बङ्गलादेश : बङ्गलादेश सरकारका प्रमुख मुहम्मद युनुसले जलविद्युतका क्षेत्रमा सहकार्य आवश्यक भएको बताएका छन्।
बङ्गलादेशमा रहेकी प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानासँग आज ढाकामा भएको भेटमा उनले बङ्गलादेश, नेपाल, भुटान र भारतको उत्तरपूर्वका सात राज्यबीच जलविद्युत्, स्वास्थ्य सेवा र सडक पूर्वाधारमा अन्तरदेशीय सहकार्य आवश्यक भएको बताएका हुन्।
“बङ्गलादेश, नेपाल, भूटान र भारतको उत्तरपूर्वीमा रहेका सातवटा राज्यबीचको एकीकृत आर्थिक योजना आवश्यक छ, यसबाट हामीले छुट्टाछुट्टै भन्दा सँगै भएर धेरै फाइदा लिन सक्छौँ”, उनले भने।
उनाले नेपाल र बङ्गलादेशबीच जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सकिने उल्लेख गरे। गत अक्टोबरमा बङ्गलादेश–नेपाल–भारतमाझ नेपालबाट बङ्गलादेशमा भारतीय ग्रीडमार्फत ४० मेगावाट विद्युत् ल्याउनका लागि त्रिपक्षीय सहमति भएको थियो।
उनले बङ्गलादेशले यस क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तारमा प्रतिबद्धताका साथ काम गरिरहेको पनि उल्लेख गरे।
त्यस अवसरमा उपसभामुख इन्दिरा रानाले विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यका लागि नेपालको इच्छुक रहेको उल्लेख गरिन्। उनले भनिन्, “नेपालका सबै सांसदहरु बङ्गलादेशसँग नजिक रहेर काम गर्न चाहना राख्नुभएको छ, हामी दुई देशबीचमा आर्थिक सहकार्य र नागरिकस्थरमा सम्बन्ध विस्तारमा गम्भीर छौँ।”
उनले हाल बङ्गलादेशका मेडिकल कलेजमा दुई हजार सात सयभन्दा बढी नेपाली विद्यार्थी रहेको उल्लेख गर्दै यहाँको गुणस्तरीय शिक्षाको प्रशंसा गरिन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।