पर्वत : आकाशमा बादल उठ्दै गएपछि जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारीकी सविता नेपालीको मन चिसो हुन्छ। वर्षा हुने सम्भावना देखियो भने ‘कतै २०५० सालको घटना दोहोरिने हो की?’ भन्ने चिन्ता उनलाई छ। ३२ वर्ष अगाडि उनको परिवारमा १२ जना सदस्य थिए। भाउजू सुत्केरी भएकोले सबिताका दाइ भाउजूलाई कुर्ने गरी एउटा कोठामा सुतेका थिए। घरका अरू सदस्यहरू सबै अरू अरू कोठामा भुईँमा सुतेका थिए।
‘प्रि मनसुन’ को बेला थियो, त्यो दिनको मौसम सफा नै थियो। तर राती हलुका वर्षासँगै कल्पना नै नभएको चट्याङ घरमा प¥यो। सविताका दाइको त मृत्यु नै भयो भने अरू ११ जना घाइते भए। घरको धुरीदेखि भित्तासम्म नै चर्किएको, रातभर गुहार माग्दै रोएको, परिवारमा आर्थिक समस्या भएको जस्ता कुराहरू बुबा, आमा र दिदीबाट उनले धेरै पटक सुनेकी छिन्। त्यो बेलामा आफू एक कक्षामा अध्ययनरत भएको भएकोले सबै कुरा आफैले देखेको त उनले सम्झेकी छैनन्। तर ८९ वर्षीय बुबाले घटनाको फेहरिस्त सुनाउँदा अहिले पनि उनका आँखाबाट आँसु झरिहाल्छन्।
परिवार उनै स्वर्गीय दाजुको भरमा थियो। उनैले गरेको श्रमको आधारमा घरमा चुलो बल्थ्यो। त्यही दाजुलाई चट्याङ लागेर निधन भएपछि परिवारमा दुःखका दिन सुरु भए। बिस्तारै सविताको घुँडाको हड्डीमा समस्या देखिँदै गयो। हड्डीको क्यान्सर भएको पत्ता लागेपछि उनको एउटा खुट्टाको घुँडाभन्दा तलको भाग काटिएको छ। वैशाखीको भरमा उनको दैनिकी चलिरहेको छ। केही वर्ष अगाडि आमाको निधन भएपछि अपाङ्गता भएको शरीरले दुःख गरेर वृद्ध बुबाको भोक मेटाउनु उनको कर्तव्य बनेको छ।
चट्याङबाट भोगेको पीडा फेरि पनि आफ्नो परिवार र अरू कसैले पनि भोग्न नपरोस् भन्ने सबिताको चाहना छ। चट्याङबाट जोगिन ‘के–के पूर्व सावधानीहरू अपनाउनुपर्छ?’ भन्नेमा उनले निकै चासो राख्छिन्। आफूले जानेका कुरा आफ्नो समुदायमा पनि सुनाएर सकेसम्म सबैलाई सुरक्षित राख्ने उनको प्रयास छ।
आकाश गर्जिएको र चम्किएको बेलामा सबै जना सुरक्षित अवस्थामा बस्नुपर्ने उनको सुझाव छ। आकाश गर्जिएको बेलामा धातुजन्य वस्तुहरू कोदाली, हँसिया, बाउसो, लगायतका वस्तुहरू चलाउन नहुने, घर बाहिर आउन नहुने, विद्युत् जडान भएका घरमा ‘मिटर बक्स’ वा बिजुलीका ‘प्लक’ हरूको नजिक बस्न नहुने उनले बताइन्।
बरु आकाश चम्किएको बेलामा विद्युतका ‘मिटर बक्स’ हरू बन्द गरेर राख्दा विद्युत् लाइन नै सुरक्षित हुने आफूले सिकेको सविताको सुझाव छ।
चट्याङ प्रायः अग्लो रुख, बिजुलीका खम्बा, अग्ला डाँडा जस्ता अग्ला वस्तुहरूमा पर्ने भएकोले त्यस्ता अग्ला वस्तुको आडमा रहन नहुने उनले सुनाइन्। सुरक्षित रहन घरभित्र बसेको बेलामा पनि झ्याल ढोका बन्द गर्ने, पानी नचलाउने तथा खाली खुट्टा जमिनमा टेक्न नहुने सबिताले अहिले जानेकी छिन्।
आकाशले चट्याङको सङ्केत दिएको बेलामा कामको लोभले खेतबारीमा गएर जबरजस्ती काम नगर्न उनले सुझाइन्। अलिकति भए पनि काम गरिहाल्छु भनेर जोखिम मोल्दा जीवन नै सकिने भएकोले आकाश गर्जिएको बिजुली चम्किएको बेलामा खेतबारीमा काम गर्न वा खुल्ला ठाउँमा बस्न नहुने उनको भनाइ छ।
‘मोबाइल’, ‘ल्यापटप’, ‘कम्प्युटर’, लगायतका बिजुलीबाट चल्ने सामग्रीहरूमा पनि चट्याङको ‘करेन्ट’ प्रवाह हुने भएकोले ती वस्तुहरूलाई पनि बन्द अवस्थामा राखेको हुनुपर्ने सबिताले बताइन्। ‘घरभित्र सुरक्षित छु क्यारे’ भन्ठानेर ‘मोबाइल फोन’ वा ‘ल्यापटप’ चलाएर बस्नु झनै असुरक्षित हुने भएकाले त्यस्ता वस्तुहरूलाई बन्द अवस्थामा राख्नुपर्न भन्ने आफूले पछिल्लो समयमा जान्दै आएको सबिता सुनाउँछिन्।
सबिताले भनेजस्तै चट्याङ पर्ला जस्तो भएमा सकेसम्म घरभित्र नै बस्नुपर्ने यसका विज्ञहरूको पनि सुझाव छ। रुख, ‘टावर’, बिजुलीका खम्बा, पानीका ट्याङ्की, पोखरी, ताल, नदी आदिका नजिक बस्दा चट्याङ लाग्ने सम्भावना बढी हुन्छ। घरभित्र भएको बेलामा पनि बिजुलीबाट चल्ने उपकरणहरू बन्द अवस्थामा राख्नुपर्छ। खुला आकाशमुनि सिधा उभिनुको साटो घुँडा टेकेर अगाडि झुकेर बसेमा पनि चट्याङ लाग्ने सम्भावना कम हुन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।