|

काठमाडौँ : साताव्यापी चीन भ्रमणबाट फर्किएलत्तै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो देश दौडाहाको क्रमलाई निरन्तरता दिएकी छन्। सक्रिय राजनीतिमा ‘कमब्याक’ गर्ने तयारीमा रहेकी उनले १० जेठदेखि १९ गतेसम्म चीनको अर्थपूर्ण भ्रमण गरेकी थिइन्। 

त्यसको चार दिनमै भण्डारी पूर्वतिर लागिन्। उनले २३ जेठमा विराटनगरमा उपमेयर तथा उपाध्यक्षहरूको राष्ट्रिय भेलालाई सम्बोधन गरिन्। भोलिपल्ट २४ गते उनी प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापा पुगिन्। 

एमाले पूर्व उपाध्यक्षसमेत रहेकी भण्डारीले झापाको बिर्तामोडमा एमालेकै ब्यानरमा आयोजित कार्यक्रमलाई मुख्य वक्ताका रूपमा सम्बोधन गरिन्। यो राष्ट्रपतिको कार्यकाल सकाएपछि उनले सम्बोधन गरेको पार्टीको ब्यानरमा आयोजित दोस्रो कार्यक्रम हो।

यसअघि एमालेकै अखिल नेपाल महिला संघले गरेको कार्यक्रमलाई प्रमुख वक्ताकै रूपमा सम्बोधन गरेकी थिइन्, जहाँ एमाले अध्यक्ष ओली विशेष वक्ता थिए। 

अझ महत्त्वपूर्ण त एमालेमा ओलीबाहेक अरू नेताको तस्वीर ब्यानरमा राख्न समेत वर्जित छ। २०८० भदौ १ मा अन्तरपार्टी निर्देशिका–८ जारी गरी एमालेले ओलीको मात्र तस्वीर ब्यानरमा प्रयोग गर्न मातहतको कमिटीलाई निर्देशन दिएको थियो। 

तर झापा बिर्तामोडको कार्यक्रममा ओली नभई स्वयं भण्डारी एमालेको ब्यानरमा देखिइन्। 

त्यसपछि भण्डारीले पूर्वमै थप दुई दिन बिताइन्। त्यसबीचमा उनी मदन भण्डारीको घर इटहरा पुगेर पार्टीका नेता–कार्यकर्ताहरूसँग भेटवार्ता गरिन्। मंगलबार बिहान उनी काठमाडौँ फर्किएकी छन्। 

एमालेमा दुईपटक उपाध्यक्ष बनिसकेकी पूर्वराष्ट्रपति भण्डारीको यो गतिविधिले मात्र होइन, उनका अभिव्यक्तिहरूले पनि उनी सक्रिय राजनीतिमा फर्कने कुरामा दुईमत नरहेको बुझ्न कठिन छैन। 

त्यसो त भण्डारीले सक्रिय राजनीतिमा फर्कने सन्देश राष्ट्रपति हुँदै दिएकी थिइन्। ११ कात्तिक २०७२ देखि २९ फागुन २०७९ सम्म निरन्तर दुई कार्यकाल पदमा रहेकी उनी शीतलनिवासबाट बाहिरिँदै गर्दा सरकारी सुविधाको निवासमा बसिनन्। पूर्वराष्ट्रपतिले पाउने अन्य केही सेवासुविधा पनि नलिएर उनले सक्रिय राजनीतिको प्रष्ट सन्देश दिइन् । 

राजनीतिक गतिविधि भने १४ असार २०८० मा मदन भण्डारी फाउण्डेशनको ब्यानरमा थालेकी थिइन् । त्यसयता फाउण्डेशनको ब्यानरमा धेरैजसो गतिविधि गर्दै आइन्। उनीनिकट नेताहरूले आगामी महाधिवेशनबाटै नेतृत्व फेर्ने गरी उनलाई सक्रिय बनाउन खोजिरहेका छन्।

तर ११ वर्षदेखि एमाले नेतृत्वमा रहेका ओली भने पूर्वराष्ट्रपति भण्डारी आफ्नो बाटोमा तगारो बन्ने भयले उनलाई सक्रिय राजनीतिबाट रोक्न चाहन्छन्। भण्डारीले सक्रियता बढाएसँगै उनीमाथि ओलीले ‘धारे हात’ लाउँदै आएका छन्। 

कतिसम्म भने भण्डारीलाई एमाले अध्यक्ष बनाउनुपर्ने पक्षमा रहेका नेताहरूलाई समेत कारबाही गर्ने चेतावनी ओलीले दिने गरेका छन्। पछिल्लो पटक २५ जेठमा मात्रै ओलीले पूर्वराष्ट्रपति भण्डारी लक्षित सार्वजनिक अभिव्यक्ति दिए।

अनेरास्ववियुको २४औं सम्मेलन उद्घाटन गर्दै ओलीले नयाँ नेतृत्वको छलफल थालेर एमालेलाई कमजोर पार्ने खेल सुरु भएको बताए। ‘पार्टीमा कुनै छलफल नै भएको छैन, को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष, अहिले महाधिवेशन घोषणै भएको छैन’ उनले भने, ‘अनि बाहिर हल्ला चलाएर पार्टीलाई कमजोर पार्न, पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्ने यस्ता दुष्प्रयास सोझै इन्कार गर्नुस् ।’

तर पार्टीमै आफ्नो पक्षमा माहोल बन्दै गइरहेका वेला चीनले थप ऊर्जा भरेपछि भण्डारी ओलीसँग पछि नहट्ने मनस्थितिमा देखिएकी छन्। मंगलबार काठमाडौँ फर्किनुअघि विराटनगरमा पत्रकारहरूसँग उनले पत्रकारमार्फत ओलीलाई जवाफ फर्काइन्। 

'हामीले सुन्यौं, गुटबन्दी भइरहेको छ, को कोले के के गरे, हामीले पनि हेरिराखेका छौं भन्ने जस्ता कुरा आइरहेका छन्' भन्ने पत्रकारहरूकाे जिज्ञासामा भण्डारीले भनिन्, ‘नेकपा एमालेका वर्तमान अध्यक्ष केपी शर्मा ओलीले मलाई नै तोकेर भन्नुभयो भन्ने मलाई लाग्दैन, म पहिलेदेखि नै मूलधारको राजनीतिमा लागेकी मान्छे मलाई गुटबन्दी गर्‍यो भन्न उहाँले मिल्दैन।'

' उहाँ(ओली)को भनाइ त तपाईँले जानकारी गराएर मात्र हिँड्नुपर्छ भन्ने जस्तो बुझिन्छ। नगराएर हिँड्नुभएको हो ?' भन्ने पत्रकारको प्रश्नमा भण्डारीले आफूले अनुमति लिइरहनु नपर्ने बताइन्।    

'म देशको राष्ट्रपति भइसकेको मान्छे, पार्टीगत हिसाबले भन्ने हो भने पनि मैले संगठित सदस्यता लिनुभन्दा अगाडिदेखि नै पार्टीमा काम गरेको, चिनजान ठूलै छ। समाजका अरू क्षेत्रहरूमा पनि चिनजान हुन्छ। देशको परिचित व्यक्ति भएको नाताले मलाई कार्यक्रममा बोलाउनु स्वाभाविकै हुन्छ। त्यसकारण मैले पनि समाजसँग पनि साक्षात्कार भेटघाट गर्दै गर्नुपर्‍यो', उनकाे भनाइ छ, '​के छ जनताको विचार आकांक्षा, नयाँ पुस्ता के चाहन्छन् ? राष्ट्रिय आकांक्षालाई साकार गर्न हामी लाग्नुपर्छ, त्यो हाम्रो परम कर्तव्य हो। बाँचुन्जेल हामीले संघर्ष गर्नुपर्छ नयाँ पुस्ताको लागि र देशको लागि। त्यस हिसाबले म देशभित्र घुमफिर गर्न नेकपा एमालेका कमिटीहरू र नेताहरूसँग मैले अनुमति लिइरहनु पर्दैन ।' 

उमेर हदको बहस : ओलीमाथिको अर्को चुनौती

एमालेमा नेतृत्वसँगै अब उमेर हदको बहस पनि चर्किने देखिएको छ। जुन अध्यक्ष ओलीका लागि अर्को चुनौती हो। 

वि.सं. २०६५ मा बुटवलमा सम्पन्न एमालेको आठौं महाधिवेशनमा एउटै कार्यकारी पदमा दुई पटकभन्दा बढी निर्वाचित हुन नपाउने व्यवस्था गरेको थियो भने २०७१ मा काठमाडौँमा भएको नवौँ महाधिवेशनले ७० वर्ष प्रावधान ल्याएको थियो।

तर २०७८ साल असोजमा ललितपुरको गोदावरीमा भएको एमालेको पहिलो विधान महाधिवेशनले ओली अनुकूल हुने गरी त्यसलाई संशोधन गर्‍यो। ७० वर्ष पुग्नुअघि निर्वाचित कार्यकारीको हकमा त्यस्तो व्यवस्था लागू नहुने गरी व्याख्या गरेको थियो। 

त्यसै वर्षको मंसिरमा चितवनको सौराहा भएको एमाले दशौँ महाधिवेशनले ओलीलाई अध्यक्षमा दोस्रोपटक निर्वाचित गरेको थियो। पछि २०८० जेठमा बसेको एमाले सचिवालय बैठकले ७० वर्षे उमेर हदलाई पूरै खारेज गर्‍यो। 

अहिले एमाले अध्यक्षमा तेहरिने दाउ हेरिरहेका ओली उमेर हदको विपक्षमा कट्टर भएर उभिएका छन्। अनेरास्ववियुको राष्ट्रिय सम्मेलन उद्घाटनमै २५ जेठमा उनले उमेर हदको विषय फेल खाइसकेको जिकिर गरे। ‘७० वर्षे उमेर त फेल खाइसक्यो’, उनले भने ‘अहिले म ७४ चल्दै छु, ७० मा रिटायर्ड हुने भन्ने कुरा फेल खाएन ? चार वर्ष घटाउन भएन क्यारे !’

अझ अगाडि बढेर ओलीले चीन र साइप्रसका कम्युनिष्ट पार्टीहरूको उदारण दिए। ‘कार्यक्षमता मुख्य कुरा हो’, उनले भने, ‘चीनमा महासचिव र राष्ट्रपति दुईपटक मात्र हुन पाउने नियम थियो। सी चिनफिङ नेतृत्वको आवश्यकता देखेपछि ६५ पनि हुँदैन, ७० पनि हुँदैन। उहाँहरूले ६५ वर्षे लगाउनुभएको थियो। अहिले ७२ वर्ष पुगिसक्नुभयो सी चिनफिङ। साइप्रसको कम्युनिष्ट पार्टीले ६५ वर्ष तोकेको थियो, छोड्यो ।’  

तर यसमा सार्वजनिक रूपमै अहिले नेताहरूले प्रतिवाद थालेका छन्। आइतबार एक टेलिभिजन अन्तरवार्तामा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीभित्र ७० वर्षे उमेर हदको पक्षमा मत राखे। 

उनले भनेका छन्, ‘हाम्रो पार्टीको विगतको महाधिवेशनले दुई कुरा नेतृत्वको बारेमा गरेको छ। एउटा कुरा– उमेरको सीमा तय गरेको छ, ७० वर्ष । अर्को– लगातार दुईपटकभन्दा बढी कार्यकारी नहुने, डिस्कन्टिन्यू हुनुपर्छ भन्ने प्रावधान छ। 

तर एकीकृत समाजवादी सहितका केही पार्टीबाट आउने नेताहरूका लागि भनेर अन्तरिम कालका निम्ति ७० वर्षे सीमा हटाइएको पोखरेलको भनाइ छ। अब आगामी विधान महाधिवेशनबाट त्यो कुरा टुंगो लाग्ने उनले बताएका छन्। 

यद्यपि, आफू भने उमेर हदको व्यवस्था कायमै राख्ने पक्षमा रहेको पोखरेलले बताएका छन्। ‘दुई कार्यकालपछि डिस्कन्टिन्यू हुनपर्छ भन्ने हामीले लामै छलफल गरेर तय गरेको विषय थियो। त्यसलाई निरन्तरता दिनुपर्छ भन्ने पक्षमा छु म चाहिँ’, उनले भनेका छन्।

वरिष्ठ उपाध्यक्ष पोखरेलको यो तर्क भर्खर ६५ वर्ष टेक्न लागेकी पूर्वराष्ट्रपति भण्डारीका लागि हो भन्ने बुझ्न कठिन छैन। किन कि उनी स्वयं पनि ७१ वर्ष पुगिसकेका छन्। 

पोखरेलले अन्तरवार्तामा खुलेरै भण्डारीका लागि राजनीतिमा फर्कन केहीले नरोक्ने तर्कसमेत गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.