पर्वत : आइतबार सुरु हुन लागेको कक्षा १२ को परीक्षामा गण्डकी प्रदेशबाट ४३ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने भएका छन्।
राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेश पोखराका कार्यालय प्रमुख गोविन्दराज पोख्रेलका अनुसार परीक्षामा नियमिततर्फ ३३ हजार ६९८ जना र आंशिकतर्फ नौ हजार ६५३ जना गरी कुल ४३ हजार ३५१ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेका हुन्।
यस वर्षको परीक्षामा सबैभन्दा कम मनाङ जिल्लाबाट ४५ जना सहभागी हुँदै छन् भने सबैभन्दा बढी नवलपरासी (बर्दघाट सुस्ता पूर्व)बाट सात हजार १२९ जना सहभागी हुँदै छन्।
गोरखाबाट दुई हजार ८७० जना, लमजुङबाट एक हजार ९२८ जना, तनहुँबाट पाँच हजार १६५ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन्।
स्याङ्जाबाट चार हजार १४१ जना, कास्कीबाट १४ हजार ६५८ जना, मुस्ताङबाट १०३ जना, म्याग्दीबाट एक हजार ६३९ जना, पर्वतबाट एक हजार ६८१ जना तथा बागलुङबाट तीन हजार ९९२ जनाले परीक्षाका लागि ‘रजिस्ट्रेशन’ फाराम भरेका छन्।
प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेश पोखराका कार्यालय प्रमुख पोख्रेलले परीक्षा सञ्चालनका लागि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा २२ वटा, गोरखामा १० वटा, लमजुङमा ६ वटा, तनहुँमा १५ वटा, स्याङ्जामा २१ वटा, कास्कीमा ४४ वटा, मनाङमा एउटा, मुस्ताङमा एउटा, म्याग्दीमा ५ वटा, पर्वतमा ७ वटा र बागलुङमा १५ वटा गरी कुल १४७ वटा परीक्षाकेन्द्र निर्धारण गरिएका छन्।
परीक्षा सञ्चालनका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको समितिमा जिल्ला समन्वय अधिकारी, सुरक्षा प्रमुख र शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख सदस्य सचिव रहेका छन्।
परीक्षा अवधिभर केन्द्राध्यक्षबाहेक अन्य कसैलाई मोबाइल फोन, स्मार्ट घडी लगायतका विद्युतीय सामग्री परीक्षा हलभित्र लैजान रोकिएको छ। समाचार सङ्कलन गर्न जाने पत्रकारलाई परीक्षा केन्द्र बाहिरैबाट समाचार सङ्कलन गर्ने, परीक्षा हलभित्र क्यामेरा सहित प्रवेश गरी फोटो भिडियो खिच्न निषेध गरिएको छ।
यस्तै अनुगमनकर्ताले आधिकारिक परिचयपत्र देखाउनुपर्ने, अनुगमन गर्दा एउटा कोठामा बढीमा दुई मिनेटभन्दा बस्न नपाउने, एकपटकमा एकभन्दा बढी अनुगमन टोली परीक्षा हलमा जान नहुने, परीक्षा केन्द्रमा दुई वा दुईभन्दा बढी अनुगमन टोली जाने संयोग परेमा अघिल्लो टोली निस्किएपछि मात्रै पछिल्लो टोलीले अनुगमन गर्ने लगायतका नियम लागू गर्न केन्द्राध्यक्षलाई निर्देशन दिइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।