|

काठमाडौं : 'अबको गन्तव्य मानव बेचबिखनको अन्त्य' भन्‍ने मूल नाराका साथ मानव बेचबिखन तथा ओसारपसार विरुद्धको ११औं राष्ट्रिय दिवस मंगलबार देशभर मनाइएको छ। यसै क्रममा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको आयोजनामा काठमाडौंको भृकुटीमण्डपदेखि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानसम्म प्रभातफेरी आयोगना गरियो।

प्रभातफेरी सकिएपछि उक्त कार्यक्रम कोण समारोहमा परिणत भएको थियो। मूल समारोहमा प्रमुख अतिथि सभामुख ओनसरी घर्तीले विगतमा मानव बेचविखनको मुख्य स्रोत भनेर चिनिएको नेपाल अहिले 'ट्रान्जिट प्वाइन्ट' का रुपमा विकसिम भइरहेको बताइन्। मानव बेचबिखन तथा ओसारपसार मानवता विरोधी गम्भिर अपराध भएकाले यसका विरुद्ध सबैजना एकजुट भएर जनचेतना जगाउनुपर्ने उनले बताइन्।

संविधान कार्यान्वयनका लागि ३ तहको चुनाव बेलैमा सम्पन्न गर्नुपर्ने दायित्व सबैको काँधमा रहेको उनको भनाइ छ। सभामुख घर्तीले राजनीतिक स्थिरताका लागि संविधानले देखाए बमोजिम अगाडि बढ्नुपर्ने बताइन्।

कार्यक्रमकी अध्यक्ष महिला बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइरालाले खुला सिमानाका कारण वर्षौअघिदेखि नेपालबाट भारत हुँदै महिला तथा बालबालिकाको बेचबिखन हुने गरेको बताइन्। उनले केही वर्ष यता नेपालका आन्तरिक बजार र वैदेशिक रोजगारीका लागि हुने श्रम आप्रवासनले बेचबिखनको स्वरुप थप फराकिलो बनाएको चिन्ता प्रकट गरिन्। उनले समय सापेक्ष जटिलता थपिएका जटिलता न्युनिकरणका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताइन्। सरकारको एक्लो प्रयसशले मात्र बेचबिखनको समस्या समाधान हुन नसक्ने उनको दाबी छ।

चेतनाको अभाव, गरिबी, समाजमा विद्यमान असमानता, विभेद, शोषण, दुर्व्यवहार र बेरोजगारीका मानव बेचबिखन तथा असारपसारका प्रमुख कारक तत्व रहेको उनको भनाइ छ।

पीडित तथा प्रभावितलाई सम्मानपूर्ण जीवनयापनका लागि उपयुक्त वातावरण सिर्जना गर्न सरकारका साथै नागरिक समाज र सबै सरोकारवालाहरु हातेमालो गरेर अगाडि बढ्नुपर्ने मन्त्री कोइरालाको भनाइ छ।

राज्यमन्त्री जाकिर हुसैनले नेपालमात्रै नभएर दक्षिण एशियामै मानव बेचबिखन तथा ओसारपसारको समस्या भयावह रहेको बताए। उनले यो समस्या समाधान गर्न जनचेतना जगाउने र दलाललाई कारबाही गर्नुपर्ने धारणा राखे। मन्त्रालयका सचिव खगराज बरालले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दलाललाई समुल नष्ट गर्नका लागि सरकार प्रतिबद्ध रहेको बताए। 

नौजनालाई पुरस्कार र सम्मान

सोही अवसरमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले मानब बेचबिखन तथा ओसारपसार विरुद्धको क्षेत्रमा उत्कृष्ट काम गरेका ६ जनालाई पुरस्कृत तथा ३ जनालाई सम्मान गरेको छ। पुरस्कृत हुनेहरुमा महिला, बालबालिका कार्यालय रौतहटका महिला विकास  अधिकृत सावित्रा न्यौपाने, जिल्ला प्रहरी कार्यालय कंचनपुरकी प्रहरी जवान सपना ऐरी, हिमालय टाइम्स दैनिक पत्रिकाकी रमा लुइँटेल, कान्तिपुर एफ एमकी पार्वता चौधरी, शक्ति मिलन समाज, सुकेधाराकी एचआइभी संक्रमित नातीसरा राइ र शान्ति पुनर्स्थापना गृह ललितपुर ठेँचो छन्। 

त्यसैगरी, सम्मानित हुनेहरुमा महिला तथा बालबालिका कार्यालय मकवानपुरकी महिला विकास निरीक्षक दुर्गा घिमिरे, अस्मिता नेपाल मकवानपुर हेटौंडाकी आरती पाठक र साथी संस्था नख्खु ललितपुर रहेका छन्।

शक्ति समुहको गीति नाटक प्रस्तुत

आफन्त नै फकाउँथे, कतै थियो जर्बजस्ती
रहर, बाध्यता, विश्वासले भो जीवनमा सास्ती

खचाखच मानिसहरुले भरिएको हलमा गीतका यीनै हरफ गुन्जिँदा उपस्थित सबै दर्शक भावुक देखिएका थिए। बेचिएकी चेलीको पीडालाई गीतमा उतारिएको थियो र यही गीतमा कालो कपडा लगाएका ५ किशोरीहरुले नृत्य प्रस्तुत गरेका थिए।

शक्ति समूहका यी किशोरीहरुको प्रस्तुती हेरिसकेपछि  कमलादीस्थित प्रज्ञाभवनको सभाहलमा उपस्थित सहभागी मात्रै नभएर प्रमुख अतिथि सभामुख ओनसरी घर्ती र कार्यक्रमकी अध्यक्ष महिला, बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइराला लगायत सबै आँखा रसाएको थियो।

हेर्नुहोस भिडियोः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.