|

दाङ :  तुलसीपुरको गहतेखोला, भमके, शान्तिनगर हुँदै बबई गाउँपालिका जोड्ने माथिल्लो सडकमा पर्ने भमके खोला, पातेटाकुरा र बौहाला खोलामा पुल नहुँदा नागरिकहरूले निकै समस्या भोग्दै आएका थिए।

तर, यस पटक ति खोलाहरूमा पुल निर्माण कार्य भइरहेको र भमके खोलामा पुल निर्माण सम्पन्न भएपछि स्थानीयहरू खुसी भएका छन्। तुलसीपुर उपमहानगरपालिका १ भमकेका माधव भुसालले पहिला भमके खोलामा पुल नहुँदा निकै सास्ती भोग्नु परेको भन्दै यस पटक पुल बनेपछि धेरै खुसी लागेको बताए।

उनले भने,‘पहिला खोलामा पुल नहुँदा मान्छे, मोटरसाइकल, अटोहरूलाई खोलाले बगाएको थियो। यो सडकमा यात्रा गर्नेले निकै समस्या भोग्नु परेको थियो। तर, अब त्यो समस्या हटेको छ।’

यस्तै उनले आफूले कल्पना गरेको भन्दा छिटो पुल बनेको भन्दै खुसी व्यक्त गरे। अहिले पनि धेरै ठाउँमा पुलहरू अलपत्र अवस्थामा रहेका छन्, तर, यो खोलामा यति छिट्टो पुल बन्यो, आफूले नसोचेको भएको समेत उनको भनाइ छ। यस्तै यही सडकमा विगत एक वर्षदेखि अटो चलाउँदै आएका आत्माराम बस्यालले पनि भमके खोलामा पुल बन्दा आफूहरू जस्ता चालकलाई धेरै सहज भएको बताए।  उनले भने,‘यि खहरे खोलाहरूमा पुल नहुँदा बर्खाको समय निकै जोखिम मोलेर खोला पार गर्नु पर्ने बाध्यता रहेको थियो। अब त्यो समस्या अन्त्य हुने भयो।’

यस्तै उनले खोलाहरूमा पुल बने पनि सडक जीर्ण हुँदा आफूहरूले सास्ती पाउने गरेको बताए। उनका अनुसार यो सडक बन्न लागेको छ। तर, अहिलेसम्म गहतेखोलादेखि भमकेसम्म मात्र चौडा बनाइएको छ। अरु केही काम भएको छैन, सडक जीर्ण हुँदा निकै समस्या हुने गरेको छ।

भमके खोला र बौलाहा खोलाको पुल निर्माणको जिम्मा शारदा श्री निर्माण सेवा तुलसीपुर दाङले पाएको थियो।

लुम्बिनी प्रदेश सरकारको आयोजना अन्तर्गत यि दुई खोलामा पुल निर्माणको लागि ४ करोड २५ लाख २७ हजार ८९३ रुपैयाँ २०८१ साल जेठ २४ गते सम्झौता भइ २०८२ पुस १५ गते निर्माण सम्पन्न गर्ने सम्झौता रहेको थियो।

तर भमके खोलाको मल्टिसेल बक्स कल्भर्ट ( पक्की पुल ) तोकिएको समय भन्दा अगाडि नै सम्पन्न भएको कम्पनीका प्रतिनिधि वीर बहादुर बुढाथोकीले बताए। उनका अनुसार भमके खोलामा पुल निर्माण सम्पन्न भएर बौलाहा खोलामा पनि निर्माण कार्य भइरहेको छ।

 यो खोलामा पनि असार महिनाभित्र गाडी सञ्चालन गर्ने गरी तयारीका साथ निर्माण भइरहेको उनको भनाइ छ। यस्तै उनले पुल निर्माणको लागि सहज वातावरण हुँदा पनि तोकिएको समय भन्दा अगाडि सम्पन्न हुन लागेको हो।

यि खोलाहरूमा पुल बन्दा स्थानीयहरु खुसी भएका छन्, भने तुलसीपुरको गहतेखोला देखि शान्तिनगर हुँदै खिलतपुरसम्म १९ किलोमिटर दूरी रहेको सडकको अवस्था नाजुक रहेको छ। जसमा यात्रुहरूले निकै सास्ती भोग्दै आएका छन्।

यो सडक निर्माणको जिम्मा पनि शारदा श्री निर्माण सेवा पाएको भएयता पनि पर्याप्त मात्रामा बजेट नआउँदा समस्या भएको बुढाथोकीले बताए। उनले भने,‘ यो सडकको स्तरोन्नतिको हामीलाई नै टेन्डर परेको छ। यो बहुवर्षीय योजनामा परेको छ। यस वर्ष जम्मा डेढ करोड बजेट आएको छ। यो सडक बनाउन करिब १७/१८ करोड लाग्ने अनुमान छ। अहिलेसम्म हामीले जसोतसो काम गर्दै आएका छौँ। ’


यस्तै उनले यो सडक निर्माणको लागि २ वर्षसम्म समय रहेको हुँदा बजेट पर्याप्त मात्रामा आए आफूहरूले समय भित्र काम सक्ने लक्ष्य रहेको भन्दै सबै कुरा बजेटमा भर पर्ने समेत बताए। यो सडक अन्तर्गत पातेटाकुरा खोलामा पनि पुल निर्माणको काम भइरहेको छ। प्रेमा कन्स्ट्रक्सन र सप्लायर्स प्रालिले ४ करोड १० लाख ४४ हजार २६ रुपैयाँ रकममा सम्झौता भइ काम शुरु गरेको छ।

२०८३ सालसम्म सम्पन्न गर्न लक्ष्य रहेको भएयता पनि प्राविधिक कारणले काम गर्न ढिलाइ भइरहेको कम्पनीका प्रतिनिधि सुरज राईले बताए।

 निर्माण कम्पनीले करिब ४ महिनादेखि काम शुरु गरेको छ भने २०८३ असार १२ गते सम्पन्न गर्नु पर्ने सम्झौता रहेको छ। उनका अनुसार आफूहरूलाई पाइलिङ गर्न निकै कठिनाइ परेको छ। पाइलिङ गर्ने ठाउँमा कडा ढुङ्गाहरूको हुँदा समस्या भइरहेको छ।

 उनले भने,‘पानीको भागदेखि २२ मिटर गहिरो गराउनु पर्ने छ। तर, कडा ढुँगा नै ढुँगा हुँदा सोचे जस्तो काम अगाडि बढ्न सकेको छैन । मेसिनहरू फुट्ने, बिग्रिने गरेको छ।’

दुई साइटमा ८/८ वटा पाइलिङ गर्नु पर्ने रहेको भन्दै उनले भमके खोलामा जस्तो डिजाइनमा निर्माण गर्नु परेको भए, छिट्टै निर्माण भइसक्ने समेत बताए। त्यो खोलामा भन्दा यो खोलाको पुल फरक डिजाइनको हुँदा समय लाग्ने समेत बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.