काठमाडौं : याकोबो रामोनले इन्ज्युरी समयमा निर्णायक गोल गरेपछि रियल म्याड्रिड स्पेनिस ला लिगामा मालोर्कालाई २–१ ले हराएको छ।
रियलको जितले बार्सिलोनालाई ला लिगाको उपाधि जित्न अझै कम्तीमा एक दिन कुर्न पर्ने भएको छ।
हान्सी फ्लिकको टोली बुधवार नखेली च्याम्पियन हुने केहि सेकेन्ड मात्र टाढा थियो। तर बर्नाबेउमा अन्तिम प्रहारजस्तै लागेको गोलले रियलले खेल जित्यो।
बार्सिलोनालाई अब उपाधि जित्न आज इस्पान्योलविरुद्धको खेलमा १ अंक जोडे पुग्छ । मार्टिन भाल्जेन्टले ११ औं मिनेटमा गोल गर्दै मालोर्कालाई अग्रता दिलाए।
घरेलु टोली रियलले खेलमा दबदबा जमाए पनि केहि राम्रा मौका खेर फाल्यो। त्यसपछि ६८ औं मिनेटमा किलियन एमबाप्पेले उत्कृष्ट प्रहारमा गोल गर्दै खेलमा बराबरी गरे।
इन्ज्युरी समयको पाँचौं मिनेटमा कमजोर डिफेन्डिङको फाइदा उठाउँदै रामोनले नजिकैबाट भली गोल गरे र खेल जिताए।
एक खेल कम खेलेको शीर्ष स्थानको बार्सिलोना ८२ अंक छ। दोस्रो स्थानको रियल ४ अंकले पछि छ।
बार्सिलोनाले आइतवार एल क्लासिकोमा रियललाई ४–३ ले हराएपछि ला लिगा जित्ने बलियो आधार बनाएको थियो। रियलमाथि यो सिजन बार्सिलोनाको त्यो चौंथो जित थियो।
प्रशिक्षक कार्लो एन्सेलोटी आफ्नो अन्तिम सिजन रियलमा ठूला उपाधि विना कार्यकाल सक्ने सम्भावना छ।
यो सिजनको अन्त्यसँगै उनी ब्राजिलको मुख्य प्रशिक्षक बन्नेछन्। एन्सेलोटी रियल म्याड्रिडको इतिहासमै सबैभन्दा सफल प्रशिक्षक हुन्। उनले ३ च्याम्पियन्स लिग, २ ला लिगासहित १५ उपाधि जिताएका छन्। उनको अन्तिम उपाधि गत डिसेम्बरमा कतारमा भएको फिफा इन्टरकन्टिनेन्टल कप थियो।
गएराति नै भएका अन्य खेलमा भिल्लारियलले लेगानेसलाई ३–० ले, सेभिल्लाले लस पलमासलाई र अल्भेसले भ्यालेन्सियालाई समान १-० ले हराएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।