|

पर्वत : दुई वर्ष अगाडि सडकमा गुड्दै गरेको जिप नै बगाएर तीन जनाको मृत्यु भएको पुष्पलाल मध्य पहाडी लोक मार्गको कुश्मास्थित तमादी खोलामा पक्की पुल निर्माण भएको छ।

कुश्मा नगरपालिका–७ र ८ को सिमानामा तमादी खोलामा बर्षेनी गेगर सहितको बाढी आउने क्रम बढ्दै गइरहेको थियो। सवारीहरू जोखिम मोलेरै खोलामा हाल्दा सामान्य दुर्घटनाहरू हुने तथा सवारीहरू गेगरमा फस्ने गरेका थिए। तर २०८० सालको असोज १३ गते साँझ आएको बाढीले बागलुङबाट पोखराका लागि छुटेको जिप बाढीसँगै खोलामा बगेको थियो।

गुड्दै गरेको जिप ओट लागेर रोकिएपछि चालक जिपबाट झरेर अवरोध हटाउन खोज्दै थिए। त्यही बेलामा एक्कासि बाढी आएर जिप बगाएको थियो भने चालक दौडिएर सुरक्षित स्थलमा गई ज्यान जोगाएका थिए। उक्त घटनापछि तमादी खोलामा पक्की पुल निर्माण हुनुपर्ने नागरिकको माग तीव्र बनेको थियो।
अहिले पुल निर्माणको काम सकेर सोही पुलबाट सवारीहरू चल्न थालेपछि उक्त सडकमा यात्रा गर्ने यात्रुहरूको भय हटेको छ भने सवारीहरू पनि ढुक्कका साथ सञ्चालन भइरहेका छन्। मनसुन देशभर फैलिएर वर्षा सुरु हुन लागेकै बेलामा पुलबाट सवारीहरू सञ्चालन गर्न पाउँदा विगतको घटना तमादीमा नदोहोरिने भएको छ।

पुष्पलाल मध्य पहाडी लोकमार्गकी प्रोजेक्ट म्यानेजर इन्जिनियर कल्पना मिश्रका अनुसार २०७९ साल असोज २७ मा पुल निर्माणको लागि सम्झौता भएको थियो। बीचमा दुई पटक म्याद थप गरेर २०८२ जेठ १८ सम्ममा पुलको निर्माण कार्य पूरा गर्ने सम्झौता निर्माण कम्पनी सिद्ध बाबा निर्माण सेवा स्याङ्जासँग भएको थियो। तमादी खोलामा रहेको जोखिमलाई घटाउनकै लागि पनि थपिएको समयभित्र पुल निर्माणको लागि लोक मार्ग आयोजना र निर्माण कम्पनी प्रतिबद्ध रहेका थिए।
निर्माण कम्पनीसँग पाँच करोड ९६ लाखमा पुल निर्माणको सम्झौता भएको थियो।

अहिले पुलका लागि निर्माण भएका संरचनाहरूको नाप जाँचको काम चलिरहेकाले यसमा केही रकम घटबढ हुन सक्ने इन्जिनियर मिश्रले बताइन्। पुलको लम्बाई २६ मिटर मात्रै रहेकोले यसलाई आर.सी.सी टी बीम प्रबधिमा निर्माण गरिएको छ। लामा पुलहरू निर्माण गर्दा अन्य आधुनिक शैलीमा निर्माण हुने गरेका भए पनि तमादीको पुल छोटो भएकाले परम्परागत पुरानो प्रविधिमा निर्माण गरिएको उनको भनाइ छ।

कम्पनीले तोकिएकै समयमा आफ्नो काम पूरा गर्दा अब बर्खाको समयमा हुन सक्ने सम्भावित दुर्घटनाहरूको जोखिम टरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक बलबहादुर गुरुङले तमादी खोलामा आउने बाढी र गेगरका कारण सडक अवरुद्ध हुने तथा दुर्घटना हुने जोखिम नरहेको बताए। बाढी र गेगर झर्ने गरेको खोलाको भागबाट पुल केही टाढा रहेकोले बाढी आए पनि पुलबाट निर्बाध रूपमा यातायात सञ्चालन हुन सक्ने उनको भनाइ छ। गुड्दै गरेका सवारीहरू कति बेला बग्ने हुन भन्ने जोखिमले सवारी चालक र यात्रुहरूमा ठुलो चिन्ता थियो। अब तमादीको बाढीको बारेमा चिन्ता गर्नु नपर्ने भएकोले आफूहरूलाई पनि सुरक्षित अनुभव भएको सवारीका चालकहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.