दाङ : दाङका विभिन्न वन क्षेत्रमा सात वयस्क बाघ फेला परेका छन्।
डिभिजन वन कार्यालय घोराहीको संयोजकत्वमा डिभिजन वन कार्यालय देउखुरी, लमहीको समन्वय र सहकार्यमा मध्य तराई भू–परिधि क्षेत्रमा पर्ने जिल्लाका वन क्षेत्रमा बाघ अनुगमनका लागि क्यामरा राखिएका थिए।
एक भाले, दुई पोथी र चार लिङ्ग पहिचान नभएका वयस्क बाघ भेटिएको डिभिजन वन कार्यालय दाङका वन अधिकृत वेसीन्द्रराज सुवेदीले जानकारी दिए।
ती तस्वीर विभिन्न २३ स्थानमा जडान गरिएका क्यामेरामा कैद गरिएका हुन्। सर्वेक्षण कार्य वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन निर्देशनालयको मार्गदर्शनमा गत वर्ष मङ्सिर २४ गतेदेखि माघ ४ गतेसम्म सञ्चालन गरिएका थिए।
चालिस दिनसम्म दुई किलोमिटर लम्बाइ र दुई किलोमिटर चौडाइ भएका एक सय नौ वटा ग्रिडमा क्यामेरा जडान गरी चार सय ३६ वर्ग किलोमिटर वन क्षेत्रको निगरानी गरिएको वन अधिकृत सुवेदीले जानकारी दिए।
उक्त अध्ययन क्षेत्रले दाङ जिल्लाभित्र रहेका चार स्थानीय तह, घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र दङ्गीशरण गाउँपालिकाभित्रका वन क्षेत्रलाई समेटेको थियो।
सर्वेक्षणमा डिभिजन वन कार्यालयका आठ कर्मचारी, आठ स्थानीय नागरिक तथा १६ अनुसन्धानकर्ता सम्मिलित आठ टोली बनाइएको थियो।
हाल सङ्कलित तथ्याङ्कको विश्लेषण कार्य जारी छ भने विस्तृत प्रतिवेदन केही समयपछि सार्वजनिक गरिने जनाइएको छ।
यससँगै, मध्ये तराई भूपरिधि क्षेत्रभित्र सञ्चालनमा रहेको तीन वर्षे जैविक विविधता सर्वेक्षण पूरा भएको छ।
दाङ, अर्घाखाँची र कपिलवस्तु जिल्लाका चार वटा डिभिजन वन कार्यालयको समन्वयमा सम्पन्न उक्त अध्ययनमा हालसम्म जम्मा १० वयस्क बाघ अभिलेख गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।