिङ गरेपछि गुजरातले दिएको २१० रनको लक्ष्य राजस्थानले २५ बल बाँकी छँदै पूरा गर्‍यो।

राजस्थानको जितमा वैभले ३८ बलमा १०१ रनको शतकीय इनिङ खेले। ३५ बलमा शतक पूरा गरेका उनले सात चौका र ११ छक्का प्रहार गरे। यो आईपीएलमा दोस्रो सबैभन्दा छिटो बनेको शतक हो।

उनले पहिलो विकेटका निम्ति अर्का ओपनर यसश्वी जैसवालसँग ६५ बलमा ११६ रनको उत्कृष्ट साझेदारी गर्दै राजस्थानलाई जित नजिक डोहोर्‍याएका थिए।

राजस्थानको जितसम्म अविजित रहेका जैसवालले ४० बलमा नौ चौका र दुई छक्कासहित ७० रन जोडे। यस्तै, कप्तान रियान परागले १५ बलमा दुई चौका र दुई छक्कासहित ३२ रन बनाए। 

गुजरातका प्रसिद्ध कृष्णा र राशिद खानले समान एक विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०९ रनको योगफल खडा गरेको थियो।

गुजरातका कप्तान शभमन गिलले ५० बलमा सर्वाधिक ८४ रन बनाए। उनले यसक्रममा पाँच चौका र चार छक्का प्रहार गरे। गिलले पहिलो विकेटका निम्ति साई सुदर्शनसँग  ९३ रनको साझेदारी गरे।  सुदर्शनले ३० बलमा चार चौका र एक छक्कासहित ३९ रन थपे।

यस्तै, जस बटलरले २६ बलमा तीन चौका र चार छक्कासहित ५० रन थपे।  वासिंटन सुन्दरले आठ बलमा एक छक्कासहित १३ रन जोडे। 

राजस्थानका महिस थिक्षणाले दुई विकेट लिए भने जोफ्रा आर्चर र सन्दीप सिंहले एक विकेट लिए। जितसँगै १० खेल खेलेको राजस्थान ६ अंकसहित तालिकाको आठौँ स्थानमा उक्लिएको छ।

हारसँगै गुजरातले भने तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमायो। प्रतियोगितामा नौ खेल खेलेको गुजरात १२ अंकसहित तेस्रो स्थानमा छ।

प्रतियोगिता अन्तरगत आज दिल्ली क्यापिटल्स र कोलकता नाइट राइडर्सबीच राति पौने ८ बजे दिल्लीमा खेल हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.