दाङ : तुलसीपुर उपमहानगरपालिका १२ स्थित टरिगाउँ एयरपोर्टको स्तरोन्नतिको लागि संसद्मा पनि सांसदहरूले र अन्य विभिन्न राजनीतिज्ञहरूले पनि यसको विकासको लागि यस पटक बजेटको माग गरिरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको यस विमानस्थलको लागि यस पटक बजेटको व्यवस्था हुने आश्वासन दिएको अवस्थामा अझै पनि तुलसीपुरका नागरिकहरू ढुक्कको अवस्थामा नरहेको बताउँछन्।
पटक पटक चुनावी मुद्दा मात्र बनाउने र बजेट विनियोजनको बेला पनि आश्वासन दिँदै आइरहेको अवस्थामा आर्थिक वर्ष २०८२ / ८३ को बजेटमा यस विमानस्थलको विकासका लागि बजेटको व्यवस्थापन हुनेका शङ्का रहेको स्थानीयहरूको भनाइ छ । टरिगाउँ विमानस्थललाई नेपाल सरकारले यस पटक बजेटको सुनिश्चितता गर्ने आश्वासन दिएको अवस्थामा केही आफूहरू विश्वास लागेको भएयता पनि प्रत्येक वर्ष बजेट ल्याउने समयमा यस्तै कुराहरू आउने र बजेट नआउँदा अझै यसै भन्ने अवस्था नरहेको तुलसीपुर व्यवसाय गर्दै आएको विमल गौतमले बताए।
उनले यो एकदमै महत्वपूर्ण एयरपोर्ट रहेको भन्दै यसको विकास हुन जरुरी रहेको बताए। यो एयरपोर्टको स्तरोन्नति भइ ठूला जहाज सञ्चालन हुन सकेमा दाङ मात्र नभइ पहाडी जिल्लाहरू सल्यान, रोल्पा, रुकुम लगायत नागरिकहरूलाई पनि सहज हुने बताए। यस्तै उनले अहिले नेपाल एयरलाइन्सको साना जहाज आउने गरेको भन्दै त्यो पनि नियमित नहुँदा यात्रुहरू नेपालगन्ज वा भैरहवा जानु पर्ने बाध्यता रहेको समेत बताए।
उनले यहाँ यात्रुहरूको चाप निकै रहने भन्दै हवाई सेवा नियमित हुन जरुरी रहेको र त्यसका लागि नेपाल सरकारले यस पटक बजेटको सुनिश्चितता गर्न पर्ने समेत बताए। यस्तै अर्का प्राध्यापक सूर्य शर्माले टरिगाउँ विमानस्थलको विकास भएर ठूला जहाजहरू सञ्चालन हुन सकेमा यहाँको विकास हुने समेत बताए। हवाई सेवा नियमित भएमात्र यहाँ चहलपहल बढ्ने र यहाँको पर्यटन विकास पनि हुने बताए।
उनले पनि यस पटक प्रधानमन्त्री देखि सांसदहरूले संसदमा बोलेको भन्दै यस पटक बजेट आउनेमा आफूलाई विश्वास लागेको बताए। यस्तै अर्का स्थानीय पारेश्वर भट्टराईले यो विमानस्थलको विकास र नियमित हवाई सेवा नहुँदा दाङका नागरिकहरूले निकै समस्या पाइरहेको बताए। उनले भने,‘ प्रत्येक वर्षको बजेटमा यो विमानस्थल समावेश हुन्छ। तर, अहिलेसम्म कार्यान्वयन भएको छैनन्। यो एयरपोर्टको विस्तार भएर राम्रो हवाई सेवा भएमा यहाँका नागरिकहरू स्वास्थ्यदेखि अन्य सबै सेवाहरू सहज रुपमा पाउने थिए।’
यस्तै उनले यहाँबाट नियमित हवाई सेवा नहुँदा यहाँका नागरिकहरू नेपालगन्ज वा भैरहवा जानु पर्ने बाध्यता रहेको र त्यहाँसम्म जानको लागि गाडी प्रयोग गर्नु पर्दा धेरै दुख र महँगो भाडा पर्ने समेत बताए। २०११ सालमा स्थापना भएको विमानस्थल सधैँ चुनावी नारामा मात्र प्रयोग हुँदा जिल्लाबाट नेतृत्व गर्ने नेताहरूले अपनत्व लिन नसक्दा यो अवस्था रहेको समेत उनको भनाइ छ।
उनले भने,‘ हामीले यहाँबाट सङ्घमा जिताएर पठाएका नेताहरूबाट जुन अपेक्षा गरेका थियौँ। तर, त्यो अहिलेसम्म पुरा भएको छैन । यस पटकको बजेट पर्ने कुरा आएको छ। प्रधानमन्त्री देखि अन्य नेताहरूले पनि कुरा गरेको अनुसार केही आस लागेको छ। तर, बजेट पर्छ वा पर्दैन, त्यो पछि नै थाहा होला।’
जेठ १५ पछि मात्र थाहा हुन्छ : अध्यक्ष केसी
तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनिल केसीले यस विमानस्थलको विकासका लागि निजी क्षेत्रले लामो समयदेखि आवाज उठाउँदै आइरहेको बताए। उनले यहाँ जिल्लामा आउने सबै नेताहरूलाई यसको बारेमा ज्ञापनपत्र बुझाउने देखि ध्यानाकर्षण गराउँदै आइरहेको समेत बताए।
उनले भने,‘यस पटक पनि हामीले दाङ आउनु भएका प्रधानमन्त्री केपी शर्मा ओली देखि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि यो विमानस्थलको बारेमा ध्यानाकर्षण गराएका छौँ।’
उनका अनुसार यस पटक यो एयरपोर्ट विकासको सबै नेताहरूले बहस चलाइरहेको अवस्थामा यस पटक बजेटमा सम्बोधन हुन्छ, भन्ने आश हामीलाई लागेको छ। यस्तै उनले पहिलो चरणमा करिब एक अर्ब बजेट विनियोजन हुन सक्यो भने पनि जग्गा अधिग्रहणको काम अगाडि बढाएर एयरपोर्टको धावन मार्ग विस्तार गर्न सकिने समेत बताए। यस्तै उनले जेठ १५ गते बजेट आउने लागेको हुँदा त्यसले यस एयरपोर्टको लागि कसरी सम्बोधन गर्छ, त्यो त्यस पछि मात्र थाहा हुने पनि बताए।
यसपटक केही आश छ : पूर्वअध्यक्ष रिजाल
तुलसीपुर उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष विमल रिजालका अनुसार झण्डै २० / २२ वर्षदेखि यो विमानस्थलको विकासका लागि आफूहरू कुरा उठाउँदै आइरहेको भएयता पनि अहिलेसम्म त्यो सम्बोधन भएको छैन्। यो विमानस्थल विकास गर्ने कुरा दँगाली जनताको सपना भएयता पनि पटक पटक विकास हुन्छ, भनेर धोका दिने काम भइरहेको अवस्थामा अझै पनि के हो ? भन्ने अवस्था रहेको उनले बताए।
यस्तै उनले पनि यस पटक सबैले कुरा उठाएको अवस्थामा यो पटकको बजेटमा सम्बोधन हुने आश आफूहरूलाई लागेको समेत बताए।
यसैगरी उनले अहिले उत्तर दक्षिणमा साढे ७ सय मिटर धावन मार्ग रहेको हुँदा प्रविधि आधारमा पूर्वपश्चिम वा उत्तर दक्षिण जता बनाए पनि हुने भन्दै सबै भन्दा पहिला बजेटको सुनिश्चितता हुन जरुरी रहेको समेत बताए। यो विमानस्थलमा ठूला जहाज बस्न नसक्ने र साना जहाजले नियमित सेवा दिन नसक्दा यहाँका नागरिकहरूले धेरै समस्या भोग्दै आइरहेको उनको भनाइ ।
उनले भने,‘लुम्बिनी प्रदेशको राजधानी रहेको दाङ जिल्ला रहेको विमानस्थल यस्तो हुनु निकै दुखद कुरा हो। हावा पानी र मौसमको कुराले पनि उपयुक्त जिल्लामा अन्तराष्ट्रिय स्तरको विमानस्थल हुनु पर्ने हो ? तर, वर्षाैदेखि दँगाली जनताको माग र सपना अहिलेसम्म पुरा भएको छैन।’
विमानस्थलको विकास नहुँदा अन्य विकासले पनि यो ठाउँ पछाडि परेको उनको भनाइ छ। उनले यस क्षेत्रको लाइफ लाइनमा रहेको विमानस्थलको विकास नहुँदा यहाँको शिक्षा, स्वास्थ्य, व्यवसाय लगायत क्षेत्रमा असर पारेको समेत बताए।
उनका अनुसार यो विमानस्थल विकास गरेर ठूला ७२ सिटको जहाज सञ्चालन गर्न सकेमा दाङको विकासमा महत्वपूर्ण भूमिका खेल्छ। २०११ सालदेखि २०४२ सालसम्म ठूला जहाजहरूले यहाँबाट नियमित हवाई सेवा दिएको आफूहरूले जानकारी पाएको भन्दै उनले अहिले यो अवस्थामा हुनु दुखद कुरा भएको समेत बताए।
उनले भने,‘२०४२ सालपछि सडक सञ्जालमा जोडिएपछि मात्र यो विमानस्थल ओझेलमा परेको हो। २०८२ देखि करिब २०५८ सालसम्म यो पूर्ण रुपमा बन्द भएको थियो। २०६० देखि २०६६ सालसम्म निजी क्षेत्रको पहलमा नेपाल एयरलाइन्सले निरन्तर सेवा दिएको थियो।’
उनका अनुसार २०६६ सालमा धावनमार्ग कालोपत्रे हुँदा सेवा बन्द भएको थियो। त्यसपछि २०७१/७२ देखि पुर्न सञ्चालनमा आएको थियो। त्यसपछि नेपाल एयरलाइन्सले सेवा दिन नसकेपछि तुलसीपुर उद्योग वाणिज्य सङ्घको पहलमा निजी एयरलाइन्स समिट एयरसँग सम्झौता गरेर करिब ९ महिना सेवा दिएको समेत उनले बताए।
हवाई सेवा सञ्चालन भइरहेको विमानस्थलमा बजेट राख्न सजिलो हुन्छ, भन्ने कुरा आएपछि समिटसँग ३ महिनाको सम्झौता गरेर ९ महिनासम्म सेवा दिँदा पनि बजेट नपरेको उनको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।