जनकपुरधाम : मधेश प्रदेश सरकारका प्रवक्ता एवम् गृह‚ सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले समाज रूपान्तरणमा कलाकारको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्।
जनकपुरधाममा आइतबार चलचित्र तथा लोक सञ्चार प्रवर्धन बोर्डले चलचित्र तथा लोकसञ्चार प्रवर्धन बोर्डको संस्थागत विकास सम्बन्धी आयोजना गरेको संवादमा उनले सीमित स्रोतसाधन भए पनि मधेश सरकार प्रदेशको कला संस्कृतिको विकासका लागि प्रतिबद्ध रहेको उल्लेख गरे।
मधेशको कला संस्कृतिको विकासमा चलचित्र तथा लोक सञ्चार प्रवर्धन बोर्डले पहलकदमी लिनुपर्नेमा मन्त्री लेखीले जोड दिए।
देशमा प्राप्त उपलब्धिमा राजनीतिकर्मीसँगै पत्रकार र कलाकारको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गरे।
कार्यक्रममा मधेश प्रदेशसभा सदस्य किरणकुमारी साहले कलाकारिता क्षेत्रलाई रोजगारसँग जोडनुपर्ने बताइन्। प्रदेशसभा सदस्य शारदादेवी पहाडीले लागुपदार्थको दुर्व्यसन रोक्न चेतनामूलक चलचित्र निर्माण आवश्यक रहेको बताइन्।
प्रदेशसभा सदस्य जीवछी यादवले मधेश प्रदेशका कलाकारहरूको तथ्यांक संकलन गरी तिनको संरक्षण गर्न जोड दिइन्। प्रदेशसभा सदस्य राजेन्द्र चौधरीले लोकनाच र लोकगीतको संरक्षण गरी राज्यले यसलाई रोजगारीसँग जोड्नुपर्ने बताए।
चलचित्र तथा लोकसञ्चार प्रवर्धन बोर्ड मधेश प्रदेशका अध्यक्ष किशोरकुमार लेखीको अध्यक्षतामा भएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।