|

 इजरायल र इरानबीचको तनाव बढिरहेको छ। शुक्रबार राती इजरायलले इरानको परमाणु केन्द्रमा गरेको आक्रमणपछि जवाफी कारवाहीमा इरानले मिसाइल हानेको थियो। 

त्यही बेलादेखि दुवै देशले एकअर्कामाथि हवाई आक्रमण जारी राखेका छन्। इरानले आफ्ना तेल अड्डाहरूमा इजरायलले कयौँ आक्रमण गरेको र अवस्था नियन्त्रणमै रहेको बताएका बिबिसीले जनाएको छ। 

इजरायलले आफ्ना परमाणु केन्द्रहरूलाई लक्षित बनाएर आक्रमण गरेको भन्दै इरानले त्यसक्रममा ईस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)का प्रमुख सहित शीर्ष सैन्य अधिकारी मारिएका बताएको छ। इरानको स्वास्थ्य मन्त्रालयले गत शुक्रबारदेखि अहिलेसम्म भएका इजरायली आक्रमणमा देशभर २२४ जनाको मृत्यु भइसकेको जनाएको छ।

इरानको तेल मन्त्रालयले शाहरानको तेल डिपो र तेहरानमा एउटा फ्यूल ट्यांकसँगै दक्षिण बुशेहरमा ठूलो ग्यासका इनारहरूमा इजरायलले निशाना साँधेको बताएको छ। इजरायलले आइतबार इरानको प्रमुख शहर इस्फन्हानमा पनि हवाई आक्रमण गरेको छ। यही शहरमा रहेको कन्भर्जन प्लान्ट इरानको परमाणु ढाँचाको अहम् हिस्सा हो। २०२४ अप्रिलमा पनि इजरायलले उक्त क्षेत्रमा रहेको एउटा एअर फिल्डमा आक्रमण गरेको थियो।

इजरायलले पनि इरानले तेलअभिव नजिक केही भवनहरूमा आक्रमण गर्दा चार जनाको मृत्यु भएको बताएको छ।  इजरायलको आपतकालीन सेवाले आइतवार राती भएको इरानी आक्रमणमा थप पाँच जना मारिएका र ९२ जना घाइते भएका बताएको बिबिसीले जनाएको छ। शुक्रबारदेखि अहिलेसम्म इजरायलमा मर्नेको संख्या १९ पुगेको उसले बताएको छ। 

दुई देशको तनाव बढे के हुन्छ ?

तथापि, इजरायल र इरानको लडाई दुई देशबीचमै सीमित देखिन्छ। संयुक्त राष्ट्रसंघसँगै अन्तराष्ट्रिय जगत दुवैलाई संयमता अपनाउन आह्वान गरिरहेका छन्। तर दुवै देशले संयमता अपनाउन विश्व समुदायले गरिरहेको आव्हानलाई ध्यान नदिए वा, लडाई भड्किने र फैलने अवस्था सिर्जना भयो भने के हुन्छ ? भन्ने चिन्ता सुरु भएको छ।

अमेरिका युद्धमा संलग्न भए ? 

अमेरिकाले अस्वीकार गरे पनि उसका सेनाले युद्धमा भूमिका खेलेको र इजरायली आक्रमणहरूमा सहयोग गरेको इरानको दाबी छ। इरानले इराकमा विशेष बल, खाडीमा सैन्य अड्डा हरू र यस क्षेत्रमा कूटनीतिक नियोगमा जस्तै पुरै पश्चिम एसियामा अमेरिकी अड्डाहरूमा आक्रमण गर्न सक्छ भनि अड्कल गर्नेहरू पनि छन्। 

हमास र हिजबुल्लाह जस्ता इरानका प्रोक्सी फोर्सहरू कमजोर भएका छन्, तर इराकमा तिनका समर्थक सेनाहरू अहिले पनि हतियारधारी र एकजुट छन्। अमेरिकाले आक्रमणको सम्भावना अड्कल्दै आफ्ना केही सेनाहरू फिर्ता बोलाएको छ। अमेरिकी प्रतिष्ठानहरूमा कुनै पनि आक्रमण भएमा अमेरिकाले इरानलाई परिणाम भोग्न  चेतावनी दिइसकेको छ। 

लामो समयदेखि इरानलाई हराउनका लागि लडाइमा अमेरिकालाई तान्न चाहेको आरोप इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूमाथि लाग्दै आएको छ। ट्रम्पले : मागा (मेक अमेरिका ग्रेट अगेन) का मतदाताहरूलाई पश्चिम एसियामा तथाकथित लामो समयसम्म चल्ने कुनै पनि युद्ध सुरु नगर्ने बाचा गरेका थिए।

अर्को तर्फ, धेरै रिपब्लिकनहरूले इजरायली सरकार र तेहरानमा शासन परिवर्तनको समय आएको छ भन्ने दृष्टिकोणलाई समर्थन गर्छन्। द्वन्द्वमा अमेरिकाले सक्रिय सहभागिता जनाएको अवस्थामा द्वन्द्व झन् बढ्नेछ र विनाशकारी परिणामहरूको जोखिम थपिने अनुमान विश्लेषकहरूको छ।

खाडी मुलुक संलग्न भए के हुन्छ?

इजरायलका निकै सुरक्षित सैन्य र अन्य अड्डाहरूमा क्षति पुर्याउन असफल भएको खण्डमा खाडीमा इरानले खाडीमा अरु सहज लक्ष्यहरू, विशेषगरी उसले आफ्ना शत्रुलाई सहयोग र प्रोत्साहन दिने ठानेका देशहरू सहित सहज लक्ष्यमाथि आफ्ना क्षेप्यास्त्र हरू प्रयोग गर्नेछ भन्नेहरू पनि छन्।

इरानलाई सन् २०१९ मा साउदी अरेबियाको तेल क्षेत्रहरूलाई लक्षित गरेको आरोप लगाइएको थियो र उसको हुथी प्रोक्सी फोर्सले २०२२ मा युएई अड्डाहरूमा आक्रमण गरेको थियो। यद्यपि, इरानले त्यस क्षेत्रका केही देशहरूसँग सम्बन्ध सुधार गरेको छ, तर ती देशहरूमा अमेरिकी एयरवेसहरू छन्। केहीले गत वर्ष गोप्य रूपमा इरानी क्षेप्यास्त्र आक्रमणबाट इजरायललाई जोगाउन पनि भूमिका निभाएका थिए।

यदि खाडी देशहरूमा आक्रमण भयो भने, तिनीहरूले आफ्नो र इजरायलको सुरक्षाका लागि अमेरिकी लडाकु विमानहरूको माग गर्न सक्छन् भनिएको छ। 

इरानको आणविक क्षमता नष्ट गर्न नसके के हुन्छ ? 

इरानसँग ४०० किलोग्रामसम्म ६०% एनरिच्ड युरेनियम रहेको अनुमान गरिएको छ, जुन दस वा बढी आणविक बम बनाउन पर्याप्त छ। इरान हतियारको स्तरको युरेनियम बनाउन बाट केही कदम मात्र पर छ, यदि यसलाई नष्ट गर्न नसकिए के हुन्छ? भन्ने प्रश्न उब्जिएको छ। 

इजरायलले केही आणविक वैज्ञानिकहरूलाई मारेको हुन सक्छ, तर कुनै पनि बमले इरानको जानकारी र विशेषज्ञतालाई नष्ट गर्न नसक्ने विश्लेषकहरूको तर्क छ। 

अन्तर्राष्ट्रिय अर्थतन्त्रमा धक्का
इरानले हर्मुजको जलडमरूम बन्द गर्ने प्रयास गर्यो भने तेल आयात र निर्यातमा थप बाधा उत्पन्न हुनेछ। अरब प्रायद्वीपको अर्को छेउमा रहेको यमनका हुथीहरूले लाल सागरमा ढुवानीका जहाजमाथि आक्रमण गर्ने प्रयासलाई बढावा दिए भने के हुनसक्छ ?

उनीहरू इरानका अन्तिम बाँकी रहेका कथित प्रोक्सी सहयोगी हुन्, जुन अचानक आक्रमण र अत्यधिक जोखिम उठाउने ट्रयाक रेकर्डका लागि परिचित छन्। संसारभरमा धेरै देशहरू पहिले नै महँगीसँग जुधिरहेका छन्। तेलको मूल्यमा भएको वृद्धि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ युद्धको भारले पहिले नै थिचिएको विश्वव्यापी अर्थतन्त्रमा महंगी (मुद्रा स्फिति) थपिने अनुमान विश्लेषकहरूको छ। 

बढ्दो तेलको मूल्यबाट सबैभन्दा बढी फाइदा लिने एक व्यक्ति रुसका राष्ट्रपति भ्लादिमिर पुटिन मात्र हुन्। उनीसँग युक्रेनविरुद्धको आफ्नो लडाइमा लगानी गर्नका लागि अर्बौँ डलर आउनेछ।

इरानको शासनसत्ता ढलेर शून्यता सिर्जना भए के हुन्छ ?

यदि इजरायलले इरानमा ईस्लामिक क्रान्तिकारी शासन सत्तालाई पतन गर्न बाध्य पार्ने आफ्नो दीर्घकालीन लक्ष्य हासिल गरे के हुनसक्छ ? 

इरानको आणविक क्षमतालाई नष्ट गर्नु आफ्नो पहिलो लक्ष्य रहेको नेतान्याहूले दाबी गर्दै आएका छन्। तर उनले पछिल्लो बयानमा इरानमा शासन परिवर्तन आफ्नो वृहत् लक्ष्य रहेको स्पष्ट पारेका बिबिसीले लेखेको छ। 

इरानको सरकार ढाल्ने विचारले त्यस क्षेत्रका केही मान्छे विशेष गरी इजरायलीहरूलाई अपील गर्न सक्छ, तर यसले सिर्जना गर्ने शून्यता पछिको अवस्था, अनिश्चित परिणाम र इरानमा गृहयुद्धले कस्तो रुप लिन्छ ? यसको अनुमान गर्न सकिन्न भन्छन् विश्लेषक हरू।

इजरायलले इरानमाथि गरेको पछिल्लो आक्रमण गत वर्ष गरिएको दुई सैन्य कारबाहीभन्दा बढी व्यापक र भयानक छ। आक्रमणमा, उसले गत वर्ष नोभेम्बरमा लेबनानमा हिज्बुल्लाह विरुद्धको आक्रमणको समयमा प्रयोग गरिएको रणनीति अपनाएको देखिन्छ।

इजरायलले गत वर्ष नोभेम्बरमा संगठनका नेताहरूलाई मार्ने उद्देश्यसहित हिज्बुल्लाह विरुद्ध अभियान सुरु गरेको थियो। त्यससँगै हिज्बुल्लाहको बदला लिने क्षमतामा ठूलो धक्का पुर्‍याएको थियो र हिज्बुल्लाह नेता हसन नसरल्लाह पनि मारिए।

इजरायलले इरानका कुनै ठूला नेतालाई मारेको छैन तर सैन्य कारबाहीको सुरुवाती घण्टामै इरानका शक्तिशाली क्रान्तिकारी गार्डका कमान्डर हुसेन सलामी र देशका धेरै शीर्ष आणविक वैज्ञानिकहरूलाई मारेर उसले इरानको सम्भ्रान्त वर्गलाई अभूतपूर्व धक्का दिएको छ।

इजरायली प्रधानमन्त्री नेतान्याहूले यो इजरायलको अस्तित्वको प्रश्न हो भन्दै यस्तो कारबाही धेरै दिनसम्म जारी रहन सक्ने बताएका छन्। उनले केही बर्षदेखि इरानले आणविक बम बनाए इजरायलको अस्तित्व खतरामा पर्न सक्ने तर्क गर्दै आएका छन्। 

एक वरिष्ठ इजरायली सैन्य अधिकारीले इरानसँग १५ वटा आणविक बम बनाउन पर्याप्त सामग्री रहेको जानकारी प्राप्त भएको बताएका छन्। तथापि इजरायलले इरानमाथि गरेको आक्रमणमा अन्य कारकहरूले पनि भूमिका खेलिरहेका हुनसक्छन्।

बिबिसीबाट

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.