|

काठमाडौँ : उत्कृष्ट र उपयुक्त शब्द खेलाउँदै धाराप्रवाहका साथ आकर्षक शैलीमा बोल्न खपिस नेपाली कांग्रेसका दुई महामन्त्री पछिल्लो समय संसद्‌मा देखिएका छैनन्। यसबीचमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, छलफल र पारित भइसक्यो भने विनियोजन विधेयक २०८२ को सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी छ। 

तर यसक्रममा सत्ता साझेदार कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा दुबैको सक्रियता देखिएन। १९ वैशाखमा राष्ट्रपतिबाट सदनमा प्रस्तुत नीति तथा कार्यक्रम सुन्न शर्मा उपस्थित थिए। अर्का महामन्त्री थापा भने नीति तथा कार्यक्रम सुन्न पनि पुगेनन्। 

आफ्नो दल साझेदार रहेको सरकारको नीति तथा कार्यक्रम र विनियोजन विधेयकमाथि महामन्त्रीद्वय शर्मा र थापाले प्रखर रूपमा धारणा राख्लान् भन्ने धेरैलाई लागेको थियो। तर उनीहरू नीति तथा कार्यक्रममाथिको छलफल र पारितको प्रक्रियामा सहभागी भएनन् भने २८ वैशाखमा प्रस्तुत भएको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा पनि सहभागी छैनन्। 

महामन्त्रीद्वय कहाँ के गर्दै छन् ? 

महामन्त्री शर्मा यति वेला सगरमाथा बेसक्याम्प क्षेत्रमा छन्। उनी सदनमा नीति तथा कार्यक्रम प्रस्तुत भएको भोलिपल्ट (वैशाख २० गते) नै हवाईमार्गबाट सोलुखुम्बुको लुक्ला पुगेर त्यहाँबाट पैदल यात्रा गर्दै सगरमाथा बेसक्याम्पतर्फ लागेका हुन्।

सामाजिक सञ्जालबाट शर्मा स्वयंले दिएको जानकारीअनुसार मंगलबार उनी सगरमाथा बेसक्याम्प पुगेर फर्किँदै छन्। उनले केही दिनपछि नियमित जिम्मेवारीमा फर्किने बताएका छन्। 

सगरमाथा बेसक्याम्प प्रस्थान गर्नुअघि शर्मा शिक्षक आन्दोलनको माग सम्बोधन गर्न र गराउन पार्टी पदाधिकारी र सरकारका सम्बन्धित मन्त्रीहरूसँग छलफल, संसद् तथा समिति बैठकहरूमा निरन्तर सक्रिय थिए। 

अर्का महामन्त्री गगन थापा यसबीचमा स्वीजरल्याण्ड र जर्मनीको भ्रमण सकाएर केही दिनअघि फर्किएका छन्। उनी अहिले पार्टीको काममा व्यस्त छन्। 

उनीनिकट नेता अजयबाबु शिवाकोटीले महाधिवेशन, केन्द्रीय समिति बैठकलगायतका तयारीमा महामन्त्री थापा व्यस्त रहेको जानकारी दिए। उनले भने, ‘विदेशबाट फर्किएपछि उहाँ पार्टीकै काममा लाग्नुभएको छ। महाधिवेशनका लागि धेरै काम गर्न/गराउन बाँकी छ। त्यसकारण पार्टीकै महाधिवेशन लक्षित कामहरू, केन्द्रीय समिति बैठकको तयारी यी नै काममा लागिरहनुभएको छ ।’   

अपजस लिनबाट जोगिने प्रयत्न ! 

महामन्त्रीद्वय शर्मा र थापा सरकारसँग जोडिएका विषयमा समन्वय गर्नबाट पनि अलग्गिएका छन्। सरकार सञ्चालनलाई सहज बनाउन भन्दै बनाइएको उच्चस्तरीय राजनीतिक संयन्त्रमा सदस्य रहेका महामन्त्री थापा त बैठकमा समेत जान छाडेका छन्। 

सुरुमा कांग्रेस–एमाले सरकारलाई सफल बनाउन लागिपरेका उनी पछिल्लो समय सरकारको कार्यसम्पादनप्रति सन्तुष्ट छैनन्। सरकार बनेको केही महिनादेखि नै कांग्रेस इतर समूहका नेता शेखर कोइरालाले सरकारको आलोचना गर्दै आएकामा पछिल्लो समय महामन्त्री थापाले पनि खुलेरै सरकारका कतिपय निर्णयको विरोध गरेका छन्। 

खासगरी विद्युत् प्राधिकरण प्रमुखबाट कुलमान घिसिङलाई बर्खास्त गरिएको विषयमा महामन्त्रीद्वय थापा र शर्माले असन्तुष्टि जनाएका थिए। 

सरकारले अपेक्षित गति नलिइरहेका वेला विभिन्न विवादित कदम चाल्नाले झन् आलोचित हुँदै गएपछि महामन्त्रीद्वय सरकारको अपजस लिनबाट जोगिने प्रयत्नमा लागेको भनेर पनि अर्थ्याउन थालिएको छ। कांग्रेस नेताहरू पनि घुमौरो ढंगले यो स्विकार्छन्।  

कांग्रेस नेता मीन विश्वकर्मा उच्चस्तरीय संयन्त्रले दिएको सुझावसमेत कार्यान्वयन नभएपछि महामन्त्रीद्वय सरकारसँग थप असन्तुष्ट बनेको बताउँछन्। उनी भन्छन्, ‘उहाँहरूको भनाइ के छ भने सरकारको कार्यसम्पादन चुस्तदुरुस्त भएन। संयन्त्रले दिएको सुझाव पनि कार्यान्वयन भएन भनेर चित्त दुखाइ छ। त्यही भएरै होला।’

अर्का नेता अजयबाबु शिवाकोटी पनि अब सरकारभन्दा पार्टी प्राथमिकतामा राखेर महामन्त्रीले थापाले काम गर्न थालेको बताउँछन्। उनले भने, ‘सरकारलाई सहयोग गर्ने सन्दर्भमा सरकारको काम जुन गतिका साथ हुनुपर्ने थियो‚ त्यो नभइसकेपछि पार्टीलाई प्राथमिकतामा राखेर काम गरिराख्नुभएको छ।’

देशमा अहिले संसद्का दुई ठूला दलहरू कांग्रेस र एमालेको दुई तिहाइ शक्तिशाली सरकार छ। सामान्यतया संसद्को पहिलो र दोस्रो ठूलो दल एकसाथ सत्तामा नजाने विश्वकै संसदीय मान्यताविपरीत कांग्रेस–एमाले एकसाथ सत्ताको भर्‍याङ उक्लिएका हुन्। 

दुई ठूला दलको मिलनपछि बनेको शक्तिशाली सरकारबाट आमजनताले पनि स्वाभाविक अपेक्षा राखेका थिए भने कांग्रेस–एमाले स्वयंले पनि थुप्रै आश्वासन बाँडेका थिए। तर सरकार गठनको १० महिना बित्दा प्रतिबद्धता र जनअपेक्षानुसार काम हुनु त परको कुरा, उल्टै सरकार आलोचित छ। यस्तो वेला सत्ता साझेदार कांग्रेसका दुई महामन्त्री समन्वयात्मक भूमिकाबाट निष्क्रिय हुँदै आ–आफ्नै सुरमा लागेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.