हेटौंडा : बागमती प्रदेश सरकारले जेठ १४ गते नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ। सभामुख भुवनकुमार पाठकले १४ गते सोमवार नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरिने जानकारी दिए।
१४ गते बुधबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाद्वारा आर्थिक वर्ष २०८२।०८३ वार्षिक नीति तथा कार्यक्रम सम्बोधन हुने सभामुख पाठकले जानकारी दिए।
उक्त दिन निर्धारित समयभन्दा ३० मिनेटअगावै सांसदहरूलाई औपचारिक पोशाकमा उपस्थित भइसक्न सभामुख पाठकले आग्रह गरेका छन्।
अर्थमन्त्री कुन्दनराज काफ्लेले संविधान प्रदत्त अधिकार संघीय सरकार र प्रदेश सरकारको आवधिक योजना र दिगो विकासका लक्ष्य प्राप्तिलाई महत्वपूर्ण आधारको रूपमा लिई आगामी आर्थिक वर्ष विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तय गरेको दाबी गरे।
काफ्लेले प्रदेशभित्र स्वदेशी तथा विदेशी लगानीलाई प्रोत्साहन गर्ने गरी बजेट तर्जुमा गर्नुका साथै उत्पादन उत्पादकत्व वृद्धि र आर्थिक तथा सामाजिक पूर्वाधारको विकास निजी क्षेत्रको भूमिकालाई जोड दिँदै सार्वजनिक निजी साझेदारीका आधारमा कार्यक्रम सञ्चालन गरिने बताए।
उनले रणनीतिक महत्वको सडक, विपद् जोखिम न्यूनीकरण, कृषि क्षेत्रको व्यवसायीकरणलाई जोड दिने गरी बजेट तर्जुमा गरिने प्रतिबद्धता व्यक्त गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।