काठमाडौं : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आगामी पुस १५, १६ र १७ गते ‘बायो–रेथा अन्तर्राष्ट्रिय सम्मेलन’ आयोजना गर्ने भएको छ।
गत चैत २५ गते बसेको नगर कार्यपालिकाको बैठकले गरेको निर्णय र विज्ञहरूसँगको सल्लाह सुझावका आधारमा सम्मेलन आयोजना गर्न लागिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए।
कोशी प्रदेशले प्रदेश पर्यटन वर्ष मनाउन गइरहेकाले प्रदेशको कार्ययोजना सफल बनाउँदै पर्यापर्यटनमा टेवा पुर्याउनका लागि ‘जैविक विविधता रेड पान्डा र थार–संरक्षण संवर्द्धन, समृद्धिको आधार’ भन्ने नाराका साथ विश्व सम्मेलन आयोजना गरिने उनको भनाइ छ।
यस्तै सगरमाथा संवादका लागि कोशी प्रदेशबाट दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका छनोट भएको पनि सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले बताए। “देशभरिबाट छनोट भएका ११ वटा स्थानीय तहभित्र हाम्रो नगरपालिका पर्न सफल भएको यही कार्यक्रममार्फत जानकारी गराउन चाहन्छौं”, उनले भने।
नेपालमा पहिलो पटक ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’ र ‘रेड पान्डा तथा थार महोत्सव–२०८२’ सम्पन्न गरी वन, वातावरण र पर्यावरण संरक्षण तथा जलवायु परिवर्तनको असर न्यूनीकरणमा नगरपालिकाले गरेको योगदानलाई आधार लिएर सगरमाथा संवादका लागि छनोट गरिएको पनि उनले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।