'८४ प्रतिशत पुरुषहरू यौन सम्बन्ध राखे पनि सन्तुष्ट छैनन्'

|

काठमाडौं : नेपालमा ३० वर्ष भन्दा माथिका विवाहित जोडीमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्बलता रहेको अध्ययनले देखाएको छ। 

सोमवार काठमाडौंमा सार्वजनिक गरिएको एक अध्ययनले ३० वर्ष भन्दा माथिका विवाहित जोडीहरूमा यो समस्या बढी रहेको देखाएको हो।

त्यसमा पनि ३२ देखि ३९ वर्ष उमेर समूहका मानिसहरूको संख्या बढी रहेको छ। नेपालमा ३० वर्षमाथिका विवाहित जोडीहरूमध्ये ७३.७ प्रतिशतमा यौन दुर्बलता रहेको अध्ययनले देखाएको छ। ३० वर्षमाथिका ७२ प्रतिशत पुरुषमा यौन दुर्बलताको समस्या रहेको छ भने ३० वर्षमाथिका ६७ प्रतिशतमा महिलाहरूमा यो समस्या देखिन्छ।

कार्यक्रममा बोल्दै अनुसन्धानकर्ता डा. खेम कार्कीले कुल यौन दुर्बलता भएकामध्येमा सेक्सुअल डिजायर कम्परमाइज (यौन इच्छा दबाउने) हुनेहरूको संख्या ९२ प्रतिशत रहेको बताए। उनले कुल यौन दुर्बलता भएकाहरूमध्ये महिलालाई अराउजल (उत्तेजना नहुने) समस्या ९४ प्रतिशत रहेको बताए। ८४ प्रतिशत पुरुषहरू यौन सम्बन्ध राखे पनि सन्तुष्टि हुन नसकेको अध्ययनले देखाएको बताए। 

मधेसका महिला र कर्णालीका पुरुषमा सबैभन्दा बढी यौन दुर्बलता

उनकाअनुसार प्रदेशगत रुपमा हेर्दा पुरुषहरूमा सबैभन्दा बढी यौन दुर्बलता कर्णाली प्रदेशका पुरुषमा रहेको पाइएको छ। महिलामा सबैभन्दा बढी यौन दुर्बलता मधेस प्रदेशमा रहेको छ। कोशीमा ७८ प्रतिशत पुरुष र ५१ प्रतिशत महिलामा यौन दुर्बलता र ६० प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ। त्यस्तै मधेस प्रदेशमा ६४ पुरुष, ७३ प्रतिशत महिला र ७३ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ।

बागमतीमा पुरुष ७४, महिला ६४ र ६७ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ। त्यस्तै गण्डकीमा ७६ पुरुष, ४७ महिला र ५५ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ। लुम्बिनीमा ७२ पुरुष, ४१ महिला र ५३ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ। त्यस्तै कर्णालीमा ८२ पुरुष, ७० महिला र ७२ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ। त्यस्तै सुदूरपश्चिम प्रदेशमा ६७ पुरुष, ६३ महिला र ६३ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ। यो अध्ययन ३० वर्षमाथिका विवाहित जोडीमा गरिएको अध्ययन हो। 

अध्ययनअकाअनुसार हिमाली क्षेत्रका पुरुषहरूमा बढी यौन दुर्बलता रहेको छ। हिमाल र पहाड क्षेत्रका महिलाहरूमा करिब उस्तै उस्तै यौन दुर्बलता रहेको पाइए पनि तराईका महिलाहरूमा बढी यौन दुर्बलता रहेको अध्ययनले देखाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.