|

काठमाडौँ : देशभरका ७५३ स्थानीय तहमध्ये एक मात्रै काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाको बेरुजू शून्य देखिएको छ। महालेखा परीक्षकको कार्यालयले हिजो सार्वजनिक गरेको ६२ औँ वार्षिक तथा आर्थिक वर्ष २०८०।८१ को प्रतिवेदनअनुसार एक मात्रै स्थानीय तह महाभारतको बेरुजु शून्य देखाएको हो।

गत वर्ष पनि महाभारत गाउँपालिकाको बेरुजु शून्य थियो। गत साल महाभारतसहित पाँचवटा स्थानीय तहको शून्य बेरुजु थियो तर यो पटक भने अरूले शून्य बेरुजुलाई कायम राख्न सकेनन्। गत वर्ष ताप्लेजुङको पाथिभरा याङवर गाउँपालिका, पाँचथरको याङवरक गाउँपालिका, धादिङको बेनीघाट रोराङ गाउँपालिका र ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा पनि बेरुजु शून्य थियो।

स्थानीय तह ७५३ र संघ प्रदेशसहित ७६१ सरकार छन्। सबैको बेरुजुको चाङ हुँदा एउटा मात्रै स्थानीय तह जसले दुई वर्ष लगातार बेरुजु शून्य बनाउन सफल भएको हो। गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जनप्रतिनिधि र कर्मचारीको साझा प्रतिबद्धता र निरन्तर प्रयासबाट लगातार दोस्रो वर्ष पनि शून्य बेरुजु बनाउन सफल भएको बताए।

कर्मचारीलाई सार्वजनिक खरिद ऐन, नियमावली, स्थानीय सार्वजनिक ऐनअनुसार चल्न तालिम नै दिएर नियमसंगत ढंगले योजनाबद्ध रूपमा काम गरेको उनले दाबी गरे। अध्यक्ष जिम्बाले दोस्रो कार्यकाल सम्हालिरहेका छन्। उनी पहिलो स्थानीय तहको चुनावमा देशैभरबाट कान्छा अध्यक्षका रूपमा चुनिएका थिए। उनले दोस्रोपटक पनि टिकट पाएर विजयी भएका हुन्। उनी माओवादी केन्द्रका तर्फबाट अध्यक्षमा जितेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.