दाङ : सामुदायिक विद्यालयमा पढाउने शिक्षक आफ्नो छोराछोरी संस्थागत विद्यालयमा पढाउने हुँदा सामुदायिक विद्यालयको शिक्षा राम्रो नहुने आरोप लागि रहेको अवस्थामा भने दाङको तुलसीपुर उपमहानगरपालिका ६ स्थित माध्यमिक विद्यालय तुलसीपुर सेन्टरमा भने विद्यालय व्यवस्थापन समिति, शिक्षक, कर्मचारीहरूले गत वर्षदेखि नै अनिवार्य रुपमा आफ्ना छोराछोरी भर्ना गरेर पढाउन थालेका छन्। जसले गर्दा विद्यालय प्रति हेर्ने दृष्टिकोण नै फरक रहेको छ।
गत वर्ष विद्यालयले एउटा निर्णय गरेर यस विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी र समितिमा रहेका सबैले आफ्ना छोराछोरी यसै विद्यालयमा भर्ना गर्ने निर्णय गरेको थियो। सरकारी विद्यालयमा पठनपाठन राम्रो हुँदैन, भन्ने आम अभिभावकमा बुझाइ रहेको अवस्थामा आफूले गत वर्षदेखि आफ्नो छोरालाई यही विद्यालयमा भर्ना गरेको विद्यालयकी शिक्षिका मेनका भण्डारीले बताइन्।
उनले भनिन्,‘ मैले यहाँ पढाउन लागेको ८ वर्ष भयो। गत शैक्षिक सत्रदेखि मैले मेरो बाबुलाई यस विद्यालयमा भर्ना गरे। आम अभिभावकमा सरकारी विद्यालयमा पठन पाठन राम्रो हुँदैन, भन्ने बुझाइ रहेको छ। त्यो कुरालाई चिर्नको लागि पनि हामी यस विद्यालयमा कार्यरत सबै शिक्षकहरूले आफ्ना छोराछोरी भर्ना गरेको हौँ।’ यस्तै उनले यहाँका शैक्षिक गुणस्तर, यहाँको व्यवस्थापन पक्ष, अतिरिक्त क्रियाकलापहरू निजी विद्यालय भन्दा कम नभएको समेत बताइन्।
शिक्षकहरूले मात्र नभइ विद्यालयमा राम्रो शिक्षा भएपछि अन्य निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरू पनि यस विद्यालयमा भर्ना भएका छन्। निजी विद्यालय जस्तै राम्रो सेवा सुविधा भएपछि आफ्ना भाइबहिनीलाई यसै विद्यालयमा भर्ना गरेको कक्षा १० मा अध्ययनरत विद्यार्थी पुनम गुप्ताले बताइन्। उनका अनुसार आफ्ना भाइबहिनीहरू नजिकै रहेको निजी विद्यालयमा कक्षा ४ सम्म पढेको र यही शैक्षिक सत्रदेखि यस विद्यालयमा भर्ना भएका हुन्।
यस्तै उनले यो वर्षको शैक्षिकसत्रको पढाइ शुरु हुँदा केही समय सरहरूको आन्दोलनले विद्यालयहरू नखुल्दा आफूलाई अब के गर्ने भन्ने अन्यौलता छाएको समय केही समयपछि विद्यालय सञ्चालन हुँदा खुशी लागेको बताइन्।
सामुदायिक विद्यालयप्रति रहेको भ्रम चिर्नको लागि नै आफूहरूले गत वर्ष २०८१ को शैक्षिकसत्रदेखि यो निर्णय गरेको विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले बताए। यो निर्णय कार्यान्वयन गर्न शुरुमा केही चुनौती रहेको भएयता पनि सबैले साथ दिएको उनको भनाइ छ। यस विद्यालयमा आफ्ना छोराछोरी भर्ना नगरेको खण्डमा अर्को विद्यालयमा जान सक्ने विकल्प दिएको र २ जना शिक्षकहरूले राजिनामा दिएको उनको भनाइ छ।
उनले भने, सामुदायिक विद्यालयका शिक्षकहरूलाई आफ्नो छोराछोरी निजी विद्यालयमा पढाउने ? आफूहरूले चाहिँ सरकारी विद्यालयमा पढाउने र आफ्नो विद्यालयको पढाइ प्रति आफूहरूलाई विश्वास छैन्, भन्ने आम अभिभावकको बुझाईलाई चिर्न हामीले यो निर्णय गरेका थियौँ।’ यस्तै उनले चालु शैक्षिक सत्रमा शिशु कक्षादेखि कक्षा १० सम्म एक हजार ६ सय विद्यार्थीहरू भर्ना भएको भन्दै शिक्षक महासङ्घको आन्दोलनले विद्यार्थी कम भर्ना भएको समेत बताए।
उनले भने,‘ विद्यालयमा भर्ना हुने समयमा विद्यालय बन्द रहेको थियो। यस शैक्षिक सत्रमा विभिन्न विद्यालयबाट भर्ना हुन आउनेको संख्या९ सय बढीले नाम टिपाएको भएयता पनि ५२५ जना विद्यार्थी भर्ना भएका छन्। यदि सबै विद्यार्थी आएको भएपनि हामीलाई ठाउँको समस्या हुन्थ्यो।’ यस्तै उनले आफ्नो विद्यालय पछिल्लो समय अभिभावकको रोजाइमा पर्न थालेको भन्दै भर्ना हुन आउने विद्यार्थीहरूलाई परीक्षा गराएर मात्र भर्ना गर्ने गरेको समेत बताए।
उनका अनुसार गत वैशाख २ गतेदेखि भर्ना अभियान सञ्चालन गर्न पाएको भए निजी विद्यालयबाट धेरै विद्यार्थीहरू भर्ना हुन आउने थिए। विद्यालयको अहिलेको पूर्वाधारले शिशुदेखि कक्षा १० सम्म करिब १७ ÷ १८ सय जना मात्र विद्यार्थीहरू थेग्न सक्ने उनको भनाइ छ। अहिले पनि विद्यार्थीहरू भर्ना हुने क्रम जारी रहेको समेत उनले बताए। उनका अनुसार विद्यालयमा विभिन्न प्राविधिक धारको पढाइ भइरहेको हुँदा विभिन्न जिल्लाबाट पनि विद्यार्थीहरू पढ्न आउने गरेका छन्।
विद्यालयको एउटा आफ्नो बस रहेको र तुलसीपुर वरपर करिब ५ किलोमिटर दूरीबाट विद्यार्थीहरू पढ्न आउने गरेको उनको भनाइ छ। यस्तै सामुदायिक विद्यालयतर्फ देश कै प्रथम भएर पुरस्कार पाएको हुँदा पनि पछिल्लो समय सबैको रोजाइमा विद्यालय पर्न गइरहेको भन्दै थप संरचनाको आवश्यक भएको समेत बताए। विद्यालयमा नेपाली र अङ्ग्रेजी माध्यमबाट पढाइ हुने उनको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।