|

काठमाडौैं : काठमाडौं महानगरपालिका गोदावरी नगरपालिकाको आयोजनामा जारी उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबलको फाइनलमा पुगेको छ। 

गोदावरी-१० टाहाखेलस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा मंगलबार सम्पन्न पहिलो सेमिफाइनलको खेलमा कीर्तिपुर नगरपालिकालाई ३-० ले हराउँदै  काठमाडौंले दोस्रो पटक उपाधी जित्ने अवसर बनाएको छ। 

पहिलो संस्करणमा चन्द्रागिरीलाई हराउँदै काठमाडौंले उपाधी जितेको थियो। आगामी जेठ २ गते हुने फाइनलमा काठमाडौंले गोदावरी नगरपालिका र दक्षिणकाली नगरपालिकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। 

काठमाडौंका लागि खेलका म्यान अफ दि म्याच मनिष सेढाईले २ गोल तथा राज पौडेलले १ गोल गरे। पहिलो हाफको अन्तिमतीर ३ मिनेट सम्हालिन नसक्दा कीर्तिपुरले लगातार २ गोल खायो।

काठमाडौंका लागी खेलको ४५ औँ मिनेटमा  सेढाईले सुरुवाती गोल गरे भने   लगत्तै ईन्जुरी समयमा  पौडेलले  थप गोल गर्दै अग्रता दोब्बर पारे। काठमाडौंका लागि अर्को एक गोल सेढाईले ७९ औं मिनेटमा  गरे।

काठमाडौं समूह बीको विजेताका रुपमा सेमिफाइनलमा पुगेको हो भने कीर्तिपुर समूह डि को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो। काठमाडौंले समूहचरणमा चाँगुनारायणलाई ५–१ गोलले तथा मध्यपुर ठिमी नगरपालिकालाई १–० ले हराएको थियो। 

कीर्तिपुरले समूहचरणमा तारकेश्वरसँग २–२ गोलको बराबरी तथा कोन्ज्योसोम गाउँपालिकाविरुद्ध ३–० को जित निकालेको थियो।

आयोजक गोदावरी र दक्षिणकाली भिड्ने 

गोदावरी मेयर कप फुटबलको अर्को सेमिफाइनलमा आयोजक गोदावरी नगरपालिकाले दक्षिणकाली नगरपालिकासँग बुधबार प्रतिस्पर्धा गर्नेछ। यो खेलको विजेताले जेठ २ गते उपाधीका लागि काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछ।  

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.