|

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल नेत्रज्योति संघबीच उपचार सेवा नपुगेका ठाउँमा आँखा उपचार सेवा विस्तार गर्न सम्झौता भएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा मन्त्रालय र संघबीच गरिएको सम्झौतानुसार अब संघले आँखा उपचार उपलब्ध नभएका स्थानमा लक्षित गरेर सहुलियतपूर्ण उपचार सेवा प्रदान गर्नेछ।

आँखा उपचार पहुँच वृद्धि गर्ने मन्त्रालयको नीतिअनुसार संघले संघ प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर कार्यक्रम विस्तार गर्नेछ भने यसका लागि मन्त्रालयले सहजीकरण गर्नेछ।

यसैगरी आधारभूत स्वास्थ्य संस्थामा कार्यरत प्राथमिक आँखा उपचारमा सेवा प्रदान गरिरहेका जनशक्तिको क्षमता वृद्धिका लागि संघले सघाउने भएको छ।

मन्त्रालयले संघका विदेशी आँखा चिकित्सकलाई उपचारमा सहभागी गराउन सहजीकरण गर्नेछ भने छात्रवृत्तिमा अध्ययन गरेका जनशक्तिलाई संघीय तथा प्रादेशिक अस्पतालबाट खटाउन सघाउनेछ।

सम्झौतापछि आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले नेपालको आँखा उपचार सेवा स्तरीय र सुपथ भएको भन्दै नागरिकको पहुँच वृद्धिसँगै स्वास्थ्य उपचार पर्यटन केन्द्रका रूपमा विकास गर्न आँखा उपचार सेवाले भूमिका खेल्ने विश्वास गरे।

'अहिले पनि भारतलगायतका ठाउँबाट आँखा उपचारका लागि ठूलो संख्यामा विदेशी आइरहेका छन्’, उनले भने, 'नागरिकको उपचार पहुँच बढाउँदै नेपालमा स्वास्थ्य उपचार पर्यटन वृद्धि गर्ने योजनामा आँखा उपचार कार्यक्रमले मद्दत गर्ने आशा छ।'

मन्त्री पौडेलले त्यसका लागि सरकारले वातावरण तयार पार्ने प्रतिबद्धता जनाउँदै सम्झौता त्यसैको कडी भएको उल्लेख गरे।

संघका अध्यक्ष प्राडा चेतराज पन्तले सरकारको लक्ष्यअनुसार आँखा उपचार पहुँच बढाउन काम गर्ने भन्दै वातावरणका लागि मन्त्री पौडेलप्रति आभार प्रकट गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.