|

काठमाडौं त्रिकोणात्मक टी-२० सिरिज अन्तरगत नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ।

नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित सिरिज हिजोबाट सुरु भएको  हो। पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डले नेदरल्याण्डलाई ३९ रनले हराएको छ। नेपालको भने यो पहिलो खेल हो।  खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे स्कटल्याण्डको डन्डीमा शुरू हुनेछ।

हालै सम्पन्न आईसीसी विश्वकप लिग टु अन्तर्गतको सफल भ्रमणपछि नेपाली राष्ट्रिय क्रिकेट टोली अब टी-२० त्रिकोणात्मक सिरिजमा उत्रिन लागेको छ।  

लिग टु अन्तर्गत नेपालले स्कटल्याण्डमा खेलेका चार एकदिवसीय खेलमध्ये तीनमा शानदार जित निकालेको थियो। तीमध्ये नेदरल्याण्ड्सविरुद्ध दुई तथा स्कटल्याण्डविरुद्ध एक जित हासिल गर्दै नेपाल आत्मविश्वासका साथ टी-२० फर्म्याटमा फर्किएको हो। पछिल्लो दुई खेलमा नेदरल्याण्ड्सलाई ५ विकेट र १६ रनले हराएको नेपाल उच्च मनोबलसहित मैदान उत्रनेछ।

नेदरल्याण्ड्स नेपाल लागि सबैभन्दा धेरै पटक टी-२० खेल्ने प्रतिद्वन्द्वी हो। अहिलेसम्म दुवै टोलीबीच १३ टी-२० अन्तर्राष्ट्रिय खेल भएकोमा नेपालले ५ जित्दा नेदरल्याण्ड्सले ७ खेल जितेको छ र एक खेल भने नतिजाविहीन रहेको छ।

सन् २०१५ मा पहिलोपटक आमना-सामना गरेका यी दुई टोलीबीच पछिल्लो भेट २०२४ को ट्वेन्टी ट्वेन्टी विश्वकपमा अमेरिकामा भएको थियो, जहाँ नेपाल ६ विकेटले पराजित भएको थियो।

नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान रोहित पौडेलको कप्तानीमा टी-२० सिरिजका लागि टोलीको घोषणा गरिसकेको छ। यो सिरिजका लागि नेपालले अघिल्लो पटक आईसिसी लिग टु मा रहेको टोलीमा थोरै परिवर्तन गरेको छ।

लिग टु खेलिसकेका अधिकांश खेलाडीलाई निरन्तरता दिइएको छ भने चोटका कारण गुल्सन झा र सोमपाल कामी टोलीबाहिर छन्। उनीहरूको स्थानमा किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंह टोलीमा भित्रिएका छन्। किरणले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान पाएका छन् भने रुपेश डेब्यूको पर्खाइमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.