काठमाडौं : सानो छँदा आकलझुकल गीत गाएर साथीसँगीलाई सुनाए पनि गंगा फियाकलाई गायिका बन्छु भन्ने लागेको थिएन। उनले त शिक्षिका बन्ने सपना सजाएकी थिइन्। उमेर बढ्दै जाँदा शिक्षिका बन्ने सपनालाई गायिकाको छायाले छोप्दै लग्यो। अन्ततः उनी सांगीतिक सागरमा विस्तारै हेलिन पुगिन्।
इलामको फाकफोकथुम गाउँपालिका- ५, लुम्देकी गंगा विद्यालय र क्याम्पस पढ्दा कहिलेकाहीँ साथीहरूलाई गीत सुनाउँथिन्। गीत सुनेपछि साथीहरूले ‘तिम्रो स्वर राम्रो छ’ भन्दै गायिका बन्न ऊर्जा भर्थे। यद्यपि, गायनलाई पेशा बनाउँछु भन्ने उनलाई लागेको थिएन। तर‚ त्यही नसोचेको क्षेत्र नै पेशा बन्न गयो। उनलाई संगीत क्षेत्रमा लाग्न के कुराले प्रेरित गर् यो त ?
‘बुबा तेजबहादुर समाजसेवा र राजनीतिमा चासो राख्ने‚ उहाँले जीवनमा दाम नभए पनि नाम कमाउनुपर्छ भन्नुहुन्थ्यो,’ बाल्यकाल सम्झिँदै गंगाले सुनाइन्, ‘सानोमा छिमेकीको टेलिभिजनमा हिरो, हिरोइन देख्दा उनीहरूजस्तै टेलिभिजनमा देखिन पाए भन्ने लाग्थ्यो। बुवाको कुरा र टेलिभिजन हेर्दा देखेको सपनाले सायद मलाई गीत/संगीत क्षेत्रमा डोर्यायो।’
लिम्बू भाषाको गीत/संगीतमा परिचित गंगा आफ्नो स्वरमा गीत रेकर्ड गर्नुअघिसम्म नेपाली भाषाको गीत गुनगुनाउँथिन्‚ साथीहरूलाई सुनाउँथिन्। तर‚ पेशाको रूपमा भने उनले भिन्न विधा रोजिन्। आफ्ना समकालीन पप तथा सुगम संगीतमा रमाउँदै गर्दा गंगा आदिवासी जनजाति लिम्बू समुदायको मौलिक गीत/संगीतमा भविष्य कोर्न लागिन्। आखिर किन?
‘लिम्बू भाषा बोल्नेको संख्या कम हुँदै गइरहेको छ। भाषा बोल्ने नै नभएपछि लिम्बू गीत/संगीत पनि हराउँछ‚’ लिम्बू गीत/संगीतमा लाग्नुको कारण खुलाउँदै उनले भनिन्, ‘त्यही हराउन लागेको भाषा तथा गीत/संगीतको संरक्षणमा केही योगदान गर्छु कि भनेर मुलधारको संगीतमा नलागी यस क्षेत्रमा लागेकी हुँ।’ करिब एक दशकदेखि सांगीतिक क्षेत्रमा डुेबकी गंगाले २०७४ सालमा पहिलो पटक गीत रेकर्ड गराएकी थिइन्। यो गीत रेकर्ड हुनुमा एउटा संयोग छ।
‘मुटुरोगी आमा (महन्ती फियाक) को उपचार गर्न २०६८ सालमा उहाँसँगै काठमाडौं आएकी थिएँ। उपचारको क्रममै त्यही साल आमाको निधन भयो।
त्यसयता म काठमाडौंमा नै बस्न थालेँ। घरदेखि टाढा रहँदा आमा र घरको सम्झनाले साह्रै सताउँथ्यो। त्यही पीडालाई भुलाउन गीत गाउँथेँ‚’ उनले सुनाइन्‚ ‘एकपटक गाउँका काकालाई गीत गाएर म्यासेन्जरमा पठाएकी थिएँ। उहाँले त्यो गीत विदेशमा रहनुभएका मेरा जेठा दाजु (गोविन्दप्रकाश फियाक ‘खोल्से जेठा’) लाई पठाउनुभएछ। दाजुले त्यो गीत सुन्नु भई मलाई फोन गरेर जसरी पनि एउटा गीत रेकर्ड गराइदिन्छु भन्नुभयो।’
गंगाको सपना साकार पार्न जेठा दाइको योगदान छ। दाइकै लगानी र रचनामा गंगाले ‘मुक्कुमलुङ सम्धाङ’ बोलको लिम्बू भाषाको गीत ब्रबिम सेर्मासँग पहिलोपटक रेकर्ड गराएकी थिइन्। त्यसयता उनको स्वरमा ६५ वटा गीत रेकर्ड भइसकेका छन्। तीमध्ये १० वटा नेपाली भाषा र अरु सबै लिम्बू भाषाका हुन्। लिम्बू भाषाका गीतमा पनि अधिकांश ‘पालाम’ छन्।
पालाम लिम्बू समुदायको लोकगीत हो। मेला, विवाह जस्ता भेलामा महिला र पुरुष हात समाएर पालाम गाउँदै धान नाच्छन्। पछिल्लो समय धान नाच्ने चलन हराउँदै गएको छ। धाननाच हराउँदै गएपछि पालाम पनि लोप हुने अवस्थामा पुगेको छ। लोप हुन लागेको यही पालामलाई गंगा विभिन्न ठाउँको मञ्चमा प्रस्तुत गर्छिन्। सानो हुँदा पालाम गाएको सुने पनि गायन क्षेत्रमा लाग्नुअघिसम्म उनले पालाम गाएकी थिइनन्। गंगा हुर्किँदै गर्दा देशभर नेकपा माओवादीले चलाएको सशस्त्र द्वन्द्व फैलियो। द्वन्द्वका कारण गाउँघरमा मेला लाग्न छाड्यो।
केही युवा गाउँबाट शहर पसे‚ केही विदेश लागे। युवा नभएपछि मेला‚ विवाहमा पालाम गाउँदै धान नाच्ने चलन कम हुँदै गयो। गंगा धान नाच्ने उमेरमा पुग्दा धान नाचेको बिरलै मात्र देखिन्थ्यो। यद्यपि‚ उनलाई पालाम गाउन कठिनाइ भएन।
‘म सानो हुँदा गाउँमा हुने विवाह र छिमेकी गाउँमा लाग्ने गजुरमुखी मेलामा पालाम गाउँदै धान नाचेको देखेकी थिएँ‚ त्यो बेला नियालेर हेर्थें तर पालाम गएकी थिइनँ‚’ गंगाले सुनाइन्‚ ‘मेरो बुवा खुब धान नाच्नुहुन्थ्यो। पालाम गाउनुहुन्थ्यो। सायद बुबामा रहेको त्यही गुण सरेकाले होला सानोमा नगाए पनि पालाम सजिलै गाउन सकेँ।’
पालाम गायनमा अहिले पहिलो रोजाइकी गायिका गंगाले लिम्बू बाहुल्य रहेको नेपालको विभिन्न स्थानका साथै दक्षिण कोरिया, मलेसिया, हङकङ, भारतको सिक्किम र बेलायतमा सांगीतिक प्रस्तुति दिइसकेकी छन्। यस क्रममा भारतको सिक्किम १२ पटक पुगिसकेकी छन्। केही महिनाअघि बेलायतमा सांगीतिक कार्यक्रम गरी फर्किएकी उनले त्यहाँ १८ ठाउँमा प्रस्तुति दिएकी थिइन्।
गंगाले शुरूशुरूमा सांगीतिक प्रस्तुति दिंदा उनका श्रोता तथा दर्शक प्रायः प्रौढ हुन्थे। तर‚ पछिल्लो समय त्यो दृश्य फेरिएको उनले देखेकी छन्। ‘पहिले लिम्बू भाषाको गीतका श्रोता तथा दर्शक उमेर ढल्कँदै गएका मात्र हुन्थे,’ गंगाले अनुभव सुनाइन्, ‘पछिल्लो समय युवायुवती पनि बढ्न थालेका छन्। यो देख्दा हाम्रो मिहिनेत खेर गएन भन्ने लाग्छ। यसरी पछिल्ला पुस्ताले रुचि राखे लिम्बू गीत/संगीत लोप भएर जाँदैन।’
युवामा भाषिक गीत/संगीतप्रति रुचि जाग्नुमा देश तथा विदेशमा आयोजना हुने मेला‚ महोत्सव तथा चाडबाडको अवसरमा आयोजना गरिने सांगीतिक कार्यक्रमहरूमा विभिन्न भाषाका गायकरगायिकालाई पनि स्थान दिनु हो। कार्यक्रमहरूमा विभिन्न भाषाका गीत सुन्दा युवाहरूमा बिस्तारै त्यसप्रति रुचि जागेको गंगा बताउँछिन्। ‘मेला‚ महोत्सव तथा चासोक तङनाम‚ दशैं‚ तिहार जस्ता चाडबाडमा नेपालीसँगै भाषिक गीत गाउने कलाकारलाई बोलाउने चलन बढेको छ‚’ उनी भन्छिन्‚ ‘यसले भाषिक गीत गाउने कलाकारलाई आर्थिक रूपमा फाइदा त पुगेकै छ‚ यससँगै नेपालमा रहेका विभिन्न समुदायको गीत/संगीतलाई फैलिने वातावरण पनि मिलेको छ।’
यस्तो वातावरणले भाषिक गीत गाउने कलाकारको पनि आयआर्जन बढेको छ। जसले कुनै समुदायको भाषाको गीत मात्र गाएर जीवन चलाउन गाह्रो छ भन्ने भाष्यलाई भत्काउन सहयोग गरेको छ। अर्कोतर्फ गंगाजस्ता नेपाली मौलिक गीत/संगीतको संरक्षण तथा प्रचारप्रसारमा लागेका कलाकारलाई अझ दरिलो गरी यो क्षेत्रमा उभिन ऊर्जा थपेको छ।
‘श्रोता तथा दर्शकको मायाले गर्दा नै प्रस्तुति दिन देशविदेश पुगेकी छु। संगीत क्षेत्रबाटै जीवन चलाइरहेकी छु,’ गंगाले सुनाइन्, ‘श्रोता तथा दर्शकले देखाउनुभएको मायाले यस क्षेत्रमा लाग्न ऊर्जा थपिएको छ। साथै‚ परिवार र मलाई खुसी दिएको छ।’ तर, उनलाई एउटा कुराले भने दुःखी तुल्याउँदो रहेछ। त्यो हो‚ आफ्नो सफलता आमालाई देखाउन नपाउनु। गंगा सांगीतिक क्षेत्रमा लाग्नुअघि नै उनकी आमाले सधैंका लागि संसार छाडेर गइसकेकी थिइन्।
२०७४ सालमा लिम्बू भाषाको गायन प्रतियोगिता ‘फक्ताङलुङ आइडल’को उपविजेताको उपाधि उचालेर सांगीतिक उडान भरेकी गंगाले त्यसयता पछाडि फर्किनु परेको छैन। गायनमा स्थापित त भएकी छिन् नै सानो हुँदा छिमेकीको टेलिभिजनमा देखिएका हिरोहिरोइनझैँ पर्दामा देखिने सपना पनि पूरा गरेकी छिन् उनले। आफ्ना स्वरमा रहेका प्रायः गीतको म्युजिक भिडियोमा अभिनयसमेत गरेकी छिन्। अन्य गायक-गायिकाको स्वरमा रहेको केही म्युजिक भिडियोमा पनि उनलाई देख्न सकिन्छ।
नाम कमाउने उद्देश्यले गीत/संगीत क्षेत्रमा लागेकी गंगालाई अहिले भने लिम्बू गीत/संगीतको संरक्षण तथा प्रचारप्रसारको जिम्मेवारी आफ्नो काँधमा आएको बोध हुन थालेको छ। अग्रजले संरक्षण गरेको गीत/संगीतलाई संरक्षण गर्दै आफूभन्दा पछिल्लो पुस्तालाई हस्तान्तरण गर्नु आफ्नो कर्तव्य रहेको उनी बताउँछिन्। ‘अग्रजहरूले बचाएर हामीलाई लिम्बू गीत/संगीत हस्तान्तरण गर्नुभएको छ,’ गंगा भन्छिन्, ‘हामीले पनि पछिल्लो पुस्तालाई हस्तान्तरण गर्नुपर्छ। यसो गरे हाम्रो गीत/संगीत बाँचिरहन्छ।’ श्रोता तथा दर्शकको माया पाइरहे त्यो जिम्मेवारी पूरा गर्नेमा उनी ढुक्क छिन्।
तर, मौलिक गीत/संगीतको संरक्षणमा सर्जकको प्रयास मात्र पर्याप्त नहुने गंगाको बुझाइ छ। मौलिक गीत/संगीत देशको सम्पत्ति भएकाले यसको संरक्षणमा सरकारले पहल गर्नुपर्ने उनी बताउँछिन्। बहुभाषिक‚ बहुसाँस्कृतिक मुलुक नेपालमा रहेका सबै समुदायको गीत/संगीत नेपालको सम्पत्ति हो। तीमध्ये कुनै लोप भए नेपाली संगीत क्षेत्रलाई घाटा लाग्छ। त्यसैले त्यसको संरक्षणमा समुदाय र सरकार लाग्नुपर्ने गंगाको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।