जनकपुरधाम : जनकपुरधाममा निर्माण हुन लागेको रामजानकी बहुउद्देश्यीय अन्तरराष्ट्रिय रंगशालाको निर्माण अवरुद्ध भएको छ। गुठी संस्थानले रंगशाला निर्माणका लागि लिजमा दिने जग्गाको वार्षिक भाडा ४९ लाख ९० हजार रुपैयाँ मागेपछि निर्माण प्रभावित भएको हो।
गुठी संस्थानको पूर्वाधार विकास तथा सम्पदा संरक्षण शाखाले वैशाख ११ गते मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयलाई पत्र पठाउँदै उक्त भाडा दरमा लिज सम्झौता गर्न अनुरोध गरेको थियो।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१४ मा रहेको करिब १७ बिघा क्षेत्रफलको तैनाथी जग्गा रंगशाला निर्माणका लागि लिजमा मधेश सरकारले मागेको थियो।
गुठी संस्थानले ‘गुठी तैनाथी घरजग्गा लिज तथा बहालमा दिने निर्देशिका २०७८’ अनुसार वार्षिक भाडा तोकिएको गुठी संस्थानका प्रशासक शैलेसराज कुँवरले बताए।
साथै, लिज अवधिभर प्रत्येक २ वर्षमा भाडा १० प्रतिशतले बढ्ने व्यवस्था गरिएको छ। अधिकतम २५ वर्षका लागि मात्र लिज सम्झौता गर्न सकिने गुठीको भनाइ छ।
यसअघि २०७४ मंसिर ३ गते राष्ट्रिय खेलकुद परिषद् र गुठीबीच वार्षिक ९ लाख रुपैयाँमा भएको सम्झौता परिषद्ले रकम नबुझाएपछि रद्द गरिएको थियो। त्यसपछि प्रदेश सरकार र स्थानीय तहको सक्रियतामा पुनः लिज प्रक्रिया अघि बढाइएको थियो।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले गुठी संस्थानको भाडा मागले विकासमा अवरोध पुर्याएको भन्दै आपत्ति जनाएका छन्।
उनले भने‚ ‘हाम्रो आफ्नै नगरमा विकासको काम गर्दा गुठीले अवरोध गर्नु दुःखद र निन्दनीय छ।’
यसबीच, उपमहानगरपालिकाले हालसम्म रंगशाला निर्माणमा डेढ करोड रुपैयाँ खर्च गरिसकेको छ भने मधेश प्रदेश सरकारले २ अर्ब रुपैयाँको बजेट सुनिश्चित गरिसकेको छ।
पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला १ अर्ब रुपैयाँको घोषणा गरेका थिए। जसमा प्रदेश सरकारले बाँकी १ अर्ब रुपैयाँ थपेको हो।
अब गुठी संस्थानको माग र प्रदेश सरकारको निर्णयबीच सहमति नजुट्ने हो भने जनकपुरधामवासीको बहुप्रतीक्षित रंगशालाको सपना फेरि अधुरै रहने देखिन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।