काठमाडौं : स्तरोन्नतिको काम जारी रहेको साँगा–धुलिखेल सडकखण्ड पानी परेसँगै हिलाम्मे भएको छ।
अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्ड ६ लेनमा विस्तार भइरहेको छ। सूर्यविनायक–साँगा र साँगा–धुलिखेल गरी दुई खण्डमा सडक विस्तार भइरहेकामा गए राति परेको पानीका कारण साँगा क्षेत्रको सडक हिलाम्मे भएको हो।
भक्तपुर–काभ्रेपलाञ्चोक हुँदै पूर्व जोड्ने सूर्यविनायक–धुलिखेल सडकखण्ड ६ लेनमा विस्तार गर्न थालेको डेढ वर्ष भयो।
२०७९ मंसिरमा निर्माण सुरु भएको आयोजना ३६ महिनामा अर्थात् आगामी चैतसम्म सक्नुपर्ने सम्झौता छ। तर, आधा समय घर्किँदासम्म भौतिक प्रगति भने ४० प्रतिशत मात्रै हुँदा समयमै आयोजना नसकिने निश्चितप्रायः भएको छ।
अरनिको राजमार्गअन्तर्गतको सडकखण्डमा कामको गति सुस्त हुँदा धुलो र हिलोले सर्वसाधारणको यात्रा भने कष्टपूर्ण बनिरहेको छ।
आठ अर्ब ५२ करोड लागतमा सुरु भएको आयोजनामा दुई अर्ब ४० करोडभन्दा धेरै खर्च भइसकेको छ।
सूर्यविनायकदेखि धुलिखेलसम्म १५ दशमलव ८ किलोमिटर सडकखण्ड दुई सर्भिस लेन र चार मेन लेनसहित ६ लेनको बनाउने ठेक्का सम्झौता छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।