काठमाडौँ : डिभिजन सडक कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिकाले सडक सीमाभित्रका संरचना आफैँ हटाउन निर्देशन दिएको छ।
महानगरपालिका र डिभिजन सडक कार्यालयले संयुक्त सूचना जारी गर्दै ३५ दिनभित्र सम्बन्धित व्यक्तिबाटै संरचना हटाउन/भत्काउन निर्देशन दिएको हो।
भौतिक योजना तथा निर्माण मन्त्रालयबाट २०५८/०८/१८ को राजपत्रमा प्रकाशन भएको सूचना अनुसार काठमाडौँको जडिबुटी चोक (अरनिको राजमार्ग)देखि पेप्सीकोला चोकसम्म सडकको केन्द्र रेखाबाट दायाँ-बायाँ दुवैतर्फ १५ /१५ मिटर सडकको सीमा कायम रहेको छ।
‘नेपाल सरकार र स्थानीय सरकारका सम्बन्धित निकायहरूबाट संयुक्त रूपमा मिति २०८२/०१/१० गते सडक सीमाको सीमाङ्कन गरी चिनो लगाइएको वा किला गाडिएको हुँदा सार्वजनिक सडक ऐन २०३१ को दफा १९ को अवज्ञा गरी उक्त स्थानमा सडकको सीमा क्षेत्रभित्र नक्सा पास बिना र नक्सा पास विपरीत निर्माण गरिएका अनधिकृत संरचनाहरू सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सम्बन्धित व्यक्तिबाटै हटाउन र भत्काउन मुनासिव माफिकको म्याद तोकी यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा उल्लेख छ।
तोकिएको म्यादभित्र अनधिकृत संरचनाहरू नहटाएमा सार्वजनिक सडक ऐन २०३१ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड तथा कार्यविधि र कार्यालयको निर्णय बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।