|

गौर : रौतहट कटहरिया नगरपालिकामा एक युवतीको शंकास्पद मृत्यु भएको छ। विवाह भएको ६ महिनामै आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी २१ वर्षीया सानिया प्रविनको घटनाले दाइजोको नाममा हिंसाको गम्भीर सन्देश दिएको हो।

सानियाको मृत्युपछि माइती पक्षले छोरीको हत्या योजनाबद्ध रूपमा गरिएको र आत्महत्या जस्तो देखाएर अपराध लुकाउने प्रयास गरिएको आरोप लगाइरहेको छ।

सानियाको विवाह करिब ६ महिनाअघि कटहरिया नगरपालिका–५ का अरमान राय भाटसँग मुस्लिम परम्परानुसार धुमधामसँग सम्पन्न भएको थियो। विवाहपछि नै दाइजोको माग र मानसिक र शारीरिक यातना सहनु परेको मृतककी आमा कायमा खातुन बताउँछिन्।

अरमानले मोटरसाइकल र पैसा माग्दै छोरीलाई कुटपिट र मानसिक दबाव दिने गरेको खातुनको भनाइ छ। उनले भनिन्‚ ‘छोरीले फोनमा धेरै पटक रुँदै दाइजो नपुगेको भन्दै ज्वाइँ र उनको परिवारले दुर्व्यवहार गरेको बताएकी थिइन्।’

गत आइतवार दिउँसो सानियाको शव आफ्नै घरको कोठामा साडीको पासो लगाएर सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला परेको थियो। सूचना पाएपछि इलाका प्रहरी कार्यालय कटहरिया र गरुडाबाट आएको संयुक्त प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई प्रादेशिक अस्पताल गौरमा पोष्टमार्टमका लागि पठाएको थियो।

पोष्टमार्टमपछि मृतककी आमा कायमा खातुनले छोरीको शव बुझेर अन्त्येष्टि गरेकी छन्।  घटनाप्रति शंका व्यक्त गर्दै उनले गरुडा प्रहरी कार्यालयमा जाहेरी दिएको जानकारी दिइएको छ। ‘छोरीमाथि अत्याचार भयो। उनीहरूकै हातमा सानियाको ज्यान गयो’, खातुनले पीडा पोख्दै भनिन्‚ ‘हामी यो मुद्दामा निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही र दाइजो हिंसाविरुद्ध सरकारको स्पष्ट सन्देश चाहन्छौं।’

माइती पक्षले अरमान राय भाट र उनका परिवारका सदस्यहरूलाई पक्राउ गर्न माग गर्दै हत्या मुद्दामा कानूनी प्रक्रिया अघि बढाउन प्रहरी समक्ष दबाब दिइरहेका छन्।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीका अनुसार अहिलेसम्म आधिकारिक जाहेरी दर्ता नभए पनि घटना शंकास्पद छ। ‘अनुसन्धान जारी छ। प्रारम्भिक तथ्य संकलन भइरहेका छन्’, उनले भने‚ ‘पोष्टमार्टम रिपोर्ट,  माइती पक्षका भनाइ र घटनास्थलको अवस्था हेरेर मात्रै निष्कर्ष निकाल्न सकिन्छ।’

नेपालको दण्ड संहिता ऐन, २०७४ को दफा १६८ अनुसार विवाहपश्चात् पतिले वा उनको परिवारले दाइजोको नाममा शारीरिक वा मानसिक यातना दिएको प्रमाणित भएमा पाँच वर्षसम्मको कैद सजाय तोकिएको छ। हत्या प्रमाणित भएमा आजीवन कारावास सजाय हुनसक्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.