|

पर्वत : पर्वतको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही जेठको ५-६ गते आयोजना हुने भएको छ।

जिल्ला खेलकुद विकास समितिले जिल्लाका सात वटै स्थानीय तहबीच प्रतिस्पर्धा गराउने गरी जिल्ला स्तरीय प्रतियोगिताको आयोजना गरेको हो। समितिका अध्यक्ष जङ्गबहादुर पुन मगरका अनुसार जेठ ५ गते बिहानैदेखि सदरमुकाम कुश्मास्थित बडागाउँ खेल मैदानमा प्रतियोगिता सुरु हुनेछ।

प्रतियोगितामा १२ कक्षासम्म नियमित रूपमा अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन पाउनेछन्।

प्रतियोगितामा एथ्लेटिक्स खेलतर्फ एकजना विद्यार्थीले ट्र्याक (दौड)तर्फ दुईवटा र फिल्डतर्फ एउटा विधामा वा फिल्डतर्फ दुईवटा विधामा सहभागी भएमा ट्र्याकमा एउटा विधामा खेल्न पाउने नियम राखिएको छ तर ट्र्याक विधामा रिले दौड भने समावेश नगरिएको उनले बताए। कबड्डी खेलका लागि छात्रतर्फ ७० किलोग्राम र छात्रातर्फ ६५ किलोग्रामसम्म खेल्न पाइनेछ।

खेलमा विद्यार्थी सहभागी गराउने स्थानीय तहले आफ्ना खेलाडीको व्यवस्थापन आफैले गर्ने भए पनि दर्ता शुल्कको रूपमा जिल्ला खेलकुद विकास समितिलाई २५ हजार रुपैयाँ बुझाउनुपर्ने भनिएको छ। उक्त रकम नबुझाउने स्थानीय तहका खेलाडीलाई खेलमा समावेश नगरिने समितिको पत्रमा उल्लेख छ।

प्रतियोगितामा छात्रछात्रा भलिबल, छात्रछात्रा कबड्डी, एथ्लेटिक्समा छात्रछात्रातर्फ एक सय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ सय मिटर, एक हजार पाँच सय मिटर र तीन हजार मिटर लामा दौड, रिले, हाई जम्प, लङ जम्प, ट्रिपल जम्प, ज्याभलिङ थ्रो, सट पुट थ्रो, सितेरियो कराँते, तेक्वान्दो विधामा प्रतिस्पर्धा गराइनेछ।

राष्ट्र निर्माण र विकासमा विद्यार्थीको शारीरिक अवस्था विकास गर्न खेलकुदले निकै महत्त्व राख्ने भएकाले नेपाल सरकारले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता वार्षिक कार्यक्रमको रूपमा सञ्चालन गर्ने गरेको अध्यक्ष मगरले बताए।

विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्नका लागि स्थानीय तहहरूले विद्यार्थीलाई प्रतियोगितामा सहभागी गराउने उनको भनाइ छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.