काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसले संसदमा अमर्यादित गतिविधि गरेको भन्दै रास्वपा सांसदलाई बैठकबाट निष्काशन गर्न माग गरेको छ।
प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले अमर्यादित पोशाक लगाएर आएको र अमर्यादित गतिविधि गरेको भन्दै सभामुखले बैठकबाट निष्काशन गर्नुपर्ने माग गरेका हुन्।
रास्वपा सांसदहरू मंगलबार निलो स्कार्फसहित संसदमा उपस्थित भएका थिए।
‘संसदमा मर्यादित पोशाकमा आउनुपर्छ भन्ने नियमावलीमा व्यवस्था गरिएको छ। यो संसदमा अहिले केही माननीय सदस्यहरूले जुन स्कार्फ लाएर आउनुभएको छ। यो मर्यादित पोशाकभित्र पर्छ कि पर्दैन?‘ उनले भने, भोलि यहाँ कोही हाप पाइन्ट लगाएर आउने, जथाभावी ड्रेस लगाएर आउने गर्न थाल्यो भने त्यसलाई संसदको मर्यादाभित्र राख्ने कि नराख्ने ? यस्तो किसिमको व्यवहार गर्ने माननीय सदस्यहरूलाई सभामुखले चेतावनी दिने र संसदबाट निष्काशन गर्ने कारबाही गर्न आवश्यक छ।’
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै रास्वपा सांसदहरूले आज पनि वेल घेरेर नाराबाजी जारी राखे। त्यसपछि सभामुखले बैठक ३० मिनेटका लागि स्थगित गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।