काठमाडौं : केही अघिसम्म ढाड दुख्ने र जोर्नी दुखेर हिँडडुल गर्न गाह्रो हुने समस्यालाई बुढ्यौली उमेरको समस्याको रूपमा बुझिन्थो। पछिल्लो समय युवा उमेरमै यी समस्याले दैनन्दिनमा असर पारेको गुनासो गर्नेको संख्या बढ्दो छ।
हाडजोर्नीका सामान्य समस्यालाई बेवास्ता गरिन्छ। धेरै सताएपछि मात्रै चिकित्सककोमा पुग्ने गरेको देखिन्छ। त्यो वेलासम्म समस्याले गम्भीर रूप लिइसकेको हुन्छ। प्रतयारोपणसम्मको अवस्था आउँछ।
प्रस्तुत छ, हाडजोर्नीका समस्याबाट बच्ने उपायदेखि प्रत्यारोपणसम्मका विषायमा वरिष्ठ अर्थोपेडिक सर्जन डा. चक्रराज पाण्डेसँगको कुराकानी-
अचेल कम उमेरमा नै मानिसहरूमा किन ढाड दुख्ने, जोर्नी दुख्ने समस्या देखिइरहेको छ?
खानपान, शारीरिक निष्कृय जस्ता कारणले कम उमेरमा यो समस्या देखिन थालेको हो। अर्को कुरा हामीले खाने खानेकुरामा पनि हाम्रो हड्डीको लागि आवश्यक पर्ने पर्याप्त मात्रामा पोषक तत्त्व नहुनु पनि कारण हो। किनभने ‘बोन हेल्थ’का लागि भिटामिन बी १२ अत्यावश्यक मानिन्छ जुन, मासुजन्य खानेकुरामा पर्याप्त हुन्छ। तर अहिले बजारमा पाइने कुखुराकाे मासुमा पोषक तत्त्व अत्यन्त कम हुने पाइएको छ। हामीले खाइरहेका अन्य कतिपय खानेकुरामा पनि पाइने पोषक पाइँदैन। यसले गर्दा मुख्य त हाम्रो दैनिक जीवनशैली हो भने अर्को खान नजानेर कतिपय खाइएका खानेकुरामा पाइने पोषक तत्त्व नपाइने हुँदा पनि कम उमेरबाटै हाडसमम्बन्धी समस्या देखिन थालेको हो।
धेरै तौल भएका (मोटा) लाई हाडजोर्नीको समस्या हुन्छ भनिन्छ, के यो साँचो हो?
मोटोपनले हाडजोर्नी मात्रै हैन अन्य धेरै प्रकारका स्वास्थ्य जोखिम बढाउँछ। हाडजोर्नीको दृष्टिले पनि सकभर तौल बढ्नै दिनु हुँदैन। कोशिस गर्दागर्दै पनि तौल नियन्त्रणमा छैन भने नियमित शारीरिक अभ्यास गर्नु पर्यो। शरीरलाई सक्रिय राख्नु पर्यो। सबैभन्दा महत्त्वपूर्ण कुरा मांसपेशी बलियो बनाउन पर्यो। मसल बलियो भयो भने हड्डी पनि स्वस्थ हुन धेरै सहयोग हुन्छ।
जंक फूड धेरै खाने र धेरै हिल भएको जुत्ता लगाउनेलाई पनि हाडजोर्नीसम्बन्धी समस्या देखिन्छ भनिन्छ, यो कुरा सही हो?
जंक फूड तत्कालका लागि मिठो होला, हाम्रो शरीरलाई आवश्यक पर्ने पोषक तत्त्व कम हुन्छ। धेरै जंक फूड सेवनले हाम्रो समेत कमजोर बनाउँछ
अर्को कुरा हिल भएको जुत्ता लगाउदा हाडमा असर गर्ने कुरा छ। यो पनि केही हदमा ठिक छ। किन भने धेरै अग्लो जुत्ता लगाएर हिँड्दा यसको बोझ हाम्रो ढाडमा पर्छ र ढाड दुख्ने समस्या हुनसक्छ। तर यो भन्दैमा हिल जुत्ता लगाउदै हुँदैन भन्ने होइन सबैलाई हिल जुत्ता लगाउँदा असर गर्छ भन्ने हुँदैन कसको शरीरको ‘मोटाबोलिजम’ कस्तो छ भन्नेमा भर पर्छ। तर कहिलेकाहीँ हिल जुत्ता लगाउँदा त्यति फरक नपर्ने भए पनि लामो समय नलगाएको राम्रो।
सामान्यदेखि जटिल प्रकारको हाड र जोर्नीसम्बन्धी समस्या आउन नदिन कस्ता उपाय अपनाउनु पर्छ?
हो, यो एकदमै महत्त्वपूर्ण कुरा हो। किन भने हामी स्वास्थ्यमा समस्या आएपछि मात्रै धेरै ख्याल गर्ने गर्छौँ। तर शुरुमा समस्या आउनै नदिने उपायहरू कम अपनाउछौँ। अब आयो हाडजोर्नीको समस्या। हाडजोर्नीको समस्या यस्तो खालको स्वास्थ्य समस्या हो हामीले हाम्रो जीवनशैली, खानपान, नियमित शारीरिक अभ्यासलाई ध्यान दिन सकियो भने धेरै खालका हाडजोर्नीको समस्यालाई रोक्न सक्छौँ।
जंक फूड खानु हुँदैन। एकै पोजिसनमा बसेर लामो समय मोबाइल,कम्युटर चलाउनु हुँदैन। हामीले हाम्रै भान्छामा पाइने सबै प्रकारका प्राकृतिक खानेकुरा खानु पर्यो। यसमा पनि बोन बलियो बनाउन सहयोग पुर्याउने खानेकुरा भटमास र यसबाट बनेका तोफु, माछामासु,अण्डा जस्ता खानेकुरा खान सकिन्छ। यस्तै खानामा नियमितरूपमा क्याल्सियमयुक्त पदार्थ पनि समावेश गर्नुपर्छ। शरीरमा भिटामिन डीपनि कम हुनु दिनु हुँदैन।
नियमित शारिरिक एक्सरसाइज गर्ने र पर्याप्त मात्रामा हिँड्ने पनि गर्नुपर्छ।
हाडजोर्नीको समस्या भएकाहरूले कस्तो वेलामा जोर्नी प्रत्यारोपण नै गर्ने पर्ने अवस्था निम्तन्छ?
हात, घुँडा, चलाउन नै नसक्ने र दैनन्दिनमा धेरै नै असर गर्न थाल्यो भने यस्तो अवस्था यसको प्रत्यारोपण गर्नुपर्ने अवस्था आउन सक्छ। तर हामीले धेरै बिरामीलाई जोर्नी प्रत्यारोपणमा जानुअघि धेरै प्रकारका विकल्पका उपचार,फिजियोथेरापी वा एक्सरसाइज गर्न लगाएर पनि हेर्ने गरेका छौँ।
तर बढ्दो उमेरसँगै जोर्नी खिइने र बिग्रने, चोटपटक लागेर जोर्नी फुट्ने अवस्थामा जोर्नी प्रत्यारोपण गर्नुपर्छ।
हात र पाखुराको बिच भाग, हिप ज्वइन्ट, घुँडा सबै जोर्नी हुन्। प्राय: जोर्नीको प्रत्यारोपण भने हिप र घुँडाको गरिन्छ। मैले हप्तामा ७/८ वटासम्म हिप/जोर्नी प्रत्यारोपण गर्ने गरेको छु।
जोर्नी प्रत्यारोपण गर्न कति शुल्क लाग्छ?
हिप/जोर्नी प्रत्यारोपण विशिष्टिकृत सेवाको पनि अझै विशिष्टिकृत सेवा हो। तर हामीले सर्वसुलभ शुल्कमै बिरामीलाई सेवा दिन्छौँ। प्रत्यारोपणको लागि आवश्यक पर्ने उपकरणदेखि सबै गरेर एउटा जोर्नी प्रत्यारोपण गर्न हाम्रोमा ५ देखि ६ लाख रुपैयाँ लाग्छ।
एकपटक प्रत्यारोपण गरेको जोर्नीले कति समयसम्म काम गर्छ?
सामान्यतया जोर्नी प्रत्यारोपण गरेपछि त्यसले २० वर्षसम्म काम गर्छ।
त्यसपछि पनि प्रत्यारोपण गरिएको जोर्नीमा समस्या आए फेरि प्रत्यारोपण गर्न सकिन्छ। हाल मैले हप्तामा ७/८ वटा सम्म हिप/जोर्नी प्रत्यारोपण गर्ने गरेको छु। यसमा केही बिरामीको एकै समयमा दुवै घुँडाको जोर्नी प्रत्यारोपण समेत हुने गरेको छ। सामान्यतया एउटा जोर्नी प्रत्यारोपण गर्न एक देखी डेढ घण्टा लाग्छ। एकदुई दिनमै बिरामी सामान्य हिँडडुल गर्न सक्षम हुन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।