ललितपुर : बाग्मती प्रदेशले गोदावरी नगरपालिकामा निर्माणाधीन गोदावरी बुहउदेश्यीय रंगशालाका लागि ९ करोड बजेट विनियोजन गरेको छ।
संघीय सरकारसँगको सहकार्य तथा साझेदारीमा स्मार्ट स्पोर्टस् सिटीको अवधारणा अनुसार ललितपुरको गोदावरीमा अन्तरराष्ट्रियस्तरको बहुउदेश्यीय रंगशाला निर्माण कार्य अगाडि बढाउन ९ करोड विनियोजन गरिएको हो।
सो रंगशालामा वडा नम्बर १० टाहाखेल झ्यालुन्टारमा अवस्थित छ। नगरपालिकाले यो रंगशाला निर्माणका लागि विशेष पहल गर्दै आएको छ। रंगशालाले अहिले भएको भन्दा थप स्थान प्रयोगका लागि मन्त्रिपरिषद्बाट भोगाधिकार पाइसकेको छ।
गोदावरीका मेयर गजेन्द्र मर्हजनले रंगशालाका लागि आएको यो बजेटले गोदावरीको खेल पर्यटन प्रवर्द्धनलाई टेवा पुर्याउने बताए।
वडा नम्बर १० का वडा अध्यक्ष शेखर न्यौपाने र नगरका यूवा तथा खेलकुद संयोजक निरोज बज्राचार्यले फुटबलको विकासका लागि यो रंगशाला कोसेढुङ्गा हुने बताए।
गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार खेल मैदानमा २ संस्करणका उपत्यकाव्यापी अन्तरपालिका गोदावरी मेयर कप फुटबल प्रतियोगिता आयोजना भइसकेको छ।
गत वर्ष निर्माणाधीन रंगशालाको झ्यालुन्टार खेल मैदानको शुभारम्भ पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका थिए। फुटबल प्रतियोगिता र रंगशालाका विषयमा मिडियामा धेरै चर्चा हुँदा यो रंगशालाको महत्व बढ्दै गएको छ।
यस्तै बाग्मती प्रदेशले चितवनको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाका लागि पनि ९ करोड विनियोजन गरेको छ। बाग्मती प्रदेश सरकार र भरतपुर महानगरपालिकाको सहलगानीमा भरतपुरमा निर्माण भइरहेको सो क्रिकेट रंगशालाको लागि प्रदेशले ९ करोड विनियोजन गरेको हो ।
यसैगरी आगामी आर्थिक वर्षमा मकवानपुरको गौरीटारमा निर्माणाधीन अन्तरराष्ट्रिय खेलकुद रंगशाला र दोलखामा भिमेश्वर बहुउदेश्यीय रंगशाला निर्माण कार्य सम्पन्न गरिने बजेटमा उल्लेख छ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६७ अर्बको बजेट ल्याएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।