|

न्यूयोर्क : विश्वका लगभग सबै नौ आणविक हतियार सम्पन्न देशहरूले २०२४ देखि आफ्ना आणविक हतियार सुधार गर्ने काम तीव्र पारेका छन्। पुराना हतियार अद्यावधिक गर्ने र नयाँ हतियार थप्ने काम उनीहरूले गर्दै छन्। 

स्टक होम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (सिपरी) ले हरेक वर्ष हतियार, निशस्त्रीकरण र अन्तर्राष्ट्रिय सुरक्षाको अवस्थाको मूल्याङ्कन गर्छ। सन् २०२५ को आफ्नो प्रतिवेदनमा सिपरीले १९८० को दशकको मध्यमा विश्वभर आणविक हतियारहरूको संख्या लगभग ६४,००० रहेको उल्लेख गरेको छ, जुन अहिले घटेर १२,२४१ पुगेको छ।

प्रतिवेदनअनुसार यो गिरावट अब रोकिने अवस्थामा छ र भविष्यमा यो संख्या फेरि बढ्न सक्छ। सिपरीका निर्देशक डान स्मिथले विगत धेरै दशकदेखि भइरहेको गिरावट रोकिनु यति वेला आणविक हतियारका बारेमा सबैभन्दा चिन्ताजनक कुरा बनेको छ। 

आणविक हतियार घटाउने प्रक्रिया सुस्त

सन् १९९१ मा सोभियत संघको पतन र शीतयुद्धको अन्त्यपछि विश्वमा पुराना र सेवा निवृत्त आणविक हतियार नष्ट गरिदै छ। नयाँ हतियारको बन्दोबस्तीभन्दा छिटो गतिमा पुराना हतियार हटाइए तर अहिले यो प्रक्रिया सुस्त भएको छ। स्मिथका अनुसार पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको अन्तिम कार्यकालदेखि आणविक हतियारको आधुनिकीकरणको प्रक्रिया तीव्र भएको छ।

अहिले नयाँ प्रकारका मिसाइल र तीनलाई बोक्ने प्रणाली जस्तै रकेट, जहाजहरू द्रुत गतिमा विकास भइरहेका छन् र यसका लागि ठूलो पैसा खर्च भइरहेको उनी बताउँछन्। 'धेरै वर्षदेखि विश्वभर सुरक्षा अवस्था बिग्रँदै गइरहेको थियो र आणविक हतियार भएका देशले आफ्ना हतियार आधुनिकीकरणको प्रक्रियालाई तीव्र पारिरहेका थिए। यो सानो सुधार मात्र नभई धेरै ठूलो परिवर्तन हो', स्मिथले भनेका छन्।

सिपरीको रिपोर्ट अनुसार २०२५ जनवरीसम्म विश्वभर अनुमानित १२,२४१ आणविक हतियार थिए। जसमध्ये लगभग ९,६१४ हतियार सैन्य प्रयोगका लागि तैनाथ गरिएका  थिए, जुन आवश्यक परेमा तुरुन्तै तैनाथ गर्न सकिने गरी जडान गरिएका थिए वा सैन्य अड्‍डामा वा गोदामहरूमा राखिएका थिए। 

लगभग ३,९१२ आणविक हतियार क्षेप्यास्त्र र लडाकु विमानसँग राखिएको थियो र तीमध्ये पनि करिब २,१०० हतियार 'हाई अलर्ट' को स्थितिमा थिए, जसलाई तत्काल प्रयोगका लागि ब्यालिस्टिक मिसाइलमा तयारी अवस्थामा राखिएको थियो। रिपोर्टअनुसार लगभग ती सबै हतियार रूस र अमेरिकासँग छन्, तथापि चीनले पनि केही आणविक हतियार क्षेप्यास्त्रमा तैनाथ गर्न सक्ने अनुमान गरिएको छ। 

अमेरिका, रूस, बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान, उत्तर कोरिया र इजरायल जस्ता देशसँग आणविक हतियार छन्। तिनमा कुल आणविक हतियारको ९० प्रतिशत रूस र अमेरिकासँग मात्र छन्।

अहिले अरू कैयौँ देशले पनि आणविक हतियार बनाउने र आफ्नो देशमा भण्डारण गर्ने विचार गरिरहेका सिपरीका विश्लेषकहरूको भनाइ छ। आणविक नीति र रणनीतिको बारेमा धेरै देशमा नयाँ बहस सुरु भएको उनीहरू बताउँछन्। यसको अर्थ नयाँ प्रकारको आणविक साझेदारी देखिन पनि सक्छ। रूसले बेलारूसको भूमिमा आफ्नो आणविक हतियार तैनाथ गरेको दाबी गरेको छ।

यसैबीच युरोपमा धेरै नेटो सदस्य देशहरूले अमेरिकी आणविक हतियार आफ्नो देशमा राख्न सक्ने संकेत दिएका छन्।

अन्तर्राष्ट्रिय सुरक्षा स्थिति बिग्रँदै 

सन् २००७ मा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले म्युनिख सुरक्षा सम्मेलनमा भाषण दिँदै अमेरिकाको प्रभुत्व रहेको विश्वव्यापी व्यवस्था, नेटोको पूर्वतर्फको विस्तार र निशस्त्रीकरणको कडा आलोचना गरेका थिए।

तर दुई वर्षपछि २००९ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले चेक गणराज्यको राजधानी प्रागमा एक ऐतिहासिक भाषणमा पूर्ण आणविक निशस्त्रीकरणको लक्ष्य राखे र भने, 'हजारौं आणविक हतियारको अस्तित्व शीतयुद्धको सबैभन्दा खतरनाक विरासत हो।'

ओबामाले अमेरिकाले आणविक हतियारमुक्त संसारतर्फ ठोस कदम चाल्ने र रूससँग मिलेर नयाँ रणनीतिक हतियार नियन्त्रण सम्झौता गर्ने वाचा पनि गरेका थिए। न्यू स्टार्ट नामको यो सन्धि २०१० मा हस्ताक्षर गरिएको थियो र २०११ मा लागू गरियो।

तर रूसले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरेपछि अमेरिकाको जो बाइडेन प्रशासनले आफ्नो २०२२ को न्यूक्लियर पोस्चर रिभ्यू रणनीति जारी गर्‍यो, जसमा अमेरिकाको आणविक हतियार भण्डारलाई आधुनिकीकरण गर्नु सबैभन्दा ठूलो प्राथमिकतामा राखियो। फेब्रुअरी २०२३ मा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक कानुनमा हस्ताक्षर गरे, जस अन्तर्गत रूसले न्यू स्टार्ट परमाणु सन्धिमा आफ्नो सहभागिता स्थगित गर्‍यो। 

२००७–०८ देखि नै, विश्वमा असुरक्षाको वातावरण निर्माण हुँदै गएको र २०१४ बाट अगाडि बढ्दै फेब्रुअरी २०२२ मा स्पष्ट रूपमा देखिएको ड्यान स्मिथ बताउँछन्। चीनसँग अहिले कम्तीमा ६०० आणविक हतियार रहेका र उसको आणविक भण्डार विश्वमै सबैभन्दा तीव्र गतिमा बढिरहेको सिपरीको अनुमान छ। भारतले पनि २०२४ मा आफ्नो आणविक हतियारको संख्या केही हदसम्म बढाएको छ भने पाकिस्तानले नयाँ क्षेप्यास्त्र प्रणाली निर्माण गरिरहेको छ र आणविक हतियारहरूमा प्रयोग हुने विखण्डनीय सामग्री जम्मा गरिरहेको छ।

इजरायलले जुन १३ मा इरानको आणविक अड्डाहरूमा आक्रमण गर्‍यो, जसमा इरानी सैन्य अधिकारीहरू र आणविक वैज्ञानिकहरू मारिएका थिए। अहिले पनि आफ्नो परमाणु क्षमतालाई लिएर इरान जानाजानी मौन छ। यद्यपि उसले पनि आफ्नो परमाणु हतियारहरूलाई आधुनिकीकरण गरिरहेको र नेगेभ मरुभूमिमा अवस्थित प्लाटेनियम उत्पादन केन्द्रको स्तरोन्नति गरिरहेको अनुमान गरिएका छन्।

निर्देशक ड्यान स्मिथ अहिले सुरु भएको नयाँ परमाणु हतियारको जुन दौड शीतयुद्धको समयभन्दा धेरै खतरनाक र अनिश्चित रहेको बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.