|

काठमाडौँ : चिकित्सा शिक्षाका अभियन्ता तथा अनशनकारी डा. गोविन्द केसीले एमबिबिएस तथा बिडिएसमा निजी मेडिकल कलेजमा सिट नबढाउन आग्रह गरेका छन्। 

मंगलबार विज्ञप्ति जारी गर्दै डा. केसीले हालकै सिट संख्या बढाइयो भने पुन अनशन बस्ने बताएका छन्। उनले  भनेका छन्‚ 'एमबिबिएस सिट हालको संख्या भन्दा एक सिट पनि नबढाउन र निजी मेडिकल कलेजबाट श्रम शोषणमा पीडित रेजिडेन्ट डाक्टरहरूको माग सम्बोधन गर्न र विगतमा हामीसँग भएका सम्झौता तुरुन्त कार्यान्वयन गर्न साथै गत चैत ३१ गते जारी गरेको प्रेस विज्ञप्तिमा उल्लिखित पहिलेदेखिका मागहरू शीघ्र पूरा गर्न सरकार समक्ष जोडदार माग गर्दै अन्यथा नेपाल फर्केपश्चात् सत्याग्रह गर्न बाध्य हुने कुरा जानकारी प्रेस विज्ञप्तिमार्फत गराएका थियौं र अहिले पनि सो माग र चेतावनीमा अडिग छौँ। त्यसैले कुनै पनि हालतमा आयोगका अधिकार खोस्ने, एमबिबिएस र बिडिएसका सिट र शुल्क बढाउने जस्ता प्रत्युत्पादक काम नगर्न, हाम्रा माग पूरा गर्न र यसअघि हामीसित भएका सम्झौता कार्यान्वयन गर्न सरकारको फेरि एकपल्ट ध्यानाकर्षण गराउन चाहन्छौं। अन्यथा सत्याग्रह लगायतका आन्दोलन गर्न बाध्य हुने कुरा पुन: जानकारी गराउन चाहन्छौं।'

चिकित्सा शिक्षा आयोगको बैठकले एमबिबिएस तथा बिडिएसको सिट बढाउन एक समिति गठन गरेर प्रक्रिया अगाडि बढाएकोप्रति असन्तुष्टि जनाउँदै सिट नबढाउन भनेका हुन्। 

उनले एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान ऐन वर्षौंदेखि अवधारणामै सीमित राखिएकाले सरकारलाई नयाँ सरकारी प्रतिष्ठान नखोल्ने बहाना बनाएको आरोप समेत लगाएका छन्।

यस्तै कैलालीको गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण सम्पन्न भएको वर्षौं बितिसक्दा पनि सञ्चालन रोकेर राखिएको, इलाम, उदयपुर र डडेल्धुरामा खोलिने भनेको मेडिकल कलेज तथा प्रतिष्ठानको निर्माण कार्य शुरु नगरिएकोप्रति पनि असन्तुष्ट व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.