|

जनकपुरधाम : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मधेश प्रदेशमा नयाँ रंगशालाको निर्माण तथा पुराना संरचनाको मर्मतका लागि उचित बजेट विनियोजन गर्ने बताएका छन्।

तेस्रो जनकपुरधाम मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री चौधरीले जनकपुरधामको रामजानकी बहुउद्देश्यीय अन्ताराष्ट्रिय रंगशाला निर्माणमा मन्त्रालयले गुठी संस्थानसँग सम्झौता गराउन पहल गरिरहेको बताए।

जनकपुरधाम उपमहानगरको आयोजना तथा जिल्ला क्रिकेट संघ धनुषाको समन्वयमा शुक्रबारदेखि जनकपुरधाम उपमहानगर–१४ स्थित रजौलमा रहेको रंगशालामा प्रतियोगिता शुरु भएको हो।

मन्त्री चौधरीले मधेश प्रदेशमा आयोजना हुने ११ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि पूर्वाधारको निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेर आगामी नयाँ बजेट विनियोजन गर्ने जानकारी गराए।

जनकपुरधाम उपमहानगरले निरन्तर रूपमा मेयर कप आयोजना गरेर खेल तथा खेलाडीको मनोबल बढाउन खेलेको भूमिकालाई मन्त्री चौधरीले प्रशंसा गरे।

त्यसैगरी मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले प्रदेशको सबै जिल्लामा रंगशालाको निर्माण गर्ने पक्षमा प्रदेश सरकार रहेको बताए।

जनकपुरधाम उपमहानगरका प्रमुख मनोजकुमार साहले निर्माण प्रक्रिया अघि बढिसकेको बताउँदै रंगशालाको निर्माण चाँडै हुने आशा व्यक्त गरे।

नेपाल क्रिकेट संघका कोषाध्यक्ष पद्म खडकाले नेपाली खेलकुदको विकासका लागि तीनै तहका सरकारको सहयोग र साथ आवश्यक भएको विचार गरे।

शुक्रबारदेखि जेठ २ गतेसम्म चल्ने तेस्रो जनकपुरधाम मेयर कप प्रतियोगितामा मधेश प्रदेशका ८ जिल्लाका अतिरिक्त भारतको बिहारका मुजफ्फरपुर, पुर्णिया, उत्तर प्रदेशका लखनउ र दिल्लीका ४ टिम गरेर कुल १२ टोली सहभागी छन्।

टी–२० क्रिकेट प्रतियोगितामा विजेता टिमलाई २ लाख नगद र ट्रफी, उपविजेतालाई १ लाख २५ हजार नगद र ट्रफी, प्रत्येक दिनका म्यान अफ दि म्याच हुने खेलाडीलाई केएफसीको पाँच हजारको गिफ्टका साथै ३ हजार नगद र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

त्यसैगरी प्रतियोगितामा बेस्ट ब्याट्स म्यानलाई १० हजार, बेस्ट बलरलाई १० हजार, म्यान अफ दि सिरिज हुने खेलाडीलाई १५ हजार नगद ट्रफीसहित पुरस्कृत गरिने भएको जिल्ला क्रिकेट संघका सचिव अशिष झाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.