हेटौंडा : बागमती प्रदेशसभाको बजेट अधिवेशनको दोस्रो दिनको बैठकमा सांसदहरूले आर्जनमूलक नीति बनाउन सुझाव दिएका छन्। मंगलवार बैठकमा सांसदहरुले जनताको खल्तीमा पैसा जाने खालका आय आर्जनमूलक कार्यक्रम र समानुपातिक बजेट वितरण गर्न सरकारलाई सुझाव दिएका हुन्।
बैठकमा बोल्दै सांसद इन्द्रबहादुर बानियाँले आर्थिक तनावका कारण जनताले पीडा र आक्रोश पोखेको आय आर्जनसँग जोड्ने खालका नीति ल्याउन प्रदेश सरकारलाई सुझाव दिए।
‘हिँड्ने बाटो धेरै बनिसकेको छ। पानी खान सबैले पाइसकेका छन्। अहिल मूल आक्रोशको कुरा खल्तीमा नोट नहुनु हो’, सांसद बानियाँले भने, ‘त्यसकारण आयआर्जनमा जोड्ने खालका नीति तथा कार्यक्रम ल्याउन म सरकारलाई आग्रह गर्दछु।’
सांसद बानियाँले निजी क्षेत्रलाई प्रशस्त अवसर दिने पुँजीको विकास गर्नुपर्ने बताए। उनले १०-१५ लाखका टुक्रे योजना स्थानीय तहलाई कार्यान्वयन गर्न सुझाव दिँदै दिगो विकासका लागि योजना ल्याउन आग्रह गरे।
सांसद तारा नारायण श्रेष्ठले पहुँचवाला मन्त्रीहरूले मात्रै आफ्नो जिल्लामा बजेट लाने गरेको आरोप लगाए। सांसद वसन्त मानन्धरले सरकार बजेटको तयारीमा रहेको बताउँदै दलहरूबीच सहमति गरेर बजेट निर्माण गर्न आग्रह गरे।
बैठकमा कुमारी तामाङले जनताको जीवन स्तरमा परिवर्तन ल्याउन नसकेको बताउँदै बागमती प्रदेशको समग्र विकासमा सरकार प्रभावकारी ढंगबाट अगाडि बढ्न आग्रह गरिन्।
सांसद सुरेन्द्रराज गोसाँईले प्रदेश सरकार विदेशीको मात्रे भर नपरी आफ्नै खुट्टामा उभिन सक्ने गरी काम गर्न सुझाव दिए। डा.दिनेशचन्द्र देवकोटाले नमुनायोग्य काम गर्न दुई ठूला दलबाट बनेको सरकारलाई सुझाव दिए।
बैठकमा सांसद युवराज दुलालले प्रतिपक्षीको धर्म निर्वाह गर्न सरकारको विरोध नगरेको दाबी गरे। त्यसैगरी मायादेवी शर्माले स्थानीय आवश्यकतानुसार पूर्वाधार, खानेपानी, सिँचाइ, पर्यटन प्रवर्धन तथा तटबन्धजस्ता परियोजनालाई बजेट प्राथमिकता दिनुपर्ने माग गरिन्।
बैठकमा मुख्यन्त्री बहादुरसिंह लामाले मुख्य न्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन २०८०।८१ सभामा पेश गरेका थिए। प्रदेशसभाको अर्को बैठक बुधवार ११ बजे बस्नेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।