|

काठमाडौँ : गत चैत १५ गतेको तीनकुने प्रदर्शन हिंसात्मक बनेपछि सेलाएका राजावादी फेरि जुर्मुराएका छन्। विभाजित अवस्थामा रहेका उनीहरू पछिल्लो समय एकठाउँ आएका मात्र छैनन्, राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना गरिछाड्ने भन्दै संयुक्त आन्दोलन नै घोषणा गरेका छन्। 

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा, कमल थापाको नेतृत्वको राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाल, नेपाली कांग्रेस (बिपी), शिव सेना नेपाल, नेपाल प्राज्ञिक मञ्चलगायत समूह पहिलोपटक एकै ठाउँमा उभिएका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रमुख नेताहरूको बेग्लाबेग्लै भेटपछि त्यो सम्भव भएको बताइन्छ। 

उनीहरू पूर्वपञ्चनेता नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’मार्फत आन्दोलनमा जाने तयारीमा छन्। यसअघि संयुक्त समितिमा रहन अस्वीकार गरेका राप्रपा अध्यक्ष लिङ्देन, राप्रपा नेपालका अध्यक्ष थापा, राजावादी नेता केशरबहादुर विष्टलगायत पनि सोही छातामा बस्न तयार भइसकेका छन्।

एकठाउँमा आएका राजावादीहरूले गणतन्त्र स्थापनाको दिन १५ जेठदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन्। लक्ष्य पूरा नभएसम्म आन्दोलन जारी राख्ने उद्घोष उनीहरूको छ।

गणतन्त्रवादी आक्रामक  

राजावादीहरूले एक भएर अनिश्चितकालीन आन्दोलन घोषणा गरेपछि आफूलाई गणतन्त्रवादी भन्ने दलहरू फेरि आक्रामक हुन थालेका छन्। गत १५ चैतको प्रदर्शन हिंसात्मक बनेपछि राजावादी आन्दोलन तुहिएको ठानेर केही शान्त भएका गणतन्त्रवादीहरू फेरि राजावादीहरूको सलबलाहटसँगै तिखो प्रहारमा उत्रिएका हुन्।

व्यवस्थाको रक्षार्थ एक ठाउँमा रहेका गणतन्त्रवादीहरू सदन र सडकबाट पूर्वराजा र उनको समर्थकमाथि खनिने गरेका छन्। आइतवार मात्रै एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍बाटै राजावादीमाथि कटाक्ष गरे। नीति तथा कार्यक्रमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन रोष्ट्रममा उभिएका उनी अन्तिममा राजावादीहरूमाथि खनिए।  

‘संविधान कानुनको दुहाइ दिएर माइक फुट्ने गरी कराउने साथीहरू आज खुलेआम लोकतान्त्रिक प्रणालीभित्र लोकतन्त्र उल्टाउने शंखघोष गर्नुहुन्छ र देशलाई प्रतिगमनमा लाने हुंकार गर्नुहुन्छ। अचम्म लाग्छ मलाई के गरेको यो !’, उनले भने, ‘यसपल्टको जेठ १५ होइन, अब आउने कुनै पनि जेठ १५ गते पर्खिनुस्, तपाईँहरूको सपना साकार हुने छैन। यो प्रतिगामी सपना काम लाग्दैन। त्यसमा जोड नगर्न आग्रह गर्छु।’  

यसअघि संयुक्त जनआन्दोन समितिका सदस्य डा.जगमान गुरुङले अगामी जेठ १५ गते लोकतान्त्रिक गणतन्त्र ढल्ने र राजसंस्था पुनर्स्थापना हुने दावी गरेका थिए। अहिले एक ठाउँमा उभिएर जेठ १५ देखि नै आन्दोलन घोषणा गरेको सन्दर्भमा प्रधानमन्त्री ओलीले राजावादीहरूलाई त्यसो भनेका हुन्। 

आइतवार नै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल 'प्रचण्ड'ले पनि राजावादीहरूलाई चेतावनी दिए। धरानमा आयोजित किराती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा उनले ‘खबरदार’ भन्दै राजावादीहरूलाई आन्दोलनमा नउत्रन चेतावनी दिए। 

उनले भने, ‘सुनारको सय चोट, लोहारको एकै चोट भनेजस्तो एक चोट हामीले हानेपछि उनीहरूको बेलुन फुटेको छ। अहिले फेरि अर्को बेलुनमा हावा भर्ने रे जेठ १५ गतेदेखि। खबरदार, त्यो हुनेवाला छैन।’

प्रचण्डले सोमवार पनि राजावादीहरूविरुद्ध प्रहार गरे। पार्टीको भातृ संगठन वाइसीएल कर्णाली सम्मेलनमा सुर्खेत पुगेका उनले आफ्नै वंशको हत्यारा पत्ता लगाउने जाँगर नदेखाउनेहरूले जनताको रक्षा गर्छन् भनेर विश्वास गर्न नसकिने टिप्पणी गरे। 

‘तिनै राजा–महाराजाहरू हुन् जसले जनतालाई शताब्दीयौँ शोषण गरे। देशलाई विश्वकै गरिब राष्ट्रमा दर्ज गरे’, उनले भने, ‘आफ्नै वंशको हत्यारा पत्ता लगाउन कुनै जाँगर देखाएनन्। उनीहरूले जनताको रक्षा गर्न सक्छन् भनेर कसरी विश्वास गर्ने ?’

प्रमुख प्रतिपक्षी हुनुको नाताले प्रचण्डले वर्तमान सरकारकै कारण राजावादी सलबलाएको टिप्पणी गर्ने गरेका छन्। केहीदिन अघि संसद्‍मा पनि उनले दुई तिहाइको अहंकारमा सत्तारुढ कांग्रेस-एमालेले दौडाएको कुशासनको घोडाले लोकतन्त्रलाई कमजोर बनाएको बताएका थिए। 

‘दुई तिहाइको अहंकारमा तपाईँहरूले दौडाएको कुशासनको घोडाले आज लोकतान्त्रिक प्रक्रियालाई कमजोर बनाएको छ’, उनले भनेका थिए, ‘...सरकारको कार्यशैलीले तपाईँहरू मात्रै ढल्दै हुनुहुन्न, त्यसबाट लोकतन्त्रमाथि नै प्रहार शक्ति बढिरहेको छ। लोकतन्त्रमा बाहिरबाट भन्दा सरकारकै कारण बढी खतरा पैदा भएको छ। सरकारकै कार्यशैलीले जन्माएको असन्तुष्टिलाई प्रतिगामी र प्रतिक्रियावादीहरूले ऐतिहासिक बलिदानीपूर्ण संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रविरुद्ध कसरी प्रयोग गर्न पुगे भन्ने कुराको हामी साक्षी छौँ।’  

सत्तारुढ कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि पूर्वराजालाई चुनाव लडेर राजनीतिमा आउन चुनौती दिएका थिए। पूर्वराजा ज्ञानेन्द्र संवैधानिक राजा बन्नलायक पनि नरहेको टिप्पणी उनको थियो। यद्यपि पछिल्लो समय भने उनले पूर्वराजाविरुद्धको चर्को टिप्पणी गरेका छैनन्। 

आक्रामक हुनुपर्ने कारण के? 

राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा वकालत गर्ने प्रमुख संगठन राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा हो। संविधानले नचिन्ने ‘राजा र हिन्दु राष्ट्र’लाई मुख्य एजेन्डा बनाएर राजनीति गरिरहेको राप्रपा संसद्को पाँचौँ दल हो। 

संसद्को हैसियत मात्र होइन, राप्रपाको जनमत पनि बढ्नुको साटो खस्किँदै गएको देखिन्छ। प्रतिनिधिसभाको अघिल्लो कार्यकालको तुलनामा २०७९ को आमनिर्वाचनमा अपत्यारिलो ‘कमब्याक’ गरेको भए पनि पछिल्लो उपनिर्वाचनहरूले उसलाई नराम्रोसँग झस्काएको छ। 

सामान्य हैसियतको राप्रपा र केही सानातिना समूह राजा फर्काउने भन्दै एकठाउँ हुँदैमा वा नारा-जुलुस गर्दैमा न त्यो पूरा भइहाल्ने अवस्था छ ? न त पूर्वराजाले गद्दीमा फर्कने इच्छा व्यक्त गर्दैमा जनता उनको पछि लाग्ने देखिन्छ। 

तर पनि राजावादी सलबलाएसँगै शीर्ष नेताहरू नै पूर्वराजा र उनका समर्थकविरुद्ध किन उत्रिन्छन्?  राजनीतिशास्त्री कृष्ण पोखरेल चुपचाप बस्दा झन् उनीहरू हौसिने भएकाले नेताहरू प्रतिवादमा उत्रेको ठान्छन्। यद्यपि गणतन्त्रवादी दलका नेताहरूलाई बोलेर मात्र नभई काम देखाएर जवाफ फर्काउन उनी सुझाव दिन्छन्। 

‘चुपचाप बस्दाखेरि कहीँ न कहीँ राजावादीहरू झन् उत्साहित होलान् भनेर संविधान पक्षधर शक्तिहरूले प्रतिवाद गरेका होलान्’, उनी भन्छन्, ‘तर यसरी बोलेर प्रतिवाद गर्नुभन्दा पनि अब काम गर्नुपर्‍यो। जनताले अनुभूति गर्न सक्ने गरी अवस्थामा परिवर्तन ल्याउनुपर्‍यो। त्यसपछि राजा-राजा भन्नेहरूको कुनै जोर चल्दैन।’ 

राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम राजावादीप्रति गणतन्त्रवादी भन्नेहरू आक्रामक हुनुपर्ने कुनै कारण देख्दैनन्। ‘व्यवस्था कहाँ ढल्नु ! तरै पनि उनीहरू आक्रामक किन हुन्छन्, त्यो मैले बुझेकै छैन। यसलाई उनीहरूले स्वाभाविक रुपमा लिनुपर्थ्यो’, उनी भन्छन्, ‘किन भने आगजनी, तोडफोड र हुलदंगाबाहेक शान्तिपूर्ण ढंगले विचार राख्न पाउने त संविधानले नै दिएको स्पेश हो।’  

राजावादी आन्दोलन कुनै चिन्ताको विषय नै नभएको बुझाइ विश्लेषक गौतमको छ। बरु दलहरू सबै सत्ताको बार्गिनिङमा रहेकाले एउटा प्रतिपक्षीको रुपमा सडकमा असन्तुष्टि प्रकट मात्र भएको उनी ठान्छन्। 

‘नेपालमा अपोजिसन छैन। कसरी भने २०७९ को निर्वाचनपछि सबै पार्टीहरू पालैपाले सरकारमा गएका छन्। एकप्रकारले उनीहरू सत्ताको लेनदेन र बार्गिनिङमा मात्रै छन्। सदनमा वास्तविक अपोजिसन नभइसकेपछि त्यो कुनै न कुनैरूपमा सडकमा देखा पर्छ। त्यो ठाउँ चाहिँ राजावादीले लिएका मात्र हुन्।’

अर्का विश्लेषक डा. विष्णु दाहाल राजावादीमाथि खनिएर गणतन्त्रवादी भन्ने दलहरूले आफ्नो गल्ती ढाकछोप गर्ने कोसिस गरिरहेको ठान्छन्। व्यवस्थाको पक्षमा भाषण गरे पनि यसलाई लोकप्रिय तुल्याउन जनतालाई डेलिभरी दिनेतर्फ भने ध्यान नदिएको उनको बुझाइ छ। 

‘गणन्त्रवादी आफैँ राजातन्त्र त हामीले समानघाटमा पोलेर अस्तु नै माटोमा गाडेको भन्छन् । फेरि त्यहीसँग तर्सिनुपर्ने कुरा के हो भन्दा व्यवस्थालाई लोकप्रिय बनाउन जनतालाई डेलिभरी दिनतिर लागेनन्’, उनी भन्छन्, ‘उनीहरू आफूले गरेको गल्तीलाई स्वीकार गरेर सच्चिएर जान नसक्नाको कारण सडकमा असन्तुष्टि बढे। फेरि त्यसैको विरोध गर्नुमा चाहिँ आफ्नो कमजोरी ढाकछोप गर्दै भावी दिनमा निरन्तर सत्तामा टिकिरहन पाइन्न कि भन्ने चिन्ता देखिन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.