|

काठमाडौँ : नेपाली लेखक सङ्घले आख्यानकार डा ध्रुवचन्द्र गौतमलाई दोस्रो राष्ट्रिय लेखक पुरस्कारबाट सम्मान गरेको छ। 

काठमाडौँस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज आयोजित एक समारोहबीच उनलाई १ लाख रुपैयाँ राशिको उक्त पुरस्कार प्रदान गरिएको हो। यसअघि पहिलो पुरस्कार साहित्यकार बैरागी काइँलालाई प्रदान गरिएको थियो।

तेस्रो राष्ट्रिय लेखक दिवसका अवसरमा आयोजित समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले उनलाई दोसल्ला ओढाएर कदरपत्रसहित पुरस्कार प्रदान गरे।  

विसं २००० मा वीरगञ्जमा जन्मिएका डा गौतमले भारतको पूणे विश्वविद्यालयबाट भाषा विज्ञानमा विद्यावारिधि गरेका छन्। विसं २०२४ बाट उपन्यास लेख्न थालेका उनका २९ वटा उपन्यास प्रकाशित छन्। आधा दर्जन कथा सङ्ग्रह र एक दर्जन नाटक लेखेका डा गौतमका ४५ कृति प्रकाशित भएको जानकारी कार्यक्रममा दिइयो। 

पुरस्कृत व्यक्तित्व डा गौतमले साहित्यले सम्मानका लागि आभार व्यक्त गरे। उनले लोकतन्त्रलाई बलियो बनाउने साहित्यको महत्वपूर्ण भूमिका रहेको र यसलाई थप सशक्त बनाउनुपर्ने धारणा राखे। 

कार्यक्रममा विभिन्न व्यक्तिलाई मानार्थ सदस्य सम्मान प्रदान गरिएको थियो। यसरी सम्मान पाउनेमा डा गौतमसहित बैरागी काइँला, राजनीतिज्ञ नरहरि आचार्य, डा बेञ्जु शर्मा, डा तुलसी भट्टराई, प्राडा हेमाङ्गराज अधिकारी, साहित्यकार हरि अधिकारी, सनद रेग्मी, पूर्वमन्त्री भक्तबहादुर बलायर रहेका छन्। 

डा गोविन्दराज भट्टराई, डा व्रतराज आचार्य, रामानन्द आचार्य, गायत्री श्रेष्ठ, ज्ञानुवाकर पौडेललगायत ३२ जनालाई उक्त सम्मान प्रदान गरिएको थियो।

कार्यक्रममा नेपाली लेखक सङ्घकी उपाध्यक्ष विमला तुम्खेवा, साहित्यकार डा रत्नमणि नेपाल, अनुपमा रेग्मीलगायतले सम्बोधन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.